राष्ट्रपतिको सवारी र सन्देश



  • डा. टीकाराम पोखरेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल राष्ट्रपति भएपछि पहिलोपटक कारगेडबिनै कुमारी दर्शन गर्न गए। त्यसपछि उनी टुँडिखेलमा भएको घोडेजात्रा, गोररखा दरबार, मच्छिन्द्रनाथ र पछिल्लोपटक भारतमा उपचार गरेर फर्केपछि हालै संसद् भवन बानेश्वरमा नेपाल सरकारको नीति तथा कार्यक्रम सार्वजनिक गर्न पुगे।

उनको आवागमनका बेला सर्वसाधारणको आवतजावतमा कुनै रोकावट भएन । यसले राष्ट्रपतिको मर्यादा पनि घटेन। बरु जनताको राष्ट्रपति भएको पहिलो पटक अनुभूति भयो। उनले आफ्नो आवतजावतलाई सवारी नभनिदिन समेत आग्रह गरे। आमसञ्चारमाध्यमले यसलाई सकारात्मक रूपमा प्रचार गरे।

समाचारमाध्यम नकारात्मक समाचारको मात्र पारखी हुँदा रहेनछन्, राम्रो काम गरे सकारात्मक समाचार पनि दिँदा रहेछन् भन्ने पुष्टि भयो। साँच्चै भन्ने हो भने गणतन्त्र आएपछि कुनै नेताको बारेमा मनैदेखि प्रशंसा गर्न मन लागेको यो पहिलो पटक नै होला।

रामचन्द्र पौडेल राष्ट्रपति हुनुअघि नै केही वर्षपहिले एकपटक म काठमाडौंको बोहराटारस्थित उनको निवासमा पुगेको थिएँ। म पुग्दा उनी घरभित्र घेटघाटमा थिए। घरबाहिर उनलाई भेट्ने मान्छेको भिडभाड थियो। धेरैजना उनको प्रतीक्षामा थिए। सबैलाई एकैपटक भेट्न सकिन्नथ्यो।

सबैलाई एकैपटक भेटे पनि भेटको अर्थ हुन्नथ्यो । तर, उनको भेटघाटको शैली अलि फरक थियो । बेलाबेला आफैँ बाहिर आएर प्रतीक्षारत सबैलाई नमस्कार गर्ने र समूहमा वा एक्लाएक्लै भित्र बोलाएर कुराकानी गर्ने, अनि कुराकानी सकिएपछि फेरि आफैँ उठेर बिदा गर्न ढोकाबाहिरसम्म आउने र फेरि अर्को समूहलाई आफैँ भित्र लिएर जाने र कुराकानी गर्ने तरिका रहेछ ।

म पुगेको दिन मात्र उनले त्यो शैली अपनाए वा सधैँ उनको शैली त्यही हो, त्यो कुराचाहिँ नियमित भेटघाटमा जानेलाई थाहा होला । तर, मचाहिँ उनको त्यो भेटघाट शैलीदेखि खुब प्रभावित भएँ । आफैँ भित्र–बाहिर गरिरहँदा पर्खेर बसेकालाई समय कटाउन पनि सजिलो हुने र सबैलाई ‘रेस्पोन्स’ गरे जस्तो पनि हुने उनको यो शैली प्रशंसायोग्य थियो।

मैले यहाँ प्रसंग जोड्न खोजकोचाहिँ राष्ट्रपति हुुनु अघिदेखि नै उनी सादा जीवन र उच्च विचारका व्यक्ति हुन् । रामचन्द्र पौडेललाई कांग्रेसभित्र (हुन त अहिले उनले कांग्रेसका सबै जिम्मेवारी छोडिसके) सादगी नेता भन्छन् ।

त्यसो त उनका आलोचक पनि छैनन् भन्न सकिन्न । तर बहुसंख्यकको आँखामा उनी सादगी नै हो। नेपाली कांग्रेस बाहिरका धेरैले पनि यो कुरालाई स्वीकार गर्छन् । राष्ट्रपति हुनुअघि नै उनी पटक–पटक मन्त्री, उपप्रधानमन्त्री, सभामुखदेखि लिएर पार्टीको कार्यबाहक सभापतिसमेत भएका थिए।

राजनीतिमा रामचन्द्र पौडेलकै हैसियतका मान्छेको जीवनशैली फरक छ । तर, रामचन्द्र पौडेलको बोहराटारस्थित घर मलाई सामान्य नागरिकको झैँ लाग्यो। तनहुँमा उनको घर कस्तो छ, त्यो चाहिँ मैले देख्न पाएको छैन । कोही पनि मानिस सादा जीवनले सानो हुँदैन । हिजो जसरी सादा जीवनकै कारण सबैको प्रशंसायोग्य बने, राष्ट्रपति भएपछि पनि त्यसको निरन्तरता कायम रहोस् ।

आमसर्वसाधारणमा राष्ट्रपतिको आवागमनको विषय धेरै आलोच्य विषय बन्दै आएको छ। कतिपयले राष्ट्रपतिको यसमा के दोष ? सुरक्षा प्रबन्ध त सुरक्षाकर्मीले गरेको हो, गृह मन्त्रालयले यसको प्रबन्ध मिलाउने हो, दोष दिने भए सरकारलाई दोष दिनुपर्छ भन्ने तर्क पनि गरेका छन्।

सुरक्षा प्रबन्ध गृहकै होला, सुरक्षाकर्मीले नै बाटो छेकेका होलान्। तर, राष्ट्रपतिले त्यसो गर्न नचाहेमा त तुरुन्तै सुधार हुने रहेछ भन्ने एउटा उदाहरण राष्ट्रपतिको पछिल्लो आवागमन हो। राष्ट्रपतिको आवागमन सुधार मात्र सबै कुराचाहिँ होइन, सुधार गर्नुपर्ने धेरै कुरा छन्, हिजोका दिनका असन्तुटिका चाङ छन्। राष्ट्रपतिले आगामी दिनमा त्यसलाई सम्बोधन गर्नेछन् भन्ने विश्वास गरौँ ।

सन् २००५ तिर म डेनमार्कको भ्रमणमा गएको थिएँ । डेनमार्कको राजधानी कोपनहेगन घुम्ने क्रममा डेनमार्ककी महारानीको दरबार पुगियो। दरबार बिनाकम्पाउन्डको सामान्य थियो । हामी दरबार अवलोकन गर्दै थियौँ, महारानी दरबारबाट बाहिर निस्किइन् र साधारण कार चढेर कतै लागिन्।

उनको आवागमनमा तामझाम देखिएन, मात्र कारको अगाडि स्कर्टिङ गर्ने एउटा मोटरसाइकल थियो । त्यहाँ महारानीको सवारीको नाममा कहीँकतै सर्वसाधारणलाई लछारपछार गरेको देखिएन। न त कुनै प्रकारको विशेष सुरक्षा व्यवस्था नै अपनाइएको थियो । मैले त्यसबेला आफ्नो देशको नारायणहिटी दरबार र त्यहाँबाट चल्ने सवारी सम्झेँ । त्यसबेला मलाई नेपालीको बुद्धि देखेर साह्रै दिक्क लाग्यो ।

सोचमग्न भएँ, हरे ! यस्तो विकसित र सम्पन्न देशकी राष्ट्र«ाध्यक्षको आवागमन कति सामान्य। अनि नेपाल जस्तो गरिब मुलुकको राष्ट्राध्यक्षको आवागमनमा कत्रो तामझाम। जसरी नारायणहिटी दरबारबाट निस्कन राजालाई ठुलो तामझाम गर्नुपथ्र्यो, विडम्बना देश गणतन्त्रमा गएपछि पनि त्यही राजतन्त्रको झल्को दिने गरी राष्ट्रपतिको सवारी परम्परा बस्यो।

डेनमार्ककी महारानीलाई जीवनको माया नभएर विशेष सुरक्षा व्यवस्था नअपनाइएको होइन । उनको पदीय मर्यादा हाम्रा राष्ट्राध्यक्षको भन्दा कम भएर विशेष सुरक्षा व्यवस्था नगरिएको पनि होइन । बरु डेनमार्ककी माहारानीले आफ्ना सम्पूर्ण जनतालाई आफ्नो सुरक्षा दस्ता देखेको हो ।

कोही पनि राजनेताले जनताभन्दा टाढा रहेर केही सुरक्षाकर्मीको सानो घेरामा आफू सुरक्षित छु भनी ठान्नुहुन्न। जनतालाई हाउगुजी ठानी ४ दिवारभित्र जकडिएर यान्त्रिक जीवन जिउनुभन्दा डेनमार्क महारानीले जस्तै बर्दीधारी प्रहरी मात्र मेरा सुरक्षाकर्मी होइनन्, सम्पूर्ण जनता मेरा सुरक्षाकर्मी हुन् भनी सरल व्यवहार प्रदर्शन गरी जनजनका हृदयमा राष्ट्रपति बस्नुपर्छ । यसतर्फ पौडेलको आवागमनको सन्देश निश्चय नै आशा जगाउने खालको छ ।

कुनै पनि महत्वपूर्ण पद प्राप्त गर्न जति कठिन छ, त्योभन्दा बढी कठिन त्यो पदको मर्यादा जोगाउन छ र पदको मर्यादा जोगाउनभन्दा पनि बढी कठिनचाहिँ आफूले पाएको जिम्मेवारी कूशलतापूर्वक सम्हाल्दै जनप्रिय हुन छ। जो आफूले पाएको जिम्मेवारी सम्हाल्ने क्रममा जनप्रिय हुन्छ, त्यो व्यक्ति नै इतिहासमा सम्झनयोग्य हुन्छ ।

सुनौला अक्षरमा उसको इतिहास लेखिन्छ, युगौँयुगसम्म ऊ हरेक नेपालीको हृदयमा बस्छ । इतिहासमा नाम मात्र लेखाउने हो भने सानो मान्छे ठुलो मान्छे भए पुग्छ, तर जनप्रिय हुनचाहिँ ठुलो मान्छे भएर पनि उसले आफू सानो मान्छेझैँ हुन सिक्नुपर्छ । जसरी अहिले राष्ट्रपति पौडेलले आफ्नो आवागमन शैली परिवर्तन गराएर पहिलो आशाको पाइला देखाए, आफूले राम्रै काम गर्न पाए हुन्थ्यो भन्ने सबैलाई लाग्छ ।

आफूलाई सबैले राम्रो भनिदिए हुन्थ्यो भन्ने हरेकको चाहना हुन्छ । तर, चाहना एउटा कुरा हो र राम्रो काम गर्नु अर्को कुरा हो । राम्रो बन्न चाहनु जति सजिलो छ, राम्रो बन्नचाहिँ त्यति नै कठिन छ। तर, असम्भवचाहिँ छैन भन्ने कुरा यो पछिल्लो उदाहरण पर्याप्त छ।

हुन त यसअघिका राष्ट्रपतिले पनि आफ्नो सवारीमा सर्वसाधारण जनतालाई हैरानी हुने कुनै काम नगर्नू भनेको आदर्श वाक्य पटक–पटक पढ्न पाएइको हो। तर, त्यो आदर्श व्यवहारमा पटक्कै देखिएन। किन हो कुन्नि ? सायद उनीहरूलाई पदको मर्यादा र सुरक्षाको कारण देखाई सल्लाहकारहरूले कडा सुरक्षा व्यवस्था दिएको भान पारी आफ्नो बहादुरी प्रदर्शन गरे होलान्, चाकरी बजाए होलान्, परिबन्दमा पारे होलान् ।

पूर्ण दोष पूर्व राष्ट्रपतिहरूको पनि नहोला, तर अलिकति विवेक पुर्‍याउन सकेको भए त हुने रहेछ नि ! वर्तमान राष्ट्रपतिले आफ्नो आवागमन शैली परिवर्तन गराउन सके भने उनीहरूचाहिँ परिबन्दमा मात्र परेको कसरी भन्ने ?

देशका करोडौँ नेपाली जनताले छानेका जनप्रतिनिधिको निर्वाचक मण्डलले निर्वाचित गरेर राष्ट्र«पति बनाएको हो । यसर्थ राष्ट्रपति झन्डै ३ करोड जनताको प्रतिनिधि हो। जसले आफूलाई राष्ट्रपतिमा चुन्यो, उसैबाट आफूमाथि सुरक्षा खतरा देख्नु भ्रम हो। जुन भ्रम वर्तमान राष्ट्रपतिले चिरे।

जीवनको सुरक्षा सबैलाई चाहिन्छ, तर त्यो सुरक्षा राष्ट्रपतिलाई जति चाहिन्छ, जनतालाई पनि त्यति नै चाहिन्छ भन्ने बुझे, अरूलाई पनि बुझाए। राष्ट्रपतिले चालेको पहिलो कदम जस्तै आगामी खुड्किलाहरू पनि प्रशंसायोग्य र गर्व गर्न लायक बनून्।

प्रतिक्रिया दिनुहोस्