रेशम चौधरीसँग जोडिएको के हो टीकापुर घटना ?



काठमाडौँ । सुदूरपश्चिमका ९ जिल्ला ‘एक प्रदेश’ हुनुपर्ने माग राखेर अखण्ड सुदूरपश्चिमको आन्दोलनले हिंसाको रूप लिएको थियो ।  यस्तै सुदूरपश्चिमको तराईका दुई जिल्ला कैलाली र कञ्चनपुरसहित थारु बाहुल्य क्षेत्रलाई समेटेर थरुहट प्रदेशको माग गरी थारु समुदायले विभिन्न आन्दोलनका कार्यक्रम गरेको थियो ।

२०७२ साउन अन्तिम हप्ता प्रमुख दलका शीर्ष नेताहरूले ६ प्रदेशको सिमाङ्कन सहितको खाका सार्वजनिक गर्दा सुर्खेत लगायत केही जिल्लामा आन्दोलन भड्किएको थियो । आन्दोलनकै कारण उनीहरूको माग सम्बोधन भयो । माग सम्बोधन गर्दै ६ प्रदेशबाट ७ प्रदेशको सिमाङ्कनमा ४ दलबिच सहमति भयो । त्यही मुद्दालाई थारु समुदायले आफ्ना माग अनुसार सिमाङ्कनको सम्बोधन नभएको भन्दै विभिन्न चरणमा आन्दोलनका कार्यक्रमहरू गरेको थियो । सुदूरपश्चिमका ९ जिल्लालाई मिलाएर अखण्ड सुदूरपश्चिम कायमै राखी प्रदेश बनाउनुपर्ने अखण्ड पक्षधरको माग । थारु बहुल जिल्ला कैलाली, कञ्चनपुरलाई सुदूरपश्चिमबाट अलग गरी पूर्वी तराईका जिल्लासहित थरुहट प्रदेश बनाउनुपर्ने थारु समुदायको मुख्य माग थियो । यी माग २०७२ सालमा मात्रै उठेको थिएनन् । सोही मुद्दालाई लिएर २०६९ सालमा दुवै पक्षले सुदूरपश्चिम बन्द, हडताल गरे २०७२ साल भदौ ७ गते टीकापुरका सरकारी कार्यालयमा थरुहट थारुवान् प्रदेशको बोर्ड झुन्ड्याउने थारु आन्दोलनकारीहरूको तयारी थियो ।

उक्त दिन दिउँसोको १ बजेको थियो, त्यति बेलासम्म प्रहरीले आन्दोलनकारीलाई ४ निषेधाज्ञा तोड्न दिएको थिएन । चार दिनदेखि जारी निषेधाज्ञा जसरी पनि तोड्ने भन्दै आन्दोलनकारीको भीड बढ्दै गएको थियो । उनीहरूको हातमा गुलेली, लाठी, भाला, खुकुरी, बन्चरोलगायत घरेलु हतियार थिए ।

स्थानीय प्रशासनले आन्दोलन दबाएको भन्दै आन्दोलनकारीले आक्रोश व्यक्त गरिरहेका थिए । आन्दोनकारीहरूले कर्फ्यु र निषेधाज्ञा तोड्न खोज्दा झडप भएको थियो । उक्त क्षेत्रमा प्रशासनले बिहान ११ देखि साँझ ५ बजेसम्मलाई कर्फ्यु लगाएको थियो ।

हजारौँको सङ्ख्यामा आन्दोलनकारी टीकापुर बजार प्रवेश गर्ने तयारीमा रहेको सूचना पाएपछि तत्कालीन सेती अञ्चल प्रहरी कार्यालयका एसएसपी लक्ष्मण न्यौपाने सुरक्षा कमान्ड सम्हाल्न टीकापुर पुगेका थिए ।

टीकापुर नगरपालिकाको मुख्य बजारबाट करिब दुई किमी टाढाको वडा नम्बर २ स्थित मनुवा गाउँ नजिकै भएको भिडन्तमा प्रदर्शनकारीले प्रहरीलाई घेराबन्दीमा पारे । लगत्तै प्रहरीमाथि अन्धाधुन्ध आक्रमण गरे । घटनास्थल पशुहाट बजार र दुर्गौली बजारको बिच क्षेत्र थियो ।
निषेधाज्ञा तोकिएको क्षेत्रमा एसएसपी लक्ष्मण न्यौपानेको नेतृत्वमा प्रहरी फोर्स बसेको थियो । आन्दोलनकारीले घरेलु हतियारसहित हजारौँको सङ्ख्यामा टीकापुर प्रवेश गरेर सरकारी कार्यालयमाथि आक्रमण गर्ने योजना बनाएको जानकारी पाएपछि एसएसपी न्यौपानेको टोली घटनास्थलमा खटिएको थियो ।

आन्दोलनकारी अघि बढ्न रोक्न खोजे पनि प्रहरी असफल भयो । एक बजेदेखि सुरु झडप करिब चार बजेसम्म चल्यो । आन्दोलनकारीले टीकापुरमा रहेका सरकारी कार्यालयमा थरुहटको साइनबोर्ड राख्ने कार्यक्रम तय गरेका थिए ।

कैलाली र कञ्चनपुरसहितको बेग्लै थरुहटरथारूवान प्रदेश माग गर्दै आन्दोलनमा उत्रेका प्रदर्शनकारी र प्रहरीबिचको यो भिडन्तमा एसएसपीसहित नेपाल प्रहरीका ५ तथा सशस्त्रका दुई प्रहरी र एक बालक गरी ८ मारिएका थिए । एसएसपी न्यौपानेसहित प्रहरीको ‘हत्या’ भएको उक्त घटनाको मुख्य योजनाकार रहेको आरोप लागेका रेशम चौधरी थुनाबाट जेठ १५ गते आममाफी पाएर मुक्त भएका छन् ।

को हुन् चौधरी ?

कैलाली जिल्लाको साबिकको देगौली गाविसमा २०३४ साल असोज २१ गते रेशम चौधरीको जन्म भएको हो । त्रिभुवन विश्वविद्यालयबाट स्नातकोत्तरसम्मको शिक्षा हासिल गरेका चौधरी थारु भाषाको जोग्नी साहित्यिक पत्रिकाको प्रधान सम्पादक रहेका थिए ।

साहित्यमा समेत दख्खल राख्ने चौधरीले रेडियो नेपाल, नेपाल टेलिभिजन, रेडियो सगरमाथामा लामो समय पत्रकारितासमेत गरेका थिए । बर्दियामा फूलबारी एफएम समेत सञ्चालन गरेका चौधरीको टीकापुर घटनाका क्रममा एफएममा आगजनी भएको थियो । घटनामा भएको क्षतिको उनले १ करोड ७४ लाख क्षतिपूर्ति पाएका थिए ।

कैलाली घटनामा संलग्न भएको भन्दै प्रहरीले खोजी गरिरहेकै बेला चौधरीले संसद्को चुनावमा भाग लिएर विजयी भएका थिए ।
घटना लगत्तै फरार रहेका उनी फरार रहेकै अवस्थामा कैलाली क्षेत्र नम्बर १ बाट २०७४ सालमा प्रतिनिधिसभामा २० हजार ९ सय ३५ मतको फराकिलो अन्तरले विजयी भएका थिए ।

चुनाव जितेपछि उनले प्रमाणपत्र लिन पाउनुपर्ने माग गर्दै सर्वोच्चमा निवेदन दिएका थिए । तर, सर्वोच्चले रिट खारेज गरेपछि उनले अदालतमा आत्मसमर्पण गरेका थिए । डिल्लीबजार कारागारमा रहेको अवस्थामा नै सांसद चौधरीले सांसद पदको शपथ लिएका थिए ।

प्रतिक्रिया दिनुहोस्