रास्वपामाथि अन्य दलले घेराबन्दी गरिरहेका छन्ः रवि लामिछाने



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफ्नो पार्टीले २०८४ मा सबैखाले चुनावमा विजयी हाँसिल गर्ने अवस्था देखिएपछि पार्टीविरुद्ध बाधा पुर्‍याउने प्रयास भइरहेको आरोप लगाएका छन्।

शनिबार काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले रास्वपाको बाटो अब सहज हुन्छ भन्ने जनताले देखाइदिए पनि विभिन्न ठाउँबाट अन्य दलहरूले घेराबन्दी गरिरहेको बताए । उनले दलहरूको घेराबन्दीबाट आफ्नो पार्टी नडराउने बताए।

तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले नागकिरता विधेयक रोक्दा पनि आफ्नो पार्टीले बिरोध गरेको र त्यसबेला संसद्मा रहेका दलहरूले पनि अकर्मण्यता देखाएको उनको भनाइ छ। उनले अहिले राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको सिफारिसमा नागकिरता विधेयक प्रमाणीकरण गर्नु पनि गलत भएको बताए।

उनले वैवाहिक अंगीकृतका हकमा पनि नागकिरता विधेयकले बोलोस् भन्ने चाहे पनि संसद्‌मा नलगी प्रमाणीकरणमा पठाउनुले सरकारको बाटो स्पष्ट भएको बताए। आफ्नो पार्टीले नेपाली नागरिकले नागकिरता पाउनु हुँदैन भनेर कहिल्यै नभनेको बरु सही ढंगबाट यसको व्यवस्थापन हुनुपर्नेमा जोड दिएको उनले स्पष्ट पारे।

“तपाईंहरूलाई लाग्ला रास्वपाको बाटो अब सहज छ, २०८४ मा त सजिलो हुन्छ । हो नेपाली जनताले देखाएको बाटो सहज छ। तर, सम्पूर्ण दलहरूले यो बाटोमा जुन घेराबन्दी गर्दैछन्, सातो जाने खालको छ । तर, हामी डराउँदैनौँ,” उनले भने, “२०८४ मा रास्वपाको अवस्था कस्तो हुन्छ भन्ने कुरा आम जनताले घरघरमा महसुस गरिसकेका छन् । तर, त्यो अनुमानलाई बाधा पुर्याउन अहिलेदेखि नै प्रयासहरू सुरु भएको छ। त्यसमा हामी चनाखो हुँदै जानुपर्छ।”

सभापति लामिछानेले आफ्नो पार्टीले राजनीतिक अडानका रूपमा लिएका मुद्दालाई नछोड्ने बताए। उनले २०८४ सालमा एकले अर्कोलाई स्वीकार गरेर राष्ट्रिय स्वतन्त्र पार्टीलाई सबै चुनावमा जिताउन पनि आह्वान गरे। उनले सबै ठाउँबाट पार्टीलाई जिताउन आफ्नो पार्टीले काम थालिसकेको पनि जिकिर गरे।

प्रतिक्रिया दिनुहोस्