कांग्रेस पदाधिकारी बैठक आज पनि बस्दै, बालकृष्ण खाणबारे के निर्णय गर्ला?



काठमाडाैं । नेपाली कांग्रेसको पदाधिकारी बैठक आज पनि बस्दै छ। बैठक आज दिउँसो २ बजे पार्टी सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा बस्न लागेकाे हाे। आजको बैठकमा पार्टीका केन्द्रीय सदस्य बालकृष्ण खाणलाई निलम्बजन गर्ने/नगर्नेबारे बैठकले निर्णय लिने छ।

नेपालीलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने धन्दामा संलग्न रहेको आरोपमा पूर्वगृहमन्त्री समेत रहेका नेता खाण बुधबार पक्राउ परेका थिए। पक्राउपछि खाणलाई पार्टीबाट निलम्बन गरिनुपर्ने आवाज उठ्दै आएको छ। तर, बुधबार बसेको पदाधिकारी बैठकमा कांग्रेसले यसबारे कुनै निर्णय लिएको थिएन।

हिजोको पदाधिकारी बैठकपछि सञ्चारकर्मीसँग प्रवक्ता डा. प्रकाशशरण महतले नेता खाणले अनुसन्धानमा सघाएको र उनी अहिल्यै दोषी ठहर भइनसकेको उल्लेख गर्दै ‘अनुसन्धान परिपक्व’ भएपछि मात्र पार्टीले एउटा निर्णय गर्ने बताएका थिए।

बुधबारको बैठकमा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले भने पक्राउ परेका नेता खाणलाई पार्टीको जिम्मेबार मुक्त (निलम्बन) गरिनुपर्ने धारणा राखेका थिए। तर सभापति देउवा मौन रहेका थिए। सोही विषयमा छलफल गर्न बिहीबार पनि पदाधिकारी बैठक बस्न लागेको हो।

प्रतिक्रिया दिनुहोस्