रोग बोकेर चलाइँदै छ दल र देश !



काठमाडौँ । सोमबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्वास्थ्य परीक्षणका लागि नर्भिक इन्टरनेसनल हस्पिटल पुगे । पत्नी सीता दाहालसहित अस्पताल पुगेका उनले आफ्नो पनि स्वास्थ्य परीक्षण गराए ।

अस्पतालका अनुसार सम्पूर्ण स्वास्थ्य परीक्षण (होलबडी चेकअप) का क्रममा प्रधानमन्त्रीमा उच्च रक्तचाप र मधुमेहको समस्या भने देखियो । चिकित्सककोे सल्लाहअनुसार उनी नियमित औषधि सेवन गरिरहेका छन् ।

संयोग, कार्यकारी प्रमुख स्वास्थ्य परीक्षण गर्न अस्पताल पुगेकै भोलिपल्ट अर्थात् मंगलबार राष्ट्र प्रमुख रामचन्द्र पौडेल मुटुको समस्याका कारण गंगालाल हृदयरोग केन्द्रमा भर्ना भए ।

उता, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पनि १ साताका लागि सिंगापुर गएका छन् । उनी पनि स्वास्थ्य समस्याकै कारण सिंगापुर गएका हुन् । नियमित स्वास्थ्य परीक्षणका लागि देउवा सिंगापुर गएको उनको निजी सचिवालयले जनाएको छ ।

१२ साउन, २०७४ सालमा तत्कालीन प्रधानमन्त्री देउवाले नेपालकै जेठो वीर अस्पतालको १२८औँ वर्षिकोत्सव समारोहमा ‘अब स्वास्थ्य उपचारका लागि विदेश जानु नपर्ने’ भन्दै भाषण गरेका थिए । तर, त्यसको २ वर्षपछि उनी पेटको उपचार गर्न भन्दै सिंगापुर हानिए ।
अधिकांश नेतृत्व तहमा रहेका नेताहरू कुनै न कुनै रोगबाट ग्रसित छन् । कसैलाई मुटुको समस्या छ भने कसैलाई मधुमेह र उच्च रक्तचापकोसमस्या छ । पूर्वप्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई पनि मुटु र फोक्सोसम्बन्धी समस्या छ ।

त्यस्तै, पूर्वप्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल पनि रोगी छन् । उनी राति आँखा देख्दैनन् । रतन्धोको समस्या भएका उनी अँध्यारो भएपछि सहयोगीबिना हिँडडुल पनि गर्न सक्दैनन् । खनाललाई मुटुको पनि समस्या छ । उच्च रक्तचापका कारण कहिलेकाहीँ मुटुमा समस्या देखिन थालेपछि उनी नियमित परीक्षण गराउँछन् । साथै, उनमा मिर्गौला र प्रोस्टेटको पनि समस्या छ ।

लोकतान्त्रिक समाजवादी पार्टीका नेता राजेन्द्र महतो र महन्थ ठाकुर पनि बिरामी नेतामै गनिन्छन् । राजेन्द्र महतो उच्च रक्तचाप र मधुमेहका बिरामी हुन् भने ठाकुर मुटु रोगबाट ग्रसित छन् । ठाकुरले त मुटुमा पेसमेकर नै राखेका छन् । साथै, उनलाई उच्च रक्तचाप र मधुमेह पनि छ ।

बिरामी परिरहन्छन् पौडेल

१८ चैतमा पेटमा समस्या देखिएपछि त्रिवि शिक्षण अस्पताल महाराजगन्ज भर्ना भएका पौडेल त्यसको ४ दिनपछि अर्थात् २२ चैतमा डिस्चार्ज भएका थिए । त्यसपछि ४ वैशाखमा पौडेल त्रिवि शिक्षण अस्पतालमै पुनः स्वास्थ्य परीक्षण गराउन गएका थिए । त्यस समयमा उनको अल्ट्रासाउन्ड गरिएको थियो ।

तर, त्यसको १ दिनपछि अर्थात् ५ वैशाखमा छातीमा समस्या देखिएपछि पौडेललाई पुनः शिक्षण अस्पताल पु¥याइयो । पौडेलको छातीमा समस्या भएपछि त्रिवि शिक्षण अस्पतालमा उपचारका लागि भर्ना गरिएको थियो । तर, छातीमा संक्रमण देखिएपछि नेपालका चिकित्सक र परिवारको सुझावमा उनलाई थप उपचारका लागि ६ वैैशाखमा भारत लगियो ।

श्री एयरको एयर एम्बुलेन्समार्फत् नयाँ दिल्ली पुगेका पौडेललाई त्यहाँस्थित अल इन्डिया इन्स्टिच्युट अफ मेडिकल साइसेन्स (एम्स) मा भर्ना गरिएको थियो । १२ दिनको उपचारपछि १७ वैशाखमा पौडेल स्वदेश फर्किएका थिए । पौडेल लामो समयदेखि सुगर, प्रोस्टेट, ढाड र युरिक एसिडको समस्यामा छन् ।

देउवाको बल्झिरहने पेटको समस्या

कांग्रैस सभापति देउवा केही वर्षअघिदेखि सिंगापुरको अस्पतालमा नियमित उपचार गराउँदै आएका छन् । पेटसम्बन्धी समस्याका कारण स्वास्थ्य जटिलता भोगिरहेका देउवाले लामो समयदेखि सिंगापुरमा उपचार गर्दै आएका हुन् ।

यसअघि २०७६ जेठमा स्वास्थ्य उपचारका लागि देउवा सिंगापुर गएका थिए । देउवाले सिंगापुरको माउन्ट एलिजाबेथ अस्पतालमा पेटको जाँच गराएका थिए ।

देउवाले २०७० देखि नै सिंगापुरको माउन्ट एलिजाबेथ अस्पतालमा उपचार गराउँदै आएका छन् । २०७३ सालमा देउवा स्वास्थ्य जाँचकै लागि पत्नी आरजु राणासहित सिंगापुर पुगेका थिए । त्यसपछि २०७५ सालमा पनि देउवा उपचारका लागि सिंगापुर गएका थिए । त्यतिबेला उनमा देखिएको आँखा र पेटको समस्याको उपचार गरिएको थियो ।

पेट र उच्च रक्तचापको समस्याबाट देउवा लामो समयदेखि पीडित छन् । पेटको समस्याकै कारण उनले धुम्रपान छोडेका थिए । पटक–पटक विदेशमा गएर उपचार गराउँदा पनि देउवाले अहिलेसम्म सरकारबाट कुनै सहयोग मागेका छैनन् । उनको हरेक पटकको उपचार खर्च उनी आफैँ बेहोर्छन् ।

४ वटा मिर्गौला बोकेका ओली

पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली मिर्गौला पीडित हुन् । ओलीले करिब १६ वर्षपहिले र २०७६ सालमा गरी २ पटक मिर्गौला प्रत्यारोपण गरिसकेका छन् । पहिलो पटक भारतको एपोलो अस्पतालमा मिर्गौला प्रत्यारोपण गरेका ओलीले उक्त मिर्गौलाले काम गर्न छाडेपछि २१ फागुन, २०७६ सालमा दोस्रो पटक नेपालमै प्रत्यारोपण गराएका थिए ।

ओलीले महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा दोस्रो पटक मिर्गौला प्रत्यारोपण गराएका थिए । उनलाई पहिलो पटक बुहारी अञ्जना घिमिरे र दोस्रो पटक भान्जी समीक्षा संग्रौलाले मिर्गौला दिएका थिए ।

तर, १८ देखि २७ साउनसम्म उनी मिर्गौलाकै परीक्षण गर्न सिंगापुर पुगेका थिए । सिंगापुरको न्यासनल युनिभर्सिटी अस्पतालमा परीक्षण गराएर ओली नेपाल फर्किएका थिए । त्यसको १ सातापछि नै ५ भदौमा फेरि उपचारका लागि भन्दै सिंगापुर गएका थिए । त्यस समयमा उनको मिर्गौलाको थप परीक्षण र क्षमता अभिवृद्धिका लागि उपचार गरिएको थियो ।

त्यस समयमा ओली प्रधानमन्त्री रहे पनि उनको उपचार खर्च सरकारबाट नबेहोरिने र निजी खर्चमै सबै उपचार गरिने कुरा उनको सचिवालयले जनाएको थियो ।

पूर्वराष्ट्रपति यादवलाई प्रोस्टेट क्यान्सर

पूर्वराष्ट्रपति डा. रामवरण यादव प्रोस्टेट क्यान्सरका बिरामी हुन् । २०७३ साल भदौमा भारतको चण्डीगढस्थित नेहरु चिकित्सालय पोस्ट ग्राजुएट इन्टिच्युट अफ मेडिकल एजुकेसन एन्ड रिसर्च सेन्टरमा गरिएको परीक्षणमा उनलाई प्रोटेस्ट क्यान्सर देखिएको थियो ।

त्यसपछि १ असोजमा उनी उपचारका लागि अमेरिका गएका थिए । त्यसको उपचार नेपालमा सम्भव नभएको भन्दै उनलाई अमेरिका जान चिकित्सकहरूले सुझाव दिएका थिए । अमेरिकास्थित हेनरी फोर्ड अस्पतालमा १० असोजमा यादवको ट्युमरको शल्यक्रिया भएको थियो ।

राष्ट्रिय ढुकुटीबाट विदेशमा उपचार 

पूर्वराष्ट्रपति रामवरण यादवको त्यस समयमा भएको सम्पूर्ण उपचार खर्च नेपाल सरकारले नै बेहोरेको थियो । स्वस्थ्य उपचारका लागि सरकारबाट सबैभन्दा बढी रकम पाउने उच्च पदस्थ व्यक्तिमा पनि उनै पर्छन् । उनको उपचारमा पटक–पटक गरी ३ करोड रुपैयाँभन्दा बढी रकम खर्च भइसकेको छ ।

यादवलाई २०७३ असोजमा अमेरिकामा प्रोस्टेट क्यान्सरका लागि लागेको सबै उपचार खर्च सरकारले बेहोरेको थियो । जसमा ३ करोड रुपैयाँ लागेको थियो । त्यस्तै, २०७६ सालमा यादवको उपचारकै शीर्षकमा दिल्ली दूतावासलाई पनि ६० लाख रुपैयाँ दिइएको थियो । उनको प्रोस्टेट क्यान्सरको उपचारकै लागि २०७९ सालमा थप २५ लाख रुपैयाँ उपलब्ध गराइएको थियो ।

उपचारकै लागि एमालेका अध्यक्ष ओलीले पनि करिब २ करोड रुपैयाँ बुझिसकेका छन् । पूर्वउपराष्ट्रपति परमानन्द झालाई पनि उनको पत्नीको उपचारका लागि भन्दै सरकारले ९ लाख रुपैयाँ उपलब्ध गराएको थियो ।

त्यस्तै, २०७३ सालमा नेपाली कांग्रेसकी नेतृ तथा पूर्वपरराष्ट्रमन्त्री सुजाता कोइरालालाई सरकारले स्तन क्यान्सर उपचार गर्न भन्दै ५० लाख रुपैयाँ दिएको थियो ।

प्रतिक्रिया दिनुहोस्