भूमि साटफेर बहस बोकेर फर्किए प्रधानमन्त्री



काठमाडौं । सीमा समस्याको निकास खोज्न केन्द्रित हुन नसकेको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को भारत भ्रमणले सीमाकै विषयमा नयाँ बहस जोडेको छ। बंगलादेशसँगको सीधा पहुँचमार्ग नेपालले प्राप्त गर्नेलगायत विकल्पमा छलफल गर्न नेपाल–भारतबीच प्रारम्भिक सहमति जुटेको छ।

नेपाली भूमि कालापानी, लिपुलेक र लिम्पियाधुराको विकल्पमा नेपाल–बंगलादेश सडकमार्गबारे भारत सकारात्मक रहेको प्रधानमन्त्री प्रचण्डले शनिबारसाँझ सञ्चारकर्मीहरूलाई बताए। द्विपक्षीय उच्चस्तरीय भेटवार्तामा सीमा समस्याको विकल्पबारे छलफल भएको बताउँदै उनले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरूसँग भने, ‘हामीलाई बंगलादेशसम्म सीधै जाने बाटो चाहिएको छ भनेर नेपालमा उहिलेदेखि आवाज उठिरहेको कुरा हो । त्यसमा म्यानेज गर्न सक्ने हो भने एउटा हल हुन सक्छ भनेर हाम्रा विज्ञहरूको सुझाव आउने गरेकै छ।’

बंगलादेशसँगको अन्तरदेशीय विद्युत् प्रसारण लाइन र सीधा स्थलमार्गको पहुँचबारे नेपालले विगतदेखि नै भारतसँग लबिइङ गर्दै आएको छ। उच्चस्तरीय भेटवार्तापछि गत बिहीबार (१८ जेठ) को संयुक्त पत्रकार सम्मेलनका क्रममा भारतीय प्रधानमन्त्री मोदीले द्विपक्षीय सम्बन्धलाई हिमालभन्दा उचाइमा पुर्‍याउन सीमालगायत सबै समस्याको समाधान खोज्ने बताएका थिए।

भारतीय समकक्षी मोदीले पहिलो पटक सीमा समस्याबारे सार्वजनिक रूपमा बोलेपछि प्रचण्डले यसलाई ‘ब्रेक थ्रु’ मानेका छन्। नेपालले लिपुलेक, कालापानी र लिम्पियाधुरासहितको भूमि समेटेर नयाँ प्रशासनिक नक्सा जारी गरेपछि प्रष्ट रूपमा सीमा समस्याबारे छलफल हुन सकेको छैन।

डेढ वर्षअघि तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणका क्रममा पनि सीमाको विषय छलफलको प्राथमिकतामा परेको थिएन । सीमा विवादकै कारण नेपाल–भारत सम्बन्धमा चिसोपन बढेको, कूटनीतिक रिक्तता आएको तर आफ्नो भारत भ्रमणपश्चात् अवस्था सहज बनेको प्रधानमन्त्री प्रचण्डले दाबी गरे ।

सीमाका विषयबारे द्विपक्षीय संयन्त्र र अन्य उच्चस्तरीय भेटवार्ताले क्रमशः किनारा लगाउने उनले बताए। दुवै देशका साझा समस्या र सहकार्यका लागि नेपाल–भारत प्रबुद्ध व्यक्ति समूह (इपिजी)ले तयार गरेको प्रतिवेदन कार्यान्वयन आफ्नो भ्रमणको प्राथमिकतामा नपरेको स्वीकार्दै प्रचण्डले भने, ‘इपिजी चासोको विषय हो, मैले आफ्नो ढंगले कुरा गरेको छु। तर, यसलाई बढी उचालेर द्विपक्षीय सहयोगको वातावरण बिगार्नु छैन।’

१५ असार २०७५ मा काठमाडौंमा सम्पन्न नवौँ तथा अन्तिम द्विपक्षीय बैठकले प्रतिवेदनलाई अन्तिम रूप दिए पनि भारतले प्रतिवेदन ग्रहण गरेको छैन।
आफ्नो भारत भ्रमणले विगतमा कायम अविश्वासको वातावरणको अन्त्य भएको, ऊर्जा, कनेक्टिभिटी, पारवहन, पेट्रोलियम पाइपलाइन विस्तारलगायत क्षेत्रमा महत्वपूर्ण उपलब्धि हासिल भएको प्रधानमन्त्री प्रचण्डको भनाइ छ।

ऊर्जामा भएको दीर्घकालीन सम्झौता, विराटनगर जोड्ने रेल सेवा शुभारम्भ, सुदूरपश्चिम प्रदेशमा सडक, बन्दरगाह, एकीकृत जाँच चौकीजस्ता संरचना निर्माणले बढ्दो वैदेशिक घाटा काम गर्ने उनको विश्वास छ। ४ दिने भ्रमण सकेर प्रचण्ड नेतृत्वको टोली शनिबार साँझ स्वदेश फर्किएको छ।

यही वर्षायामदेखि भारतीय भूमि हुँदै बंगादेशसम्म ५० मेगावाट विद्युत् निर्यातका लागि आफ्नो ट्रान्समिसन लाइन प्रयोग गर्न दिन भारत सकारात्मक बनेपछि नेपालले तेस्रो मुलुकसँगको विद्युत् व्यापारको औपचारिक प्रक्रिया अघि बढेको छ ।

नेपालले भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थललाई सहज हुने गरी थप नयाँ हवाई रुट दिन भारतलाई प्रस्ताव गरे पनि सम्झौता भने हुन सकेन। धनगढी हुँदै नेपाल प्रवेश गर्ने र बाहिरिने विमानलाई अतिरिक्त हवाई रुट दिन भारत सकारात्मक रहेको र छिट्टै यसबारे भारतले अवगत गराउने प्रचण्डले बताए।

कम उचाइमा उड्ने एटिआर–७२ विमानका लागि तत्कालै रुट दिन भारत सकारात्मक रहेको र आगामी दिनमा लामो दुरीका जहाजलाई पनि सिमराबाहेक थप मार्ग छिट्टै प्रदान गर्ने उनको विश्वास छ ।

गेरुवस्त्र सांस्कृतिक कूटनीति’

भारतको मध्यप्रदेशस्थित उज्जैनको धार्मिक स्थलमा गेरुवस्त्रसहित पूजाआजा गरेर चर्चामा आएका प्रधानमन्त्री प्रचण्डले ‘सांस्कृतिक कूटनीति’ भन्दै खण्डन गरेका छन्। अतिथिले पालना गर्नुपर्ने प्रोटोकलअनुसार आफूले गेरुवस्त्र लगाएको र यसले दुवै देशको सम्बन्धलाई उचाइमा पुर्‍याउने उनले तर्क गरे।

म कम्युनिस्टमात्रै होइन प्रधानमन्त्री पनि हो । तर, गेरुवस्त्र, कमण्डलु लिएर हिँड्नेवाला होइन । यसलाई एउटा संस्कृतिको कूटनीतिका रूपमा लिऔँ,’ विमानस्थलमा प्रचण्डले भने, ‘मैले गेरुवस्त्र नलगाउँदा भारतका करोडौँ, अर्बौं मान्छेको मनमा चिसो पस्थ्यो।’

उज्जैन पुगेर पत्नीको स्वास्थ्यका लागि प्रार्थना गरिएको विषयमा सत्यता नभएको र आफू कुनै पनि धर्मविरोधी नभएको उनले बताए। आफू धर्मनिरपेक्षवादी भएको र सबै धर्मलाई सम्मान गर्ने उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले भने, ‘मुस्लिमहरूको मस्जिदमा, क्रिश्चियनको चर्च, बुद्धिस्टको धार्मिक स्थललगायतमा समेत गएर प्रार्थना गरेको छु, हिन्दुकोमा जान नहुने भन्ने हुन्छ र ?’

शुक्रबार प्रचण्डलगायत उनको भ्रमण टोलीका मन्त्रीहरूले मध्य प्रदेश पुगेर महाकालेश्वर मन्दिरमा पूजाअर्जना गरेका थिए। महाकालेश्वरलाई हिन्दुहरूले १२ मध्ये एक ज्योतिर्लिंगका रूपमा पूज्ने गर्छन्।

उज्जैनमा चढाइएको रुद्राक्ष आफ्नो पहलमा नलगिएको र परराष्ट्रमन्त्री नारायणप्रकाश साउदको प्रस्तावमा रुद्राक्ष त्यहाँ चढाइएको उनले प्रष्ट्याए। नेपालको रुद्राक्ष सो भेगमा पुग्नु स्वदेशी उत्पादनको प्रवद्र्धनमा टेवा मिल्ने प्रचण्डको तर्क छ।

प्रतिक्रिया दिनुहोस्