मधेशका मुख्यमन्त्रीले दोस्रो पटक पाए सिङ्गो सदनको विश्वास



काठमाडौँ । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले दोस्रो पटक विश्वासको मत लिएका छन् । मुख्यमन्त्री सरोजकुमार यादवले दोस्रो पटक विश्वास लिएकोमा पुरै सदनकै विश्वासको मत पाएका हुन् ।

नेकपा एमालेले जेठ १ गते समर्थन फिर्ता लिएपछि आज ३० औँ दिन आकस्मिक रूपमा यादवले विश्वासको मत लिएका हुन् । यादवलाई प्रमुख प्रतिपक्ष दल नेकपा एमाले र अन्य स्वतन्त्र सांसदहरूले पनि विश्वासको मत दिएका हुन् ।

१०७ सदस्यीय प्रदेश सभामा उनको विश्वासको मतको पक्षमा मतदानमा भाग लिएका सबैको १०३ मत परेको छ ।  बैठकमा १०५ जना उपस्थित रहेकोमा सभामुख र उपसभामुखले मत हालेनन् ।

यसअघि पहिलो पटक मुख्यमन्त्री यादवले माघ ४ गते प्रदेशसभामा सिङ्गो मत पाएका थिए । पुस २७ गते मधेश प्रदेश सभाको ठुलो दल नेकपा एमाले सहितका दलको समर्थनमा जसपा संसदीय दलका नेता यादव मुख्यमन्त्री नियुक्त भएका थिए ।

केन्द्र सरकारको समीकरण फेरिएसँग मधेशमा एमालेले १ जेठमा सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो । सरकारलाई दिएको समर्थन कुनै दलले फिर्ता लिएमा पुनः ३० दिन प्रदेश सभाबाट विश्वासको मत लिनुपर्ने कानुनी व्यवस्था छ ।

आज मुख्यमन्त्री सरोज यादवले प्रदेश सभाको आकस्मिक रूपमा विश्वासको मत लिने बिहान मात्र निर्णय गरेका थिए । जसको लागि प्रदेशसभा सचिवालयले बिहान ११ बजे प्रदेश सांसदहरूलाई उपस्थितिका लागि साँझ ५ बजे विशेष बैठक भनेर एसएमएस मार्फत जानकारी पठाएको थियो ।

प्रदेश सभामा एमालेका २३, काँग्रेस २२, जसपा १८, जनमत १३, लोकतान्त्रिक समाजवादी पार्टी लोसपा र माओवादी केन्द्रका ९-९, एकीकृत समाजवादीका सात सांसद छन् भने नेपाल सङ्घीय समाजवादी पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी र नागरिक उन्मुक्ति पार्टीका एक एक जना सांसद छन् । यस्तै ३ जना स्वतन्त्र सांसद रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्