कांग्रेस गुटबन्दी : शेखर रिझाएर गगन एक्ल्याउने देउवा नीति



काठमाडौं । पछिल्लो केही समययता नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला र महामन्त्री गगनकुमार थापा एकैठाउँमा देखिएका छैनन्। शेखर समूहको कार्यक्रममा थापा देखिएका छैनन् भने गगन समूहको कार्यक्रममा शेखर देखिएका छैनन्।

उनीहरू कांग्रेसभित्रको एउटै गुटमा रहे पनि एकै ठाउँमा नदेखिँदा र एकअर्काको समर्थनमा नबोल्दा छुट्टिएका हुन् कि भन्ने शंका उब्जिएको छ। यसलाई सही सावित गर्नका लागि थुप्रै उदाहरण पनि देखिन्छ। कांग्रेसभित्र महामन्त्री थापा शेखर समूहको चेपुवामा परे भन्ने हल्ला पनि त्यत्तिकै छ।

पार्टीको पछिल्ला निर्णयप्रति थापाले असन्तुष्टि जनाउँदै आएका छन्। चाहे त्यो मन्त्री बनाउने कुरा होस् वा आफ्नै पार्टीका मन्त्रीले ल्याएको बजेटका विषयमा किन नहोस्, थापाले आफ्नो असन्तुष्टि पोख्दै आएका छन्। विशेष गरी मन्त्रिपरिषद्मा सहभागिताको विषयमा आफ्नो माग सम्बोधन नभएको भन्दै थापा शेखरसँग समेत असन्तुष्ट बनेका थिए।

नेतृत्व परिवर्तनको मागसहित पुस्तान्तरणको मुद्दा लिएर अघि बढेका थापालाई पार्टीभित्रका अधिकांश युवा नेताको साथ र समर्थन देखिए पनि अहिले कांग्रेसमा देखिएको तेस्रो पुस्ताका नेताहरूकै कारण पनि उनी चेपुवामा परेको देखिन्छ। थापा समूह देउवाको बहिर्गमनका लागि पहिले नीति महाधिवेशन गर्ने र विशेष महाधिवेशनको बाटो खुला गर्ने सोचमा देखिन्छ भने सभापति शेरबहादुर देउवा जसरी पनि आफूविरुद्ध उठेको आवाज दबाउने प्रयासमा छन्।

यसका लागि देउवालाई सहज बाटो भनेको शेखरलाई साथमा लिने र तेस्रो पुस्ताका युवा नेताहरूलाई गगन थापाकै विपक्षमा प्रयोग गर्ने हो । अहिलेको अवस्थामा देउवा त्यही गर्दै छन्। मन्त्रिपरिषद् विस्तारका क्रममा देउवाले कांग्रेसको भागमा परेका ८ मन्त्रालयमध्ये ६ आफ्नो र बाँकी २ शेखर पक्षलाई दिएका थिए। उता, थापा भने रित्तो बनेका थिए।

यसमा पनि देउवाकै चाल देखिन्छ। थापा जसरी पनि विशेष महाधिवेशन गर्नुपर्ने अडानमा छन्। कांग्रेसमा विशेष महाधिवेशन हुन शेखर कोइराला राजी हुनुपर्नेछ। केन्द्रीय महाधिवेशनका ४० प्रतिशत सदस्यले केन्द्रीय महाधिवेशनको बैठक बोलाउन विशेष कारण खुलाई केन्द्रसमक्ष लिखित अनुरोध गर्नुपर्छ।

यसका लागि गत महाधिवेशनमा ४० प्रतिशत मत पाएका सभापतिका उम्मेदवार शेखर कोइराला तात्नुपर्ने हुन्छ। त्यसलाई रोक्न पनि देउवा शेखरलाई रिझाउने र थापालाई एक्ल्याउने नीतिमा छन्। यसको पहिलो प्रयासमा देउवा सफल पनि भए। देउवाले शेखरको भागमा २ मन्त्री पारिदिए । यसरी शेखर र थापाबीचको दुरी बढाउने काममा देउवा सफल पनि भए।

कांग्रेसभित्र तेस्रो पुस्ताका रूपमा चिनिएका नेताहरू गुरुराज घिमिरे, मधु आचार्यलगायत धेरै नेता अहिले देश दौडाहामा छन्। तर, कांग्रेसभित्रको बेथिति हटाउनुपर्छ भन्दै वकालत गर्दै आएका थापा यो दौडाहामा कतै देखिएका छैनन्।

देश दौडाहामा रहेका तेस्रो पुस्ताका कतिपय नेताले त भाषण गरेर र पार्टीको नेतृत्वलाई गाली गरेर मात्र पार्टी नबन्ने अभिव्यक्तिसमेत दिएका छन्। उक्त अभिव्यक्ति कतै न कतै थापाप्रति नै लक्षित देखिन्छ। हरेकजसो सार्वजनिक कार्यक्रममा थापाले कांग्रेस संस्थापन पक्षलाई गाली गरेकै हुन्छन्।

कांग्रेस नेता नैनसिंह महर पनि काठमाडौँमा बसेर नेतृत्वलाई गाली गर्दैमा पार्टी सुधार नहुने तर्क राख्छन्। ‘पार्टीको शुद्धीकरण हामी सबैको माग हो। नयाँ पुस्ताले अवसर पाउनुपर्छ, हरेक निर्णयमा नेतृत्व हाबी हुनुहुँदैन,’ उनी भन्छन्, ‘तर, कराएर मात्र परिवर्तन आउँदैन नि ! यसका लागि पहिले होमवर्क गर्नुपर्‍यो । ग्रासरुटमा गएर छलफल गर्नुपर्‍यो।’

उता, आगामी महाधिवेशनमा सभापति पाउने आसमा पनि कोइराला देउवालाई समर्थन गर्ने पक्षमा छन् । गगन थापालाई मात्र साथ लिँदा सभापति बन्न सम्भव नहुने उनले गत महाधिवेशनमै देखिसकेका छन्। त्यसकारण पनि बलियो समर्थनको साथ खोजिरहेका कोइराला देउवालाई नै एकमात्र विकल्पका रूपमा हेरिरहेका छन्।

थापालाई रोक्न देउवालाई यो नै उपयुक्त विकल्प हो भने कोइरालालाई पनि आफ्नो सभापतिको सम्भावना कायमै राख्न देउवाकै पक्षमा रहनुपर्ने देखिन्छ। अहिलेको अवस्थामा देउवालाई डर पनि शेखर–गगनकै छ।

रामचन्द्र फ्याक्टरको व्यवस्थापनमा सफल भएका देउवाले प्रकाशमान सिंह र कृष्णप्रसाद सिटौलालाई पनि थन्क्याइसकेका छन्। अब शेखर–गगनबाट शेखरलाई मात्र पनि अलग्याउन सके कांग्रेसमा आफ्नो एकलौटी कायमै राख्न सकिने देउवाको दाउ छ।

प्रतिक्रिया दिनुहोस्