ओलीले भने : एमाले सधैं भ्रष्टाचार विरुद्ध लडेको पार्टी हो



काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टीले भ्रष्टाचारविरुद्ध सधैं लडाइँ गरेको दाबी गरेका छन्। पार्टी कार्यालय च्यासलमा बिहीबार केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै उनले यस्तो दाबी गरेका हुन्।

अध्यक्ष ओलीले मदन भण्डारीको हत्या हुँदा छानबिन होस् भनेर २२ दिनसम्म शान्तिपूर्ण आन्दोलन गरेको भन्दै लगातार भ्रष्टाचारका विपक्षमा आफूहरु लड्दै आएको बताए। माओवादीलाई शान्ति प्रक्रियामा ल्याउनुपर्छ भनेर एमालेले बोलेको र पहल गरेकाले उनीहरु शान्ति प्रक्रियामा आउन सफल भएको उनको भनाइ  थियो।

एमालेले लगातार शान्ति, विकास र लोकतन्त्रका लागि काम गरेको बताउँदै उनले पार्टीका तर्फबाट कुनै पनि कमजोरी २०७४ सालको निर्वाचनपछि नभएको दाबी गरे। ओलीले नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी प्रकरणमा जोसुकै जोडिए पनि कारबाही हुनु पर्ने बताए। एमालेका सचिव टोपबहादुर रायमाझी र आफू प्रधानमन्त्री हुँदा सरकारी भूमिकामा रहेका केही व्यक्ति जोडिएको सन्दर्भमा ओलीले जोसुकै जोडिए पनि कारबाही हुनुपर्ने बताए।

‘नक्कली शरणार्थी प्रकरणमा हाम्रै पार्टीमा भएका साथीहरुको पनि नाम आएको छ। हिजो हाम्रै सरकारमा रहेका साथीहरुको पनि आएको छ’, उनले भने, ‘हाम्रै पार्टीका जोसुकै संलग्न भए पनि यस प्रकरणमा दोषीलाई कारबाही हुनु पर्छ।’ तर उनले यो प्रकरणमा केही व्यक्तिलाई फसाउने प्रयास पनि भइरहेको आरोप लगाएका छन्।

प्रतिक्रिया दिनुहोस्