यो सरकार रहे मुलुक आर्थिक टाट पल्टिन्छ :ओली



काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले डेढ वर्षसम्म  अहिलेको सरकार रहिरहे मुलुकमा टाट पल्टिने बताएका छन् । मङ्गलवार नेकपा एमाले काठमाडौँ महानगर कमिटीले आयोजना गरेको कार्यक्रममा  बोल्दै उनले मुलुकको अर्थतन्त्र पूर्ण रूपमा ओरालो लागेको र यसलाई रोक्न नसके डेढ वर्षमा मुलुक असफल राष्ट्र बन्ने खतरा रहेको बताएका हुन् ।

उनले भने, ‘यही सरकार रहिरहने हो भने देश टाट पल्टिनु अनिवार्य छ । देश टाट पल्टिँदै छ । तर एउटा उद्योगपति, जो सत्ता पक्षीय उद्योगपति उसको ४० अर्ब खुद नाफा एक वर्षमा । एउटा व्यक्तिले चालिस अर्ब थप कमायो । सम्पत्ति बढायो चालिस अर्ब । देशमा अहिले स्थानीय तहमा समपूरक बजेट ५० प्रतिशत भन्दा बढी पठाउन सक्दिन भनेर सरकारले लत्तो छोडिसक्यो।’

‘अब डेढ वर्षमा अर्थतन्त्र सही बाटोमा फर्काउन सकिएन भने, ओरालो लागेको स्थितिलाई रोक्न सकिएन भने फेरि मुस्किल हुन्छ, देश असफल राष्ट्र बन्ने खतरा हुन्छ । यहाँ यत्तिकै हाहाहुहु गरेर केन्द्रहरु, २/४ ढुङ्गा हानेर कुद्नेहरू, तिनलाई देशको के मतलब ’, उनले भने ।  साथै उनले अहिलेको सरकारलाई मुलुकको चिन्ता नभएको  आरोप समेत लगाएका छन् ।  भन्सार, कर, राजस्व वृद्धि हुनुपर्ने ठाउँमा कम भइराखेको र राजस्व कम यो लामो समयपछि भइरहेको बताउँदै उनले तीव्र गतिका साथ अर्थतन्त्र माइनसमा गइरहेको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्