नक्कली शरणार्थी प्रकरणमा एमालेका जोसुकै संलग्न भए पनि कारबाही हुनुपर्छ : ओली



काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नक्कली भुटानी शरणार्थी प्रकरणमा एमालेकै नेता कार्यकर्ता भए पनि दोषी देखिए कारबाही हुनुपर्ने बताएका छन्।

उनले देशको बिग्रँदो अर्थतन्त्र र बढ्दो भ्रष्टाचारबारे ढाकछोप गर्ने प्रयास भइरहेको पनि बताए। बिहीबारदेखि सुरु भएको एमाले केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले सरकार नै यस्तो काममा लागेको आरोप लगाएका हुन्।

‘राज्यलाई ठगेर, कानुन मिलाएर वा छलेर विभिन्न ढङ्गले व्यक्तिहरूको हातमा राज्यको ढुकुटी हस्तान्तरण गर्ने भ्रष्ट व्यवहार, मूल्यमान्यता इथिक्स र नैतिकता अन्तर्गतको होइन। कानुन बमोजिम होइन, पारदर्शी होइन। अपारदर्शी, गैर कानुनी ठगी गर्ने र राज्यलाई गम्भीर नोक्सान गर्ने कामहरू भइरहेका छन्’, पूर्व प्रधानमन्त्रीसमेत रहेका ओलीको भनाइ छ।

उनले रोक्नै नसक्ने अवस्था आएपछि पछिल्लो पटक भुटानी शरणार्थी प्रकरण सतहमा आएको पनि बताए। उनले यस प्रकरणमा एमालेमै रहेकाहरूको नाम आएको भन्दै जोसुकैको नाम आए पनि दोषीलाई कारबाही हुने बताए।

‘हाम्रै पार्टीका साथीहरूको पनि नाम आएको छ। हिजो हाम्रै सरकारमा रहेका साथीहरूको नाम आएको छ। यसमा म के भन्न चाहन्छु भने जोसुकैको नाम आओस् यदि दोषी छ भने कारबाही हुनुपर्छ’, ओलीले भने, ‘तर जबसम्म मानिस दोषी करार हुँदैन। त्यो नहुँदासम्म हामी दोषी करार गर्न सक्दैनौ। हामी हेरिरहेका छौ कसैलाई फसाउने प्रयास पनि भइरहेको छ’, ओलीले पूर्वाग्रहपूर्ण ढङ्गले कसैलाई फसाउन खोजिएकोमा आशङ्का गर्न सकिने बताए।

अध्यक्ष ओलीले विपक्षीहरूको मुख थुन्ने प्रयास भएको आरोप लगाउँदै केही दिन पहिला सांसद अमरेशकुमार सिंहमाथि अख्तियारमा परेको उजुरी एक उदाहरण रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्