फेरि बहसमा गौर र दरबार हत्याकाण्ड छानबिन



काठमाडौँ । मंगलबार नेकपा माओवादी केन्द्रको पार्टी कार्यालय पेरिसडाँडामा माओवादी सल्लाहकार समिति र ज्येष्ठ कम्युनिस्ट मञ्चको संयुक्त बैठक आयोजना गरिएको थियो । कार्यक्रम सामान्य नै भए पनि माओवादीका अध्यक्ष तथा प्रधानमन्त्री स्वयं उपस्थित हुँदा माहोल राम्रै थियो ।

तर, जब प्रचण्डले कार्यक्रमलाई सम्बोधन गरे, माहोल तातियो । उनले भने, ‘ठुला हत्याकाण्डका नामले परिचित दरबार हत्याकाण्ड, गौर हत्याकाण्डलगायतको अनुसन्धान गरी निचोडमा पुगिनेछ ।’ उनको यो अभिव्यक्तिले १७ वर्ष पुरानो गौर हत्याकाण्ड र २२ वर्ष पुरानो दरबार हत्याकाण्डको सत्यतथ्य बाहिर आउनेमा आमनागरिक पनि आशावादी देखिएका छन् ।

हुन त प्रचण्डले बेलाबखत यसको जिकिर गरिरहेकै हुन्छन् । उनका ती अभिव्यक्तिहरूमा उनी आफैँ उक्त घटनाको सत्यता उजागर गर्न उद्यत देखिन्छन् । तर, इतिहासको गहिराइमै डुब्न लागिसकेका यी घटनाको छानबिन र कारबाहीको विषय त्यति सहज भने देखिँदैन ।

प्रचण्डले भनेका थिए, ‘ठुलाठुला भयानक हत्याकाण्डहरू छन् । ती हत्याकाण्डहरूको खोजीनिती गर्नु छ । चाहे त्यो गौर हत्याकाण्ड होस्, चाहे दरबार हत्याकाण्ड । त्यसको छिनोफानो भएको छैन । नेपाली जनताको मनमा धेरै ठुलाठुला शंकाहरू छन् । के भएको हो ? भन्ने कुराको सत्यतथ्य आएको छैन । यी सबै कुराहरू पनि हामीले क्रमशः लगेर नयाँ विश्वास जनतामा जगाउनु छ ।’

गौर हत्याकाण्डमा दोषी देखिएका र मुद्दा परेका व्यक्ति आज प्रचण्ड सरकारकै सारथि भएर बसेका छन् । यसले पनि छानबिन हुनेमा शंका देखिन्छ । उता, तत्कालीन सरकारले दरबार हत्याकाण्डको छानबिन सकेर दोषी पनि किटान गरिसकेको अवस्थामा फेरि अनुसन्धान हुन्छ र सत्य बाहिर आउँछ भन्नेमा विश्वस्त हुने आधार देखिँदैन ।

दरबार हत्याकाण्डको विषयमा सत्यता र प्रामाणिकता स्पष्ट नभए पनि गौर हत्याकाण्डमा सबै कुरा छर्लंगै छ । तर, पनि विगत १७ वर्षदेखि त्यो विषयमा कसैले ध्यान दिएको देखिँदैन । यस किसिमको राजनीतिक मौनताका कारण पनि अब दोषीमाथि कारबाही होला भन्नेमा संशय नै छ ।

दरबार हत्याकाण्ड रहस्यको गर्भमा भए पनि गौर हत्याकाण्डमा प्रमाणसहितका तथ्य र प्रत्यक्षदर्शीका बयान अझ पनि सुरक्षित छ । यति हुँदाहुँदै पनि स्पष्ट रूपमा छानबिन र दोषीमाथि कारबाही हुन नसक्नुमा कतै न कतै यो घटनाले राजनीतिक रङ लिएको छनक देखाउँछ । तत्कालीन मधेसी जनअधिकार फोरमका कार्यकर्ताले माओवादीका २७ जना कार्यकर्ताको हत्या गरेको विषय जगजाहेर हुँदाहुँदै पनि त्यसमा छानबिन हुन नसक्नुले कतै न कतै राजनीतिक स्वार्थलाई आपसमा मिलाएको जस्तो देखिन्छ ।

किनकि त्यो घटनायता ४ पटक सरकारको नेतृत्व माओवादीले सम्हालिसकेको छ । तर, यसमा कसैले चासो देखाएनन् । उक्त घटनाको भोलिपल्टै अर्थात् ८ चैतमा प्रचण्डले एउटा विज्ञप्ति नै जारी गर्दै फोरमलाई प्रतिबन्ध लगाउनसमेत माग गरेका थिए । तर, आज त्यही पार्टीका नेतालाई चुनावमा जिताउनेदेखि सरकारमा सामेल गराउनेसम्मको काममा प्रचण्ड आफैँ सक्रिय छन् ।

एमाले प्रमुख सचेतक महेश बर्तौला भने प्रचण्डको अभिव्यक्तिप्रति आशावादी देखिँदैनन् । उनी भन्छन्, ‘छानबिन हुने र दोषीमाथि कारबाही हुनेमा मलाई त्यति भरोसा छैन । तर, सरकारको यो दायित्वभित्रको कुरा हो । यसो गर्छु र उसो गर्छु भनेर स्टन्ट गरिरहनु पर्दैन ।’ तर, यदि सरकारले छानबिन र कारबाही प्रक्रिया अघि बढाएको खण्डमा एमालेको पूर्ण साथ र समर्थन हुने उनले बताए ।

हुन त एमाले नेतृत्वको सरकारमा पनि यो विषय उठेकै थियो । ७ चैत, २०७७ सालमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई मृतकका परिवारले गौर घटनाका दोषीमाथि कारबाहीको माग गर्दै ज्ञापनपत्र बुझाएका थिए । गौर हत्याकाण्ड संघर्ष समितिका तर्फबाट प्रधानमन्त्रीलाई भेटेर दोषीलाई कारबाही माग गरिएको थियो । तर, त्यस समयमा ज्ञापनपत्र बुझेका ओलीले आश्वासन मात्र दिए । कारबाहीको कुनै प्रक्रिया सुरु गरेनन् ।

त्यस्तै, ८ कात्तिक, २०७६ सालमा विराटनगर पुगेका तत्कालीन उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले गौर घटनाको पनि छानबिन हुने बताएका थिए । तर, उनको कार्यकालमा पनि त्यसो हुन सकेन । मृत्यु भएका २७ जनाका परिवारले घटनाको ९ महिनापछि १० लाखका दरले क्षतिपूर्ति पाए पनि उनीहरूले न्याय भने अहिलेसम्म पाउन सकेका छैनन् ।

प्रचण्डले छानबिन गर्नुपर्छ भनेर भन्दै गर्दा माओवादी केन्द्रका सचिव देवेन्द्र पौडेल भने यस प्रकारका घटनाहरू शान्ति प्रक्रियासँग जोडिएको र त्यसैअनुसार अनुसन्धान हुनुपर्ने बताउँछन् । उनले भने, ‘हामीले घटनाको विषयमा प्रतिक्रिया दिनुभन्दा पनि गम्भीर मानवअधिकार उल्लंघन भएका त्यस्ता घटना कानुन बनाएर सत्य निरुपण तथा मेलमिलापअन्तर्गत सूचीकृत गरेर छानबिन गर्नु सान्दर्भिक हुन्छ ।’

गौर हत्याकाण्डलाई पनि शान्ति प्रक्रियाको विषयमा जोड्ने हो र ? भन्ने हाम्रो प्रश्नमा पौडेल भन्छन्, ‘अब कुनै न कुनै उपायले हामीले यस प्रकारका घटनालाई एउटा कानुन बनाएर त्यसैको वरिपरि समेट्नुपर्छ ।’

के हो गौर हत्याकाण्ड ?

७ चैत, २०६३ सालमा गौरको राइस मिल्स चौरमा भएको घटना नै गौर घटना (हत्याकाण्ड) हो । यो हत्याकाण्डमा २७ जनाको बीभत्स हत्या भएको थियो । हत्याको कारण थियो– तत्कालीन नेकपा माओवादी र मधेसी जनअधिकार फोरमका कार्यकर्ताबीच भएको झडप ।

केही दिन अघिदेखि नै यस स्थलमा कार्यक्रम गर्न फोरमले तयारी गरेको थियो । तर, कार्यक्रमको अघिल्लो दिन माओवादीको मधेसी राष्ट्रिय मुक्ति मोर्चाले पनि यसै स्थलमा कार्यक्रम गर्ने निधो गरेका थियो । कार्यक्रमका लागि मोर्चाले विभिन्न जिल्लाबाट वाइसिएल कार्यकर्ता ल्याएको थियो । दुवै पार्टीको कार्यक्रमका लागि चौरमा दुवैले १०० मिटरको दुरीमा मञ्च बनाएका थिए ।

दुवै पक्षको ¥याली र जुलुससम्म कुनै समस्या देखिएको थिएन । तर, फोरमका केही कार्यकर्ताले माओवादीको मञ्च भत्काइदिएपछि भने घटनाले बाटो लिएको थियो । फोरमका कार्यकर्ताले माओवादीको मञ्च भत्काइदिएको केहीबेरमै माओवादीले पनि फोरमको मञ्चमा तोडफोड गरे । अनि मच्चियो गौर हत्याकाण्ड ।

कार्यक्रम स्थलमा ६ जना, तत्कालीन हजमुनिया गाविसमा ११ जना, मुडवलवा गाविस जाने बाटोमा २ जना, लक्ष्मीपुर बेलविछुवा गाविसमा २ जना, गौर अस्पतालमा ४ जना र भरतपुर लैजाँदै गर्दा बाटोमा २ जना गरी जम्मा २७ जनाको हत्या गरिएको थियो । मृत्यु हुनेमा रौतहटका ९, मकवानपुरका ८, बाराका ४, बाजुरा, सिन्धुली, पर्सा र दाङका १÷१ तथा सनाखत नै हुन नसकेको २ जना थिए । जसमा २२ पुरुष र ५ महिला थिए भने हत्या भएका सबै जना माओवादीकै कार्यकर्ता थिए । घटनामा ५३ जना घाइते भएका थिए ।

घटनास्थलबाट भागेका माओवादी कार्यकर्तालाई फोरमका कार्यकर्ताले दौडाइ–दौडाइ समातेर निर्ममतापूर्वक हत्या गरेका थिए । त्यस समय देखिएको दृश्य साह्रै भयावह भएको विभिन्न प्रतिवेदन तथा प्रत्यक्षदर्शीहरूले बयानले पनि पुष्टि गरेको थियो । महिलाको बलात्कार गर्नेदेखि स्तनसम्म काटिएको त्यो निर्मम घटनामा केहीको शरीरमा आगोसमेत लगाइएको थियो । आक्रमणकारीले त्यस समयमा राइफल, भाटा, लाठी, ढुंगा प्रहार गरी हत्या गरेका थिए । धेरैजसो घाइतेहरूले नै यसबारे बताएकाले यसलाई पुष्टिसमेत गर्छ ।

घटनालगत्तै गृह मन्त्रालयले विज्ञप्ति जारी गर्दै भनेको थियो, ‘यो अत्यन्त ठुलो र हिंस्रक घटना हो, आपराधिक घटनाको छानबिन गरी दोषीमाथि कारबाही गर्न सरकार प्रतिबद्ध छ ।’ त्यो विज्ञप्ति जारी भएको आज १७ वर्ष भयो । तर, न घटनाको बारेमा छानबिन भयो न दोषीमाथि कारबाही नै । हत्याकाण्डमा संलग्न भएको आरोपमा करिब ३०० जनाविरुद्ध जाहेरीसमेत परेको थियो । घटनामा तत्कालीन मधेसी जनअधिकार फोरमका नेता उपेन्द्र यादव, पूर्वसभासद बबन सिंह, प्रदेशसभा सांसद बाबुलाल साहलगायत ११३ जनाको नाम जोडिएको थियो । जसविरुद्ध प्रहरीमा कर्तव्य ज्यान मुद्दा पनि दर्ता भएको छ ।

घटनाको निष्पक्ष छानबिन हुनुपर्ने माग भएपछि सरकारले तत्कालै पुनरावेदन अदालत पाटनका तत्कालीन न्यायाधीश हरिप्रसाद घिमिरेको संयोजकत्वमा उच्चस्तरीय छानबिन टोली गठन गरेको थियो । सरकारी टोलीमा जिल्ला अदालत जुम्लाका तत्कालीन न्यायाधीश अनन्त डुम्रे, तत्कालीन न्यायाधिवक्ता टीकाबहादुर हमाल, तत्कालीन प्रहरी नायब महानिरीक्षक रमेश चन्द र राष्ट्रिय सतर्कता केन्द्रका तत्कालीन कामु प्रमुख राम सरबर दोबे थिए ।

घटनाबारे २८ चैत, २०६४ मा कर्तव्य ज्यानसम्बन्धी जाहेरी दर्ता भए पनि हालसम्म कसैलाई कारबाही भएको छैन । घटनाको मुख्य आरोप भने जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलाई लागाइएको छ । यादवविरुद्ध प्रहरीमा कर्तव्य ज्यानसम्बन्धी मुद्दा दर्ता भए पनि उनी त्यसपछि देशको उपप्रधानमन्त्रीसम्म बन्न भ्याए । कयौँ पटक मन्त्री बने । हरेक सरकारमा सहभागी भएकै छन् । तर, कारबाही भएको छैन ।

२२ वर्ष पुरानो दरबार हत्याकाण्ड

२२ वर्ष पुरानो हत्याकाण्ड हो– दरबार हत्याकाण्ड । १९ जेठ, २०५८ सालको रातमा राजदरबारभित्र यो घटना घटेको थियो । राजा वीरेन्द्रको वंश नै नाश हुने गरी भएको यो हत्याकाण्डलाई त्यस समयमा संसारभरका सञ्चारमाध्यमले प्राथमकितासाथ प्रसारण गरेका थिए ।

यो हत्याकाण्डमा राजपरिवारका १० सदस्यको हत्या भएको थियो । जसमा राजा वीरेन्द्र, रानी ऐश्वर्य, अधिराजकुमारी श्रुति, निराजन, धीरेन्द्र शाह, राजकुमारी शान्ति, राजकुमारी श्रद्धा, राजकुमारी जयन्ती र श्रद्धाका पति कुमार खड्गविक्रम शाह र युवराज दीपेन्द्र थिए ।

पछि राजा बनेका ज्ञानेन्द्रले तत्कालीन सर्वोच्च अदालतका प्रधानन्यायाधीश केशवप्रसाद उपाध्याय र सभामुख तारानाथ रानाभाट रहेको एक उच्चस्तरीय छानबिन समिति गठन गरी घटनाका सम्बन्धमा छानबिन गर्न आदेश दिए । त्यसको १ हप्तापछि समितिले राजालाई प्रतिवेदन प्रस्तुत गरेको थियो । जसमा दोषी देखाइएको थियो– मृत्यु भइसकेका दीपेन्द्रलाई । प्रतिवेदनमा लागुपदार्थ र रक्सीले मातेका युवराज दीपेन्द्र नै मुख्य दोषी रहेको निष्कर्ष निकालिएको थियो । साथै प्रतिवेदनमा दीपेन्द्रले सबैलाई गोली हानी मारेको र त्यसपछि आफैँमाथि गोली प्रहार गरेको उल्लेख थियो ।

तर, यसलाई अहिलेसम्म कसैले पनि विश्वास गरेका छैनन् । यो हत्याकाण्डबारे दजनौँ पुस्तकहरू प्रकाशित भइसकेका छन् भने सयौँ लेखहरू यसैमा केन्द्रित भएर लेखिएका छन् । जसमा केही दर्जन लेख त विदेशी लेखक र अनुसन्धानकर्ताहरूले पनि लेखेका छन् ।

प्रतिक्रिया दिनुहोस्