क्रिकेटका कारण विश्वको नजर नेपालमा



धर्मेन्द्र झा , काठमाडाैँ । नेपाल र युनाइटेड अरब इमिरेटस् (युएई) बीचको फाइनल प्रतिस्पर्धा । त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा नेपालका समर्थकहरूको घुइँचो । नेपालले ३० ओभरको खेल खेलिसकेको थियो । ब्याटिङ क्रिजमा थिए– गुलसन झा र भीम सार्की ।

नेपालले ३ विकेटको क्षतिमा १११ रन बनाउँदै ११८ रनको लक्ष्य करिब–करिब पच्छ्याइसकेको थियो । दर्शकमा गज्जबको रोमाञ्च थियो । उनीहरू सोमबारजस्तै फेरि वर्षाले खेल नबिथोलोस् भन्ने प्रार्थना गरिरहेका थिए । ३१औँ ओभरमा बलिङ गर्न आए युएईका आयान खान । पहिलो बल डट । नेपाली दर्शक दीर्घामा एक किसिमको सन्नाटा । ओभरको दोस्रो बलमा गुलसनद्वारा छक्का प्रहार रयुएईसँग बराबरीको स्कोर । दर्शक दीर्घामा प्रसन्नताको लहर । पूरै मैदानमा खुसीको सञ्चार ।

ओभरको तेस्रो बलमा गुलसनद्वारा १ रनको वृद्धि र एसिसी कपमाथि नेपालको कब्जा । मैदानमा नेपाली दर्शकको विजयोत्सव र हर्षोल्लास । सम्भवतः नेपाली क्रिकेटको अहिलसम्मकै सबैभन्दा ठुलोे विजयको साक्षी बन्न पाउँदा कुन चाहिँ नेपाली खुसी नहोला ?त्यसमाथि मैदानमै रहेका दर्शकको खुसी र उत्साहलाई कुनै पनि शब्दमा वर्णन गर्न सकिँदैन ।

मंगलबार पनि काठमाडौँ उपत्यकाको मौसम दर्शकले चाहेको जस्तो थिएन । आकाश बादलले ढाकिएको थियो । पानी एकछिनमै परिहाल्छ कि भनेजस्तो अवस्था थियो । तर, दर्शकलाई मौसमको कुनै पर्वाह थिएन । उनीहरू सोमबारको जस्तै छाता बोकेरै कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदान ओइरिएका थिए ।

नेपालले सोमबार टस जितेर पहिला फिल्डिङ रोजेको थियो । खराब मौसमकै बीच प्रारम्भ भएको खेलमा युएईले २७ दशमलव ३ ओभर खेल्दै ९ विकेटको क्षतिमा १०६ रन बनाएको थियो । सोमबारको खेलबाट दर्शकसँगै नेपाली टोली पनि उत्साहित थियो । खेलको नतिजा आफ्नो पक्षमा रहनेमा उनीहरू एक किसिमले ढुक्क थिए । सोमबार बाँकी रहेको खेल मंगलबार बिहान ९ बजे पुनः सुरु भएको थियो । युएई ३३ दशमलव १ ओभरमा ११७ रन बनाउँदै ‘अल आउट’ भयो ।

नेपालको ब्याटिङ पनि सुरुआतमा राम्रो रहेन । ८ ओभर खेल्दा नेपालले मात्र २२ रन बनाउँदा ३ विकेट गुमाइसकेको थियो । कुशल भुर्तेल, आसिफ सेख र कप्तान रोहितकुमार पौडेल सस्तैमा पेवेलियन फर्किएको अवस्थामा गुलसन झा र भीम सार्कीले नेपालको पारी सम्हाले । दुवै जनाबीच ९६ रनको साझेदारी कायम हुन पुग्यो र नेपालको विजय यात्रा सुनिश्चित भयो । झाले अर्धशतकीय पारी खेले । उनले अविजित ६७ रन बनाए । यस्तै सार्कीले अविजित रहँदै ३६ रनको योगदान दिए । झा मंगलबारको खेलका नायक बने ।

अघिल्लो खेलमा बेन्चमा सीमित झालाई युएईविरुद्धको फाइनल खेलमा प्रशिक्षक मोन्टी देसाईले रणनीतिका साथ मैदानमा उतारेका थिए । उनले प्रशिक्षक देसाईको आफूप्रतिको भरोसालाई सत्य प्रमाणित गरेर देखाइदिए । प्रायः ब्याटिङ गर्न तल्लो क्रममा पठाउने गरिए पनि मंगलबारको खेलमा भने झा तेस्रो नम्बरमै मैदानमा आएका थिए । झा तिनै खेलाडी हुन्– जसले आइसिसी विश्वकप लिग–२ को अन्तिम खेलमा युएईलाई नै हराउँदै नेपाललाई विश्वकप छनोटका लागि पक्का गराएका थिए ।

प्रशिक्षक देसाईले त्यही प्रदर्शनबाट प्रभावित भएर मंगलबारको खेलमा पनि उनलाई स्थान दिएका थिए । उनलाई दरिलो साथ दिएका थिए– सार्कीले । यही जोडीको उत्कृष्ट प्रदर्शनले नेपाल सहजै एसिया कपका लागि चुनियो ।

युएईलाई ७ विकेटले हराउँदै नेपालले उपाधि कब्जा मात्र गरेन, बरु दोस्रोपटक एसिया कपका लागि छनोट हुन पनि सफल भयो । जितसँगै नेपाल सेप्टेम्बरमा पाकिस्तानले आयोजना गर्ने एसिया कपमा सहभागी हुनेछ । अब नेपालले भारत र पाकिस्तानजस्ता क्रिकेटका अब्बल देशसित खेल्ने मौका पाउने निश्चित भएको छ । सन् २००२ मा पनि नेपालले एसिया कपमा स्थान बनाएको थियो । तर, त्यतिबेला भारत र पाकिस्तानबीच तनावका कारण प्रतियोगिता आयोजना हुन सकेन ।

‘भारत र पाकिस्तानसित खेल्ने सपना पूरा भएको छ’, उपाधि जितेपछि नेपाली राष्ट्रय क्रिकेट टोलीका कप्तान रोहितकुमार पौडेलले भने, ‘वर्षाैँदेखिको मेहनतले बल्ल सार्थकता पाएको छ ।’‘हामीले खेलेअनुसारकै परिणाम आयो’, कप्तान पौडेलले खुसी व्यक्त गर्दै भने, ‘विगतमा भारत र पाकिस्तानको खेल हेर्दै आयौँ, अब उनीहरूसित खेल्छौँ ।’

नेपाली क्रिकेटले उल्लेख्य प्रगति गर्नुमा दर्शकको ढाडसलाई पनि महत्वपूर्ण मानिन्छ । क्रिकेटमा धेरै प्रगति गरेका कतिपय देशमा खेलाडीले दर्शकबिना नै खेलिरहेका हुन्छन् । तर, नेपालमा खेलाडीलाई सबैभन्दा ठुलोे साथ दर्शकको छ ।

नेपाली क्रिकेट टोलीले तिनै दर्शकले प्रदान गर्ने हौसला विपक्षी टोलीविरुद्ध विजय प्राप्त गर्ने ठुलोे हतियार मान्ने गरेको छ । एसिसी मेन्स प्रिमियर कपका सर्वोत्कृष्ट खेलाडी सन्दीप लामिछाने भन्छन्, ‘झरीमा रुझेर पनि दर्शकले हामीलाई अन्तिम समयसम्म साथ दिनुभयो, खेलाडीलाई प्राप्त यही हौसलाले हामीलाई सफलता मिलिरहेको छ ।’

एसिया कपका लागि छनोट हुनुअघि नेपाल विश्वकप क्रिकेटको छनोट प्रतियोगिताका लागि स्थान बनाउन सफल भएको थियो । उक्त प्रतियोगिता जिम्बावेमा हुने तय भएको छ । नेपालका लागि दुवै प्रतियोगिता महत्वपूर्ण रहेको नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष चतुरबहादुर चन्दले बताए ।

‘नेपालले क्रिकेटमा फड्को मारेको छ, अब पछाडि फर्किनुपर्ने अवस्था छैन’, उनले प्रसन्नता व्यक्त गर्दै भने । उनको विश्वास छ, ‘भारत र पाकिस्तानजस्ता देशसित खेल्दा नेपालको क्रिकेटको स्तर बलियो हुनेछ ।’

अध्यक्ष चन्दले थपे, ‘बलिया टोलीसित जति धेरै खेल्यो, त्यति नै निखारिँदै गइन्छ, अब हाम्रो क्रिकेट विश्वले तारिफ गर्न लायक हुन्छ ।’
नेपाली क्रिकेट टोलीले २ महिनायता ३ वटा सफलता हासिल गरेको छ । नेपालले संकटमा परेको एक दिवसीय मान्यता आगामी ४ वर्षका लागि सुरक्षित गरेको छ । एक दिवसीय विश्वकप छनोटमा स्थान पक्का गरेको छ र मंगलबारको जितपछि टेस्ट मान्यता प्राप्त ५ देशसित खेल्न एसिया कपका लागि छनोट भएको छ । नेपालको सपना एसिया कपसम्म मात्र सीमित नहुने क्यान अध्यक्ष चन्द बताउँछन् । उनी भन्छन्, ‘नेपालको अबको लक्ष्य विश्वकपमा सहभागिता हो ।’

क्रिकेटको माहोल राम्रो हुँदै गएकामा क्यान सन्तुष्ट छ । नयाँ–नयाँ प्रतिभा देशभर उत्पादन हुने क्रम जारी छ । व्यक्तिगत लगाव र अभिभावकको लगानीका कारण यो सम्भव भएको हो । खेलाडी उत्पादनमा सरकारी उत्पादन न्यून छ भन्दा हुन्छ । यसतर्फ संघीय, प्रदेश र स्थानीय सरकारको ध्यान अनिवार्य रूपमा जानुपर्छ । नेपाललाई खेल पर्यटनका माध्यमबाट पनि विश्वमाझ चिनाउनमा मद्दत पुग्ने निश्चित छ । यसका लागि तीनै तहका सरकारले होस्टेमा हैँसे गर्न जरुरी छ । यसो हुन सकेको खण्डमा नेपाल अब क्रिकेटका माध्यमबाट पनि विश्वभर चिनिने छ ।

प्रतिक्रिया दिनुहोस्