कायरका बीच बहादुरको चर्चा



काठमाडौं । जुडो खेलाडी पूनम श्रेष्ठले एसियन जुडो च्याम्पियनसिपमा पदक जितेपछि अस्ट्रेलियामा रहेका जुडो खेलाडी मोहन बमले फेसबुक स्टाटसमार्फत् तितो प्रतिक्रिया र केही यथार्थ व्यक्त गरे। पछिल्लो समय उत्कृष्ट प्रदर्शनका बाबजुद ञलाई बारम्बार संघले पक्षपात गरेको आरोप मोहनको छ।

ओलम्पिक स्कलरसिप प्रोग्राम नेपालले पाउने सबै भन्दा महत्वपूर्ण अवसर हो। सो अवसरमा यत्ति धेरै भेदभाव हुने गरेको छकी सम्भावना, वरीयता र पछिल्लो प्रतियोगितामा गरेको कुनै प्रदर्शन यसका आधार नै बन्ने गरेका छैनन्। मनलागी र मनपरीकै आधारमा भएको धेरै उदाहरण छन्। भलै, तेक्वान्दोका मुख्य प्रशिक्षक नवीन कुमार श्रेष्ठ र जुडो खेलाडी मोहन बम लगायतले यसका बारेमा बारम्बार आवाज उठाएका किन नहोउन्।

स्मरणीय छ, काठमाडौंमा भएको १३ औ दक्षिण एसियाली खेलकुदमा पनि संघले वर्गीकरण गर्दै जुडो खेलाडीलाई जापान र मलेसियामा प्रशिक्षणमा लागि पठाएको थियो । सबै भन्दा धेरै सम्भावना भएका खेलाडी भन्दै केहीलाई जापान प्रशिक्षणका लागि पठाइए पनि पूनम मलेसियामा गएर प्रशिक्षण गरेकी थिइन् । त्यसका बाबजुद पूनमले साग खेलमा स्वर्ण पदक जितेकी थिइन्।

पछिल्लो साता नेपालमा २ प्रमुख यादगार घटना भए। धरानका मेयर हर्क साम्पाङले जनप्रतिनिधि कस्तो हुनु पर्छ भनेर पुष्टि गरे। यसका बारे सबैलाई जानकारी नै छ। यसै साता पूनमले एउटा खेलाडीको धैर्यता र लगातारको संघर्षको प्रतिफल कस्तो हुनु पर्छ भनेर प्रमाणित गरिन्। अझ धेरैलाई त यो पनि थाहा छैन की पूनम कुन विषम परिस्थितिका बिच यस खेलमा टिकेकी छिन्, भन्ने कुरा।

भोट बहालमा एउटा सामान्य परिवारका बिच रहेकी पूनमलाई यहाँसम्म पुर्‍याउन उनकी आमाले गरेको योगदान र मेहनतको त सायद जत्ति प्रशंसा गरे पनि कम नै हुन्छ। पूनमको यो सफलतासँगै कठोर संघर्षका बिच आफ्नै छोरीलाई स्टार बनाएर छाड्ने ती महिलाको त्याग र मेहनत प्रति सिंगो खेलकुद होइन, सिंगो देशले नै एक पटक स्यालुट गर्नै पर्छ।

सन् २०२४ को पेरिस ओलम्पिकका लागि जुडो ८ वटा छनोट खेलका श्रृंखला हुने छन्। यी सबैमा खेल्ने अवसर पाए सबै भन्दा बढी सम्भावना भएको खेलाडी पूनम नै भएको बारम्बार पुष्टि भएको छ। सायद जुडो संघ यसलाई स्वीकार गर्छ या गर्दैन भन्ने कुरा पछिको कुरा हो। हुन सक्छ पूनमको यो सफलता केही दिन पछि नै चायाँमा पर्न सक्छ।

उनी समाचारको भाषामा आफै टाइप गरेर सञ्चार माध्यममा पठाउन पनि जान्दिनन् । उनी ‘कर्टसी मेन्टन’को नाममा यो देशको शक्ति केन्द्र होस या कुनै सञ्चारकर्मीको चाकडी गर्न पनि जान्दिनन्। उनी कर्पोरेट हाउससँग समन्वय गर्दै चलखेल गर्न पनि जान्दिनन्। यस कारण उनले पाएको सफलताको स्थान यो समाजमा कुन स्थानमा राखिने छ, त्यो त हेर्नै पर्ने हुन्छ।

उनका अनुकूलका केही विषय पक्कै छन् । चन्द्र डंगोल जस्तो सामान्य व्यक्ति प्रति सद्भाव राख्ने प्रशिक्षक पनि त्यस खेलमा छन् । राजेश कर्माचार्य र मोहन बम जस्ता विदेशमै रहेर पनि सत्यको पक्षमा बारम्बार आवाज उठाउने व्यक्ति पनि जुडो खेलमा आबद्ध छन्। राजेश र मोहन जस्तो आक्रामक नहोलान्, तथापि डिप्लोम्याटिक शैलीले समन्वयकारी भूमिका निर्वाह गर्ने महासचिव पनि जुडो संघले पाएको छ।

यी सबैको कारण हो की पक्षपातका बाबजुद उनका लागि सफलताका केही आधारहरू तयार भएका छन्। धेरै खेल संघ त यस्ता छन्, जहाँ की आपराधिक मनोबृत्तीका शासक छन्, कि सत्य बोल्न नसक्ने कायरहरूको जमात छ। त्यस खेलमा त पूनमले जस्तो सत्ताको बे वास्ताको बिच सफलता पाउनु साँच्चै कठिन हो।

पूनम विदेशी भूमिमा रहेर त्यहाँ प्रतिस्पर्धा गर्न नसकेर नेपाल आएकी धनाढ्यकी छोरी पनि होइनन्। कुनै काजी खानदानकी छोरी पनि होइनन्। काठमाडौँको महलवासी पनि होइनन् । यस कारण समाजका धेरैका लागि उनको यो सफलता अपाच्य हुन पनि सक्छ।

पूनम श्रेष्ठ गाउँमा घार दाउरा गरेर हुर्केकी साँचो नेपाली चेलीकी प्रतिनिधि हुन्। यस कारण उनको सफलता केही वरिष्ठ ठान्नेहरूलाई छाडेर आम नेपालीको सफलता पनि हो।

पछिल्ला साता खेलकुदकै सकारात्मक पाटा अन्य पनि हुन सक्छन्। सातदोबाटोमा सुटिङ रेन्जमा राष्ट्रिय टोलीको प्रशिक्षण जारी छ। लामो समय प्रशिक्षण नभए पछि राष्ट्रिय टोलीका हरि थापाले यसका विरुद्धमा जोडदार आवाज उठाएका थिए। आफू खेलाडी जीवनको अन्त्य तीर आइ पुगेका थापा आगामी पुस्ताका लागि अहिले भएको विकृतिको विरुद्धको आवाज उठाउन आवश्यक ठानेका हुन्।

सत्यको पक्षमा आवाज उठाउने अन्य पनि नभएका होइनन्। नेपाल तेक्वान्दो संघले गत वर्ष वीर बहादुर महरालाई संघले ओलम्पिक स्कलरसिप कार्यक्रम अन्तरगतको रकम नदिएकोमा पहिलो पटक आवाज उठाएका थिए। ओलम्पिक वरियतालाई बे वास्ता गर्दै ओलम्पिक स्कलरसिप कार्यक्रमका लागि सिफारिस गरिएकोमा पनि श्रेष्ठले नै आवाज उठाएका थिए।

नेपाली खेलकुदमा मोहन, हरि र नवीन केही उदाहरण हुन् । जसका कारण त्यसका विकृति त बाहिर आउने गरेका छन्। धेरै खेलमा भएका अन्याय र अत्याचारको लामो श्रृंखला त बाहिर आउन नै सकेका छैनन्।

अन्याय र अत्याचार गर्नेको कुत्सीत मनसायको कुरा छाडौँ। अन्यलाई साँचो बोल्न के कुराले रोकेको ? थुप्रै खेलमा भएका यी सबै अन्याय र अत्याचारका विरुद्धमा देखेरै नबोल्ने कायरहरूको जमातलाई नै अहिले चरम विकृतिको कारक मान्ने की नमान्ने।

खेलकुदको मूल मर्म समानता हो। समानताको आवाज खेलकुदको एरेनामा कहिल्यै मर्दैन र मर्नु हुँदैन। त्यसरी थिचिने नै थियो भने युरो कप फुटबलसम्म आइपुग्दा ‘नि डाउन ’ गर्नेको पक्षमा संसार हुँदैन थियो। अल्पसंख्यक यौनिक पहिचान भएकाहरूले प्याजी क्याप लगाउँदै विश्वकप हेर्न पाउने अधिकारको पक्षमा संसारका खेलकर्मीले आवाज बुलन्द पार्ने थिएनन्।

२०१८ को विश्वकपमा कमजोर प्रदर्शन भए पछि जर्मनीमा टर्की आप्रवासी मेसुट ओजील माथि भेदभाव जन्य व्यवहार भएको थियो । ‘ हाम्रो टिमले जित्दा म जर्मन हार्दा टर्कीस कसरी भएँ ?’ ओजिलको त्यसै प्रश्नमा संसारमा धेरै फुटबल समर्थकले एकबद्धता जनाएका थिए। तर, नेपालमा झापामा चन्द्र कला लामगादे माथि जातीय दुर्व्यवहारको घटना हुन्छ , खेल जगत मौन हुन्छ।

गोपीचन्द्र पार्कीको भावना माथि चरम खेलबाड हुन्छ, त्यसमा पनि खेल क्षेत्र मौन रहन्छ । आवाज सामान्य उठ्यो होला तर त्यस गम्भीर विषयमा पनि उठेका आवाज मलिन भएको साँचो हो। अहिले विकृति नभएका होइनन्। विकृति र भेदभाव जातको आधारमा भएको होला । भूगोलको आधारमा भएको होला । वर्गको आधारमा भएको होला।

अझै सबै भन्दा बढी दास मनोबृत्तीमा राख्न नसकेका कारण भएको होला । व्यक्तिगत निकटताको आधारमा भएको होला । यी यावत भेदभाव जन्य घटनाका श्रृंखला नै नेपाली खेलकुदमा दशकौँ देखि चली रहँदा दुनियाँ किन मौन ? कि नेपालमा खेलकर्मीले स्विकारी सकेको हो की ‘ उपभोक्तावादमा अडिग यो समाजमा हाम्रो लागि मानवीय संवेदना र भावना भन्ने कुरा नै छैन। फाइदा र घाटाका गणित बाँकी छन्। सानो फाइदाका लागि हामी दास बन्न तयार छौ। ’

एक पटक होइन हजार पटक भन्नै पर्ने सत्य के हो भने नेपाली खेलकुद अन्याय, अत्याचार र विभेदको केन्द्र हो । त्यो विभेदकारी शक्तिको केन्द्र केही राजनीतिक आडमा अडेका, सिप विना सम्पन्न भएका र उपभोक्तावादको नाममा सम्पत्ति जोडेका व्यक्तिको सेरोफेरोमै अडेको छ। राज्य मौन छ।

राज्य सम्पत्तिको श्रोत खोज्दैन। आम मानिस सम्पत्ति हुनेका अघि यसरी नतमस्तक हुन्छन् की मानौँ उनीहरूलाई आफ्नै पुर्खालाई उनीहरूको पुर्खाले कानुनी प्रक्रिया पुरा गरेर लुटेको किन नहोस् र त्यसै सम्पत्तिको आडमा दास बनाउन नसकेको झोँकमा अन्याय भएको किन नहोस्।

अन्त्यमा यी यावत विकृतिका बिच केही भाग्यमानी नेपालीको चर्चा गर्नै पर्छ, एउटा धरान बासी जसले जीव विज्ञानको परिभाषा अनुसार मात्र होइन, सम्पूर्ण रूपमा मान्छेलाई नै आफ्नो नेताको रूपमा पाए। अनि पूनम श्रेष्ठ जसले एक संघर्षशील महिलाको छाँयामा हुर्कन पाइन्। स्यालुट हर्क साम्पाङ र पूनमकी आमालाई। जो बहादुरीको नमुना पनि हुन्।

प्रतिक्रिया दिनुहोस्