सामाजिक सुरक्षा भत्ता कटौती नहुने



काठमाडौँ । सार्वजनिक सुरक्षा भत्ता कटौतीका विषमा विभिन्न संकाहरू उठिरहेका वेला सरकारका अर्थमन्त्री डा.प्रकाशशरण महतले हाल वितरण भइरहेको सामाजिक सुरक्षा भत्ता कटौती नहुने स्पष्ट पारेका छन् । राष्ट्रियसभामा बजेटका सिद्धान्त र प्राथमिकतामाथि उठेका प्रश्नहरूको मङ्गलवार जवाफ दिँदै उनले सरकारले अहिले भत्ता कटौती नगर्ने बताएका हुन् ।

उनले भने ‘सामाजिक सुरक्षाका विषयमा केही आशङ्का उठेका छन्, तर हामीले प्रतिबद्धता गरेका सामाजिक सुरक्षाका विषय कटौती हुँदैन । हामीले बोलिसकेका कुराबाट पछि हट्दैनौँ ।’महतले सरकारको सम्पूर्ण ध्यान मितव्ययितातर्फ केन्द्रित रहेको र खर्च घटाउन केन्द्रित हुने बताउँदै भने,  ‘सरकारको ध्यान अनावश्यक संरचना घटाउने, पुँजीगत खर्च प्रभावकारी बनाउनेतिर हुनेछ ।’

उनले भने,  ‘एकै वर्षमा सबै हुन्छ भनेर म भन्न सक्दिन, यो लामो प्रोसेस हो, गाडी अगाडि बढ्न इन्जिन ठिक भएर हुँदैन, ब्रेक मात्र ठिक भएर हुँदैन, टायर ठिक भएर पनि हुँदैन, सबै पार्टपुर्जा एकै लक्ष्यसाथ अगाडि जानुपर्छ ।’

 उनले अहिले नेपालमा अर्थतन्त्रमा देखिएका समस्या सके सम्म यसै आर्थिक वर्ष भित्र समाधान गर्ने गरी आफूहरू लागेको बताएका छन् । अर्थतन्त्र चलायमान बनाउन आर्थिक वर्षको सुरुवातदेखि नै पुँजीगत खर्च बढाउन पहल गर्ने र नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत ब्याजदर घटाउने  उनको भनाइ  रहेको छ ।

उनले भने,’ हाम्रो पुँजीगत खर्चको प्रभावकारिता बढाउनुपर्छ । हाम्रो संयन्त्रमा ढिलासुस्ती छ, हाम्रो संयन्त्रमा अन्तिम समयमा खर्च गर्ने प्रचलन छ । हामी डे वानदेखि खर्चको मनिटरिङ गर्छौँ ।’

प्रतिक्रिया दिनुहोस्