
- गम्भीरबहादुर हाडा
काठमाडौं । मानवीय साधन भन्नाले सामान्यतः एउटा संगठनभित्र रहेको कार्यदलको ज्ञान, दक्षता, सिर्जनात्मक क्षमता, कुशलताका साथै व्यक्तिको मूल्य, मनोवृत्ति र हितको संलग्नतालाई जनाउँछ। आर्थिक दृष्टिकोणले मानवीय स्रोतको विकास भन्नाले पुँजीको सञ्चय र लगानीमा अभिवृद्धिलाई बुझाउँछ।
राजनीतिक अर्थमा प्रजातान्त्रिक वा राजनीतिक प्रक्रियामा जनताको सहभागिता भन्ने बुझाउँछ र सामाजिक र सांस्कृतिक दृष्टिकोणले मानिसको समृद्ध र पूर्ण जीवनलाई बोध गराउँछ। संक्षेपमा मानवीय स्रोतको विकासलाई आधुनिकीकरणको प्रक्रिया पनि भनिएको छ। प्रसिद्ध विद्वान् हार्बिसनको भनाइअनुसार राष्ट्रहरूको सम्पदाको अन्तिम साधन नै मानवीय स्रोत हो।
पुँजी र प्राकृतिक स्रोतहरू उत्पादनका निष्क्रिय स्रोत मानिन्छन्। मानव प्राणी उत्पादनका सक्रिय अभिकरण हुन्, जसले पुँजी सञ्चय गर्छन्, प्राकृतिक स्रोतहरूको परिचालन गर्छन्, सामाजिक आर्थिक तथा राजनीतिक संगठनहरू निर्माण गर्छन् र राष्ट्रिय विकास कार्यलाई अगाडि बढाउँछन्। हार्बिसनले भनेका छन् कि जुन देशले आफ्ना जनताको ज्ञान र सीपलाई विकास गर्न सक्दैन र तिनीहरूलाई प्रभावकारी ढंगमा राष्ट्रिय अर्थतन्त्रका लागि सदुपयोगमा ल्याउन सक्दैन। त्यसले केही पनि प्राप्त गर्न सक्दैन।
आजका अर्धविकसित मुलुकहरूको आधारभूत समस्या प्राकृतिक स्रोतहरूको दरिद्रता नभई मानवीय साधनको अल्पविकास हुनु हो। अतः यस्ता राष्ट्रहरूले पहिलो कार्य मानवीय पुँजीको विकास गर्नुपर्छ । अर्का विद्वान् डाले एस. बीचको शब्दमा ‘मानवीय साधनको योजना भनेको संगठनमा कार्य सम्पादन गर्न पर्याप्त संख्यामा योग्य व्यक्तिहरू उचित समयमा उपलब्ध हुनेछ भनी निर्धारण र निश्चय गर्ने एउटा प्रक्रिया हो, जसले संस्थाको आवश्यकतालाई पूरा गर्नुका साथै संलग्न व्यक्तिहरूलाई सन्तुष्टि दिलाउने गर्छ ।’
मानवीय पुँजीको स्रोत विकासको अवधारणा ६० को दशकमा विकसित भएको हो। मानवीय पुँजीअन्तर्गत मानवलाई जोड दिँदै उसमा भएको सीप, ज्ञान र क्षमतालाई परिचालन गराउनुपर्छ भन्दै मानव साधनबाट नै प्रत्येक विकास प्रक्रियालाई अगाडि बढाउन सकिने भएकाले स्वयं मानवलाई बेवास्ता गरेर अगाडि बढाइएको विकासको कुनै अर्थ नहुने ठहर गरिएको छ । वास्तविक विकासका लागि मानवको हित सर्वोपरि रहनुपर्ने भन्ने मान्यता यसअन्तर्गत रहेको पाइन्छ । उत्पादन प्रक्रियामा बोटबिरुवा, मेसिन, औजारभन्दा मानव स्रोत बढी जिम्मेवार रहने कुरा उल्लेख गरिएको छ।
यसैले विकासका लागि लगानी गर्दा मानव स्रोतलाई बढी जोड दिनुपर्छ । एउटा परिवार र छिमेकको समग्र विकासले नै अन्य आर्थिक वृद्धि एवं विकासलाई टेवा दिन सक्छ, जसअन्तर्गत सामाजिक संगठनको विकास, शिक्षा, स्वास्थ्य जस्ता पक्षको विकासमा जोड दिन सके स्वभाविक रूपमा जिडिपी/प्रतिव्यक्ति आयमा पनि वृद्धि हुन सक्छ। मानव विकास एक जटिल प्रक्रिया हो। वास्तवमा भन्ने हो भने मानव विकास भनेको मानिसको रोजाइहरूलाई बनाउने प्रक्रिया हो।
विकासोन्मुख देशको आर्थिक विकास जनसंख्याको आकार, बनावट र सामाजिक तथा नैतिक विशेषताहरूद्वारा निर्धारण हुन्छ। आर्थिक विकासको क्षेत्रमा महत्वपूर्ण योगदान जनसंख्याको नै हुन्छ । विभिन्न युगको विश्व सभ्यताको निर्माण र पतनको श्रेय मानवलाई प्राप्त छ। मानव संशाधन कुनै पनि देशको आर्थिक र औद्योगिक विकासको सर्वाधिक महत्वपूर्ण साधन मानिन्छ। डा. भिकेआरभी रायको भनाइअनुसार मानव उत्पादनको एउटा साधन मात्र होइन, यो साध्य पनि हो।
मानवीय साधन र आर्थिक विकास एक अर्कासित अभिन्न रूपले सम्बन्धित हुन्छन्। मानवीय साधन भनेको जनसंख्याको त्यस्तो हिस्सा हो, जसले सक्रियताका साथ आर्थिक क्रियाकलापमा हिस्सा लिन सक्छ। मानव साधन भनेको आर्थिक दृष्टिबाट सक्रिय रहन सक्ने जनशक्तिको समूह हो।
देशको आर्थिक विकासको महत्वपूर्ण आधार मानवीय साधन नै हो । जुन देशमा शारीरिक तथा मानसिक रूपबाट सक्षम, सबल र कुशल मानवीय साधन उपयुक्त संख्यामा उपलब्ध हुन्छ, त्यस देशमा उत्पादनशील क्रियाहरूको विस्तार हुन गई आर्थिक विकासको दरमा वृद्धि आउन सक्छ। कुनै पनि मुलुकमा मानवीय साधनको परिमाणात्मक पक्ष तथा गुणात्मक पक्ष दुवैको महत्व रहन्छ।
मानवीय पुँजी निर्माण भनेको देशको सम्पूर्ण मानिसको ज्ञान, कुशलता तथा क्षमता बढाउने प्रक्रिया हो। एडम स्मिथ तथा भेबलेन जस्ता अर्थशास्त्रीसमेतले उत्पादनमा मानवीय पुँजीको महत्वमाथि जोड दिएका छन् । मानिसले आर्जित गरेको योग्यतालाई स्मिथले पुँजीमा समावेश गरेको पाइन्छ।
त्यस्तै भेबलेनले मानवीय औद्योगिक ज्ञान र कुशलतालाई अभौतिक उपकरण तथा अमूर्त सम्पत्ति मानेका थिए। अमेरिका, चीन, इंग्ल्यान्ड, फ्रान्स, जर्मनी, हार्बिसन तथा मेयर्स लेख्छन्, पुँजी प्राकृतिक साधन, विदेशी सहायता र अन्तर्राष्ट्रिय व्यापार आर्थिक विकासमा स्वाभाविक रूपबाट महत्वपूर्ण योगदान गर्छ तर जनशक्तिभन्दा बढी महत्वपूर्ण केही छैन। साँच्चै भन्ने हो भने मानिसको प्रयत्नबिना उत्पादन सम्भव छैन । मानवले उत्पादन तथा आयमा वृद्धि गरेर आर्थिक विकासलाई सम्भव बनाउँछ।
आर्थिक विकासको प्रक्रियामा जनशक्ति अथवा मानवीय साधनको महत्व केवल यसकारण मात्र होइन कि यसलाई उत्पादनको एक अत्यावश्यक साधन मानेको छ, बरु मानव विकासको उद्देश्य या साध्य पनि हो। जनशक्तिबाट हुने कमी अथवा वृद्धिको विभिन्न व्यवसाय तथा उद्योगको विकास विस्तारमा महत्वपूर्ण प्रभाव पर्छ। जनशक्ति कम भएमा समाजको माग घट्छ, जसले गर्दा उद्योगको विकास र विस्तारमा प्रतिकुल प्रभाव पर्छ।
विकसित देशको आर्थिक विकासलाई दृष्टिगत गर्दा जनशक्तिले महत्वपूर्ण भूमिका खेलेको देखिन्छ। भौतिक मानवीय साधन जनसंख्या वृद्धिसित सम्बन्धित विषय हो। जनसंख्या वृद्धि र आर्थिक विकासमा घनिष्ट सम्बन्ध छ। अधिकांश विकसित देशका आर्थिक प्रगतिमा जनसंख्या वृद्धिको ठुलो योगदान छ। जस्तै उत्पादनको विस्तार र वृद्धिका रूपमा, प्रभावपूर्ण माग वृद्धि गर्नमा, पुँजी निर्माण गर्नमा आदि।
विकासशील देशमा जनसंख्या वृद्धि आर्थिक विकासमा गति प्रदान गर्छ भन्ने एकथरीको भनाइ छ भने अर्कोथरीको भनाइमा जनसंख्या वृद्धि आर्थिक विकासका लागि अभिशाप हुन्छ। अल्पविकसित देशमा सडक, बत्ती, बाँध, उद्योगधन्दा, अस्पताल, स्कुल, कलेज बनाउने योजनाहरू र आर्थिक विकाससँग सम्बन्धित अनेक क्रियामा विभिन्न प्रकारको मानव शक्तिको आवश्यकता पर्छ । यदि यस्तो जनशक्तिको कमी भयो भने भौतिक पुँजीको उत्पादकत्वको उपयोग हुन सक्दैन र उत्पादनको स्तर घट्दछ।
देशको विकासका लागि आवश्यक सीपवान्, दक्ष प्राविधिक जनशक्ति उत्पादन गर्नुपर्नेमा विकासोन्मुख देशमा साधारण शिक्षा प्राप्त अदक्ष शिक्षित मानिसको संख्या बढिरहेको छ। देशको विकासका लागि आवश्यक दक्ष जनशक्ति अभाव एकातिर हुन्छ भने अर्कातर्फ देशले उत्पादन गरेको साधारण शिक्षा प्राप्त शिक्षित व्यक्तिहरूको जमात बढिरहेको हुन्छ।
यसकारण धेरैजसो विकासोन्मुख देशमा शिक्षित बेरोजगारीको समस्या विद्यमान भइरहेको हुन्छ। शिक्षा र विकासबीच मेल हुन नसक्दा बेरोजगारीको समस्या पनि सिर्जना हुन्छ। जसले गर्दा समाजमा सामाजिक विकृतिहरू उत्पन्न हुने समस्या सिर्जना हुन्छ।
बेरोजगारीको समस्याको कारणले गर्दा समाजमा अप्रिय घटना पनि घट्ने गर्छन् । यसको साथसाथै देशका हरेक विकास निर्माणका कार्यहरूमा विदेशीको मुख ताक्नुपर्ने अवस्था विकासोन्मुख राष्ट्रहरूमा विद्यमान छ। विदेशीहरूले विभिन्न विकासात्मक परियोजनाहरूको सम्भाव्यता आफ्नो हितअनुकूल निर्माण गर्ने गर्छन्। यसले गर्दा पनि चाहिँदो आवश्यक मात्रामा विदेशी सहायताको लगानी प्रभावपूर्ण भएको देखिँदैन।
वर्तमान १५औँ योजना २०७६–२०८१ मा मानवीय संशाधनको विकास तथा शिक्षा विकास कार्यक्रमअन्तर्गत सामाजिक आर्थिक रूपान्तरणका लागि मानव संशाधनको विकास, दक्ष, कुशल, सीपयुक्त र उत्पादनशील मानव संशाधनको विकास गर्ने सोच राखिएको छ। त्यस्तै, गुणस्तरीय शिक्षामार्फत् सिर्जनशील, दक्ष प्रतिस्पर्धा, उत्पादनशील मानव स्रोतको विकास गर्ने, बजारमा माग र आपूर्तिबीच सन्तुलन कायम गर्दै सामाजिक तथा आर्थिक रूपान्तरणका लागि मानव संशाधनको विकास गर्ने लक्ष्य राखिएको छ ।
यसका साथै सबै बालबालिकालाई प्रारम्भिक बाल शिक्षाको अनुभवसहित आधारभूत शिक्षा अनिवार्य तथा निःशुल्क र माध्यमिक शिक्षामा निःशुल्क सुनिश्चित गरी शिक्षालाई गुणस्तरीय, जीवनोपयोगी र प्रविधिमैत्री बनाउनु, प्राविधिक शिक्षा तथा व्यावसायिक सीप विकासमा सामावेशी र समतामूलक पहुँच विस्तार र गुणस्तर सुनिश्चित गर्नु, पहुँच र गुणस्तर अभिवृद्धि गरी उच्च शिक्षालाई अभिवृद्धि गरी अनुसन्धानात्मक, प्रविधिमैत्री र रोजगारमूलक बनाउँदै ज्ञानमा आधारित समाज र अर्थतन्त्र निर्माण गर्नु, सबै नागरिकका लागि जीवनपर्यन्त शिक्षाको अवसर सुनिश्चित गर्नु, संघीय संरचना अनुरूप सबै तहका शैक्षिक प्रशासनिक निकाय संस्थामा सुशासन कायम गर्र्नु आदि जस्ता उद्देश्य पनि राखिएको पाइन्छ।
नेपालको शिक्षा प्रणाली अत्यन्त कमजोर छ । शिक्षा व्यवसायिक र रोजगारमूलक छैन । नेपालका शैक्षिक संस्थाहरू बेरोजगार उत्पादन गर्ने कम्पनीका रूपमा विकास भएका छन्। नेपाली जनजीवन भौगोलिक स्थिति र आर्थिक अवस्थासँग विल्कुल मेल नखाने अत्यन्त अव्यावहारिक शिक्षा प्रणालीका कारण देशले बेरोजगारी समस्यालाई थेग्नै नसक्ने गरी बढाउँदै छ।
अत्यन्त सैद्धान्तिक भएकाले प्रमाण पत्रहरू कागजी खोस्टा भएका छन् । भएको सम्पत्ति सिध्याएर ऋण काढेर पढेर अन्त्यमा नेपाली युवा अरबतिर उँट चराउन बाध्य भएका छन्। यही अव्यावहारिक शिक्षा पनि सहज र सर्वसुलभ छैन ।
जनसंख्याको ठुलो हिस्सा साक्षर हुनबाट समेत वञ्चित छ। स्कुले उमेरका नानीहरू शिक्षामा भएको व्यापारीकरणका कारणले बाख्रा चराउन र होटलमा भाँडा माझ्न बाध्य छन्। गरिब तथा निमुखा वर्गको पहुँचभन्दा बाहिर छ। गरिब तथा असहायहरूलाई विशेष सहुलियत प्रदान गरी शैक्षिक क्रियाकलापप्रति आकर्षित गराउनुपर्छ र सांस्कृतिक दासताले बाँधिएको समाजलाई शैक्षिक जागरणको चेतनाले बिस्तारै बुझाउँदै जानुपर्छ।
अशिक्षा र गरिबीका कारण आएको शैक्षिक मन्दतालाई हटाउन व्यापक जनचेतना विस्तार गरिनुपर्छ र विशेष ज्ञान, सीप र दक्षताका आधारमा मात्रा सरकारी जागिर पाउने हुनुपर्छ। प्रत्येक शिक्षकले आफूले अध्यापन गरिसकेपछि आफ्नो अध्यापन कार्य कस्तो रह्यो, के सुधार गर्नुपर्ला जस्ता सोधमा केही समय खर्च गर्ने गरेमा धेरै राम्रो हुनेछ। विद्यार्थीद्वारा शिक्षकको मूल्यांकन हुनु आवश्यक छ।