सन् २०२६ को फिफा विश्वकपको लोगो सार्वजनिक



काठमाडौँ । सन् २०२६ को फिफा विश्वकपको लोगो सार्वजनिक गरिएको छ । विश्वकप हुन अझैँ तीन वर्ष बाँकी रहेको छ । फुटबल नियामक निकाय फिफाका अध्यक्ष जियान्नी इन्फान्तिनोले बुधवार विश्वकपको लोगो सार्वजनिक गरेका हुन् ।

५३ वर्षीय इन्फान्तिनोले एक समारोहका बिच लोगो अनावरण गरेका हुन् ।  कार्यक्रममा विश्वभरका सेलिब्रिटीहरुको उपस्थिति थियो ।

ब्राजिलका विश्व विजेता रोनाल्डो नाजारियो दा लिमाले आफ्नो हातमा विश्वकप लिएर मञ्चमा निस्किए र इन्फान्तिनोसँग मिलेर लोगो अनावरण गरे ।

फिफाका बिजनेस अफिसर रोमी गाईले यसपल्ट विश्वकपको लोगो किन सरल डिजाइनमा भन्नेबारे प्रष्ट पारेका छन् । उनले लोगोको बारेमा प्रष्ट पार्दै भने,‘यो लोगोले समर्थकहरूलाई नयाँ प्रतीक, टाइपफेस र मुख्य रङ्ग गरी तीन रोमाञ्चक तत्त्वहरूको परिचय गराउँछ । जसले आगामी महिना र वर्षहरूमा यो प्रतियोगितालाई जीवन्त बनाउनेछ ।’

कार्यक्रममा तीन वर्षपछि हुने विश्वकपको फाइनल मितिसमेत घोषणा गरिएको छ । फाइनल खेल सन् १९ जुलाई, सन् २०२६ आइतबार हुनेछ ।

विश्वकपमा छनोट भएका सबै टिमहरूले आफ्नो टिम घोषणा गर्ने अन्तिम समय सीमा २५ मे, सन् २०२६ हुनेछ । पहिलोपल्ट फिफा विश्वकपमा ४८ टिमले प्रतिस्पर्धा गर्ने छन् ।

विश्वकपको १६ खेल स्थल पनि सार्वजनिक भएको छ । अमेरिका, क्यानडा र मेक्सिकोले यो प्रतिष्ठित एक महिने प्रतियोगिताको आयोजना गर्ने छन् । विश्वकपका खेलहरू क्यानडाका २, मेक्सिकोका ३ र अमेरिकाका ११ रङ्गशालामा सञ्चालन गरिने फिफाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्