दरबार हत्याकाण्डको अनुसन्धान गरेर निचोडमा पुगाउँछु: प्रधानमन्त्री



काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दरबार हत्याकाण्ड र गौर हत्याकाण्डको अनुसन्धान गरिने बताएका छन् । मङ्गलवार नेकपा (माओवादी केन्द्र) को पार्टी कार्यालय पेरिस डाँडामा भएको माओवादी सल्लाहकार समिति र ज्येष्ठ कम्युनिस्ट मञ्चको संयुक्तमा बोल्दै प्रधानमन्त्री प्रचण्डले ठुला हत्याकाण्डका नामले परिचित दरबार हत्याकाण्ड, गौर हत्याकाण्ड लगायतका हत्याकाण्डहरूको अनुसन्धान गरी गौर हत्याकाण्डको अनुसन्धान पुग्ने बताएका हुन् ।

प्रधानमन्त्रीले २०४६ सालको जनआन्दोलनपछिका सबै उच्च पदस्थ अधिकारीका सम्पत्ति विवरणको बारेमा खोजी नीति गर्ने प्रतिबद्धता  जनाउँदै भने, ‘मैले सदनमा पनि भनेको छु अब भ्रष्टाचारका सबै फाइलहरू खोलिनेछन् । क्रमशः खुल्छन् । खुलाइन्छन् । मैले भनेको छु, २०४६ सालको ऐतिहासिक जनआन्दोलन पछिका सबै उच्च पदस्थ अधिकारीका सम्पत्ति विवरणको बारेमा खोजीनिती गरिन्छ । ठूलाठूला भ्रष्टाचारका काण्ड भनेर जो स्थापित छन्, तिनको खोजीनिती गरिन्छ । ठूलाठूला भयानक हत्याकाण्डहरू छन्, ती हत्याकाण्डहरूको खोजीनिती गर्नु छ । चाहे त्यो गौर हत्याकाण्ड होस् चाहे दरबार हत्याकाण्ड । त्यसको छिनोफानो भएको छैन । नेपाली जनताको मनमा धेरै ठूलाठूला शङ्काहरू छन् । के भएको हो भन्ने कुराको सत्य तथ्य आएको छैन । यी सबै कुराहरू पनि हामीले क्रमशः लगेर नयाँ विश्वास जनतामा जगाउनु छ । अब केही हुन्छ र हुनसक्छ भनेर ।’

उनले आफ्नो बुधवारबाट हुने भारत भ्रमणका क्रममा विद्युत्को बजार क्षमताको ग्यारेन्टी हुने गरी छलफल र सिमानाका विवादको समाधान गर्ने उपाय खोज्ने र विश्वासको वातावरण बनाउन पहल बताए ।

प्रतिक्रिया दिनुहोस्