पाल्पाको सत्यवतीमा जिप दुर्घटना हुँदा मृत्यु हुनेको संख्या ४ पुग्यो



पाल्पा । पाल्पाको रैना देवीछहरा गाउँपालिका–८ सत्यवतीस्थित किउरेछेडाँमा आइतबार साँझ भएको जिप दुर्घटनामा मृत्यु भएकाको सङ्ख्या चार पुगेको छ। अहिले मृतक सबैको पहिचान खुलेको छ।

दुर्घटनामा ११ जना घाइते भएका छन्। रुपन्देहीको सालझण्डीबाट अर्घाखाँचीको पणेना जाँदै गरेको लु१च ९०२४ नम्बरको जिप आइतबार साँझ उक्त स्थानामा दुर्घटना भएको हो।

दुर्घटनामा चालकसहित तीन जनाको घटनास्थलमै र एक जनाको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रवक्ता प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिए। मृत्यु भएकाहरुमा अर्घाखाँचीको पाणिनी गाउँपालिका–१ पडेना बस्ने चीप चालक २६ वर्षीय रमेश विक, पाणिनी–१ की ५५ वर्षीया श्यामकला परियार, पाणिनी–२ पोखराथोककी २५ वर्षीया सीता गौतम र सोही स्थानका दुई वर्षीय बालक संयोग गौतम छन्।

संयोगको उपचारका क्रममा र अन्यको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। घाइतेमध्ये पाँच जनाको अवस्था गम्भीर छ। घाइते पाँच जनाको बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा, दुई जनाको चौराहा अस्पताल बुटवल र चार जनाको भैरहवा मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

जिप सडकबाट करिब ७० मिटर तल खसेको छ। दुर्घटनाबारे अनुसन्धान भइरहेको प्रहरी प्रवक्ता थापाले बताए।

प्रतिक्रिया दिनुहोस्