अस्थिर माधव नेपाल !



काठमाडौं । नेकपा एकृकीत समाजवादी (नेकपा एस)का अध्यक्ष माधवकुमार नेपालको राजनीतिक यात्रा करिब ५० वर्षको हो। अखिल नेपाल कोअर्डिनेसन केन्द्रदेखि समाजवादीसम्म उनको वर्ष गन्ती गर्ने हो भने मात्र पनि ४८ वर्ष पुग्छ। २०३२ सालमा अखिल नेपाल कोअर्डिनेसन केन्द्र गठन हुँदा नेपाल संस्थापकमध्येका थिए।

कोअर्डिनेसन केन्द्र, माले र एमाले हुँदै नेपाल अहिले नेकपा एसमा छन्। ९ भदौ, २०७८ सालमा दर्ता भएको समाजवादी अहिले दोस्रो वर्षमा हिँडिरहेको छ । यो २ वर्षको बीचमा नेकपा एसभित्र जति विचलन देखियो, त्योभन्दा बढी विचलन पार्टीका अध्यक्ष नेपालमा देखियो।

प्रधानमन्त्रीको दौडदेखि राष्ट्रपतिको चाहना राखेका नेपाल अहिले आफ्नो पार्टीका सांसदलाई सरकारमा सहभागी गराउनमै सीमित भएको देखिन्छ। सत्ता गठबन्धनभित्र नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रको उपेक्षामा परेका उनी आफैँ अस्थिर देखिएका छन्। एमाले अध्यक्ष केपी शर्मा ओलीविरुद्ध विद्रोह गरेर एमाले छाडेका उनलाई अहिले आफ्नै पार्टीविरुद्ध विद्रोह गर्नेहरूको लस्कर रोक्न हम्मे परेको छ।

२०५१ सालमा नेकपा एमालेका तत्कालीन महासचिव मदन भण्डारीको मृत्यु भएपछि २०६४ सालसम्म लगातार १४ वर्ष नेपाल महासचिव बने। सायद उनको त्यो यात्रा अझ लम्बिने थियो। तर, २०६४ सालको पहिलो संविधानसभा चुनावमा एमालेको नमिठो पराजयको नैतिक जिम्मेवारी लिँदै नेपालले पार्टीको नेतृत्वबाट राजीनामा दिए।

उनमा फेरि एक पटक एमालेको बागडोर सम्हाल्ने चाहना थियो। तर, केपी ओलीले उनको त्यो रहरलाई पूरा हुन दिएनन्। २०७१ सालको नवौँ महाधिवेशनमा उनी केपी शर्मा ओलीसँग पराजित भए। योसँगै सधैँजसो नेतृत्व र शक्तिमा रहेका नेपाल पार्टीभित्रै छायामा पर्न थाले । यसबीचमा ओलीसँग भएका कतिपय असन्तुष्टिका विषय पनि सतहमा आए। तर, ओलीका अगाडि नेपाल निरीह देखिए।

नेपालको राजनीतिक यात्रामा नयाँ मोड पनि उनै ओलीका कारण आयो। पार्टीका सबै तहका नेतालाई पेलेरै ५ पुस, २०७७ सालमा ओलीले प्रतिनिधिसभा विघटन गरे। नेपाल त्यसको विरोधमा खुलेरै लागे र ओलीविरुद्धको आन्दोलनमा माओवादीलाई साथ दिँदै प्रचण्डपथमा लम्किए। पछि ९ भदौ, २०७८ मा एमालेका अर्का नेता झलनाथ खनाललाई साथमा लिएर नेकपा एकीकृत समाजवादी गठन गरे।

नेपालको राजनीतिक यात्रामा देखिएको अस्थिरता पनि यहीँबाटै सुरु भएको देखिन्छ। नेकपा एमालेको जग खडा गर्ने नेताका रूपमा हेरिने उनी अहिले त्यही एमालेको विपक्षमा छन्। उनको अस्थिरता यहाँसम्म पुगेको छ कि, माओवादीकै साथ लिएर एमालेबाट विद्रोह गरेका उनी अहिले त्यही माओवादीसँग रुष्ट देखिन्छन्। २०६४ सालको पहिलो संविधानसभा निर्वाचनमा माओवादीसँग रौतहट–६ र काठमाडौँ–२ बाट हार बेहोरेका नेपाललाई यस पटकको आमनिर्वाचनमा त्यही माओवादीको साथले जित दिलायो ।

२०६४ सालमा पनि माओवादीकै समर्थनमा राजनीतिक शक्ति–सन्तुलन मिलाउन भन्दै नेपाललाई एमालेले समानुपातिक सांसद मनोनीत गरेको थियो। त्यसकै जगमा उनी २०६६ मा प्रधानमन्त्री पनि बने। हुन त राजनीतिमा यस्ता घटनालाई स्वाभाविक रूपमै हेरिन्छ। तर, देशको एउटा सफल र बलियो पार्टी खडा गर्न अहम् भूमिका निर्वाह गरेका व्यक्ति नै हात फैलाउने अवस्था आउनुलाई राजनीतिमा देखिने विरलै घटना मान्न सकिन्छ।

उनको अस्थिरतामा उनी आफैँ जिम्मेवार रहेको कतिपय राजनीतिक विश्लेषक बताउँछन्। राजनीतिमा उनी अस्थिर देखिनुमा आफू र आफ्नो पार्टीलाई सुदृढीकरणभन्दा पनि एमालेलाई धक्का दिनमा बढी सक्रिय भएको ठहर विश्लेषकहरूको छ। एमालेसँग प्रतिशोधपूर्ण राजनीति गर्नु नेपालका लागि अभिशाप सावित भएको विश्लेषक ज्ञानबहादुर बस्नेत बताउँछन्।

उनी भन्छन्, ‘राजनीति आफ्नो पार्टीका लागि गर्ने हो। अरूलाई सिध्याउँछु भन्दै हिँड्ने हो भने आफैँ सकिएको पत्तो पाइँदैन। अहिले माधव नेपाल त्यही पथमा छन्।’ गत असार ११ मा उनले ‘आफूहरूले नेकपा एमालेबाट विद्रोह गरेर देशलाई अस्थिर राजनीतिक अवस्थाबाट बचाएको’ भन्ने अभिव्यक्ति दिएका थिए । तर, उनको पार्टी र उनी आफैँ अहिले अस्थिर देखिन्छन्।

पहिलो फ्याक्टर : पार्टीमा देखिएको गन्जागोल

गत पुसमा नेकपा एसभित्र ‘राम्रै’ हलचल देखिएको थियो । त्यसको परिणाम चैतमा देखियो । पार्टीका उपाध्यक्ष मुकुन्द न्यौपानेले गठनको १ वर्षमै पार्टी परित्याग गर्दै एमालेमै फर्किए। नेकपा एसलाई पिँध नभएको बाल्टीसँग तुलना गर्दै उनले पार्टीभित्र सांसदका लागि झगडा गर्ने, सांसद पाउनासाथ मन्त्री पाउन लफडा गर्ने, जति खाए पनि नअघाउने, जति भरे पनि नभरिने मानिस मात्रै पार्टीमा रहेको आरोप लगाउँदै नेकपा एस छाडेका थिए।

२६ कात्तिक, २०७८ मा पार्टीको स्थायी कमिटी बैठकमा बोल्दै नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले ‘एमाले छाड्नेको सिलसिला चलेको र एमाले छाडेर आफ्नो पार्टीमा प्रवेश गर्नेको संख्या दिनप्रतिदिन बढेको’ भन्दै अभिव्यक्ति दिएका थिए। तर, उनको भनाइ कार्यकर्तालाई हौसला दिनमा मात्र सीमित देखियो। पार्टी गठनको केही महिनामै नेकपा एस छाडेर एमाले प्रवेश गर्नेको लर्को नै लाग्यो।

एमालेबाट विद्रोह गरेर नेकपा एस गठन गर्नुको कुनै उद्देश्य र औचित्य पुष्टि हुन नसकेको पार्टी छाड्नेहरूले बताइरहेका छन्। पार्टीलाई मिलाएर जान नसक्नु र आफ्नो अस्तित्वको रक्षाभन्दा पनि एमालेप्रति बढी ‘विषवमन’ गर्नुले अध्यक्ष नेपाललाई अस्थिरतातर्फ धकेलेको देखिन्छ।

दोस्रो फ्याक्टर : गठबन्धनमा अडान लिन नसक्नु

नेपाल अस्थिर देखिनुमा दोस्रो कारण गठबन्धन पनि हो। ओलीविरुद्ध विद्रोह गर्दा कांग्रेस–माओवादीको फेर समातेका उनी अहिले पनि त्यही गठबन्धनमै छन् । तर, आफ्नो स्पष्ट भूमिका के हो भन्नेमा उनी आफैँ अस्पष्ट देखिन्छन्।

माओवादीले तत्कालीन गठबन्धन तोड्दै एमालेसँग सहकार्य गर्दा नेपाल आफैँले प्रचण्डलाई अस्थिर र अवसरवादी भनेका थिए। तर, तिनै प्रचण्डले पुरानै गठबन्धन ब्युताउँदा नेपाल फेरि सत्ताको चास्नीमा डुबुल्की मार्न आइपुगे। प्रधानमन्त्री पाउँछु भन्ने आस गरेका उनी राष्ट्रपति पो भइहाल्छु कि ! भन्दै केही समय त्यसको लबिइङमा पनि लागे। तर, ‘हात लाग्यो शून्य’ अवस्थामा पुगेका उनी मन्त्रीका लागि दौडधूपमा लागे। ५ मन्त्रालय माग्दै गठबन्धन आबद्ध दलहरूसँग बारम्बार छलफल गरेका उनी २ मन्त्री र १ राज्यमन्त्रीमै थन्किए।

हुन त उनले पार्टीका लागि उपराष्ट्रपति पनि मागेका थिए । तर, उनको मागलाई कसैले सुनुवाइ गरेन । राष्ट्रिय दलको मान्यता पनि नपाउनु र हरेक प्रदेशमा कमजोर उपस्थितिले पनि माधव नेपालको बोलीलाई गठबन्धनमा खासै महत्व नदिएको बुझिन्छ। साथै, आफ्नो अडानमा कायम रहन नसक्नुले पनि गठबन्धनमा नेकपा एसको कमजोर उपस्थिति देखिएको पार्टीकै केही नेता बताउँछन् ।

अहिले उनी फेरि नेकपा ब्युँताउने अभियानमा देखिन्छन्। शनिबार भक्तपुरमा पार्टीको पहिलो जिल्ला अधिवेशनमा नेपालले सबै मिलेर अघि बढ्ने हो भने नेकपा ब्युँताउन आफू तयार रहेको अभिव्यक्ति दिए। प्रधानमन्त्री एवं माओवादी अध्यक्ष ‘प्रचण्ड’ र एमाले अध्यक्ष ओली तयार भए नेकपा ब्युँताउन आफू पनि तयार रहेको उनले बताएका थिए।

एमालेसँग सहकार्य हुँदैन र गरिँदैन भन्ने गरेका नेपालका लागि अहिले फेरि किन चाहियो नेकपा ? भन्ने प्रश्न तेर्सिएको छ । खिइँदै गरेको आफ्नो पार्टीको रक्षा गर्न र गठबन्धन बनाउन सक्रिय भूमिका खेले पनि त्यही गठबन्धनमा आफैँ कमजोर हुनुले पनि नेकपा ब्युँताउने बहस छेडेको हुन सक्ने विश्लेषक बस्नेतको ठम्याइ छ।

प्रतिक्रिया दिनुहोस्