राष्ट्रव्यापी कृष्णमोहन स्मृति खुल्ला ब्याडमिन्टनको उपाधि एपिएफका प्रिन्स दाहाललाई



काठमाडौँ । ‘१६ औँ राष्ट्रव्यापी कृष्णमोहन स्मृति खुल्ला ब्याडमिन्टन प्रतियोगिता–२०८०” को पुरुष एकलतर्फको उपाधि नेपाल एपिएफ क्लबका प्रिन्स दाहालले जितेका छन् । आज भएको फाइनल खेलमा दाहालले त्रिभुवन आर्मी क्लबका रुकेश महर्जनलाई   २१–११ र  २१–११ ले पराजित गरी उपाधि जितेका हुन् ।

सशस्त्र प्रहरी बल, नेपाल प्रधान कार्यालय हल्चोक स्वयम्भूमा आयोजित प्रतियोगिताको समापन समारोहमा उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले विजयी खेलाडीहरूलाई शिल्ड, पदक, प्रमाणपत्र तथा नगद पुरस्कार प्रदान गरे ।

कार्यक्रममा सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले प्रतियोगिता सञ्चालनमा सहयोग पु¥याउनुहुने विभिन्न सङ्घ संस्था, रेफ्री तथा अफिसियलहरुलाई समेत प्रशंसा पत्र तथा मायाको चिनो प्रदान गरे।

यसैगरी, बिहीबार भएको महिला एकलतर्फको फाइनल खेलमा त्रिभुवन आर्मी क्लबकी रसिला महर्जनले नेपाल एपिएफ क्लबकी जेसिका गुरुङ्गलाई २१–१९, १५–२१ र २१–१७ ले पराजित गरी उपाधि हात पारेकी छिन् ।

यसैगरी,१९ वर्षमुनिका केटाअन्तर्गत नेपाल एपिएफ क्लबका क्षितिज खनालले एपिएफ क्लबकै रोशन साउदलाई १३–२१, २१–१७, २१–१८ ले पराजित गरी उपाधि जितेका छन् । अन्डर टुभेल ब्वाईज अन्तर्गतको फाइनल खेलमा त्रिभुवन आर्मी क्लबका रीजन मगरले त्रिभुवन आर्मी क्लबकै सुदेश राजकोटीलाई २४–२२, २१–१८ ले पराजित गरी उपाधि जितेका छन् ।

यसैगरी मेन्स डवलतर्फ नेपाल एपीएफ क्लबका प्रिन्स दाहाल र विजीत थापा मगरले नेपाल पुलिस क्लबका जीवन आचार्य र बिष्णु कटुवाललाई २१–१८, २१–१३ ले पराजित गरी उपाधि जित्न सफल भएका छन् । वुमेन्स डवलतर्फको खेलमा त्रिभुवन आर्मी क्लबका रशीला महर्जन र अनुमाया राईले नेपाल एपीएफ क्लबका जेशीका गुरुङ्ग र सुनैना मुखियालाई २१–१६, २१–१२ ले पराजित गरी उपाधि जित्न सफल भएका छन् भने मिक्स डबलतर्फ नेपाल एपीएफ क्लबका प्रिन्स दाहाल र जेसिका गुरुङले नेपाल एपीएफ क्लबकै विजीत थापा मगर र शोभा गौचनलाई २३–२१, २२–२० ले पराजित गरी फाइनल खेल जित्न सफल भएका छन्  ।

यसैगरी, ५५ बर्षमाथिका भेट्रान्सतर्फ चितवनका बुद्धी चौधरी र धादिङ्गका बिष्णुलाल श्रेष्ठले बैतडीका पूर्ण चन्द्र जोशी र कीर्तिपुरका राजु महर्जनलाई २३–२१, २२–२० ले पराजित गरी उपाधि जितेका छन् भने ४५ बर्षमाथिका भेट्रान्सतर्फका खेलमा नेपाल एपिएफ क्लबका सञ्जय कपाली र अनिल थाम्सुङ्ले कास्की पोखराका विशाल हिराचन र शम्भु कुमार श्रेष्ठलाई २१–१३, २२–२० ले पराजित गरी उपाधि जितेका छन् ।

(ईन्टर गभरमेन्ट सर्भिस सिनियर अधिकृत) तर्फको खेलमा नेपाल टेलिकमका सोभाखर भण्डारी र हरिकृष्ण शर्माले नेपाल एपिएफ क्लबका धिरेन्द्र चन्द र सुधिर सुवेदीलाई २२–२०, २१–१२ ले पराजित गरी उपाधि जितेका हुन् ।

नेपाल एपीएफ क्लबको आयोजनामा उक्त प्रतियोगिता सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय हल्चोकस्थित नेपाल एपिएफ क्लबको कभर्ड हलमा जेठ २१ गतेदेखि सञ्चालन भएको हो ।

कुल पुरस्कार राशी ८ लाख ६५ हजार रुपैयाँ रहेको प्रतियोगिताका सम्पुर्ण खेलहरू Badminton World Federation(BWF) / Badminton Asian Confederation(BAC) को नियम अनुसार खेलाईएको थियो । प्रतियोगितामा पुरुष एकल, महिला एकल, पुरुष युगल, महिला युगल, १२ वर्षमुनिका केटा, १९ वर्षमुनिका केटा, भेट्रान्स युगल ४५/५५ वर्ष, मिक्स डबल्स र ईन्टर गभरमेन्ट सर्भिस (सिनियर अधिकृत) लगायत गरी १० वटा इभेन्ट्सहरु समावेश गरिएको थियो ।

कार्यक्रममा मन्त्री श्रेष्ठले यस ब्याडमिन्टन प्रतियोगिताले संस्थापक सशस्त्र प्रहरी महानिरीक्षक स्वर्गीय कृष्णमोहन श्रेष्ठको स्मरण गर्नुका साथै खेलाडीहरूलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा खेल्ने महत्त्वपूर्ण अवसर समेत प्रदान गर्ने विश्वास व्यक्त गरे । उनले खेलकुदले आफ्नो शारीरिक तन्दुरुस्ती, स्वस्थता, अनुशासन कायम गर्न मात्र नभई यस क्षेत्रमार्फत राष्ट्रिय गौरव र पहिचान स्थापित गर्न समेत सहयोग पुग्ने  बताए  ।

सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले धन्यवाद ज्ञापनको क्रममा प्रतियोगिता सफल रूपमा सम्पन्न गर्न सहयोग पु¥याउने सङ्घ संस्था, प्रशिक्षक, अफिसियल तथा महानुभावहरुप्रति हार्दिक आभार प्रकट गर्दै यस्ता प्रतियोगिताबाट क्षमतावान खेलाडीहरूको पहिचान हुनुकासाथै आगामी दिनमा खेल क्षेत्रमा नवप्रतिभाहरूको आगमन हुने विश्वास व्यक्त गरे ।

समारोहमा नेपाल ओलम्पिक कमिटीका अध्यक्ष, अवकाश प्राप्त सशस्त्र प्रहरी महानिरीक्षकहरू, नेपाल ब्याडमिन्टन सङ्घका अध्यक्ष, पूर्व सशस्त्र प्रहरी सङ्घका अध्यक्ष, नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक, सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकहरू, सशस्त्र प्रहरी बल नेपालका कर्मचारीहरू लगायत विभिन्न सङ्घसंस्थाका प्रतिनिधि तथा खेलाडीहरूको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्