बजेट पुस्तिका सच्याएर प्रदेशको नाम राख्न  सरकारलाई सभामुखको निर्देशन



काठमाडौँ । सभामुख देवराज घिमिरेले मन्त्रालगत कार्यक्रम समावेश भएको पुस्तिकाहरूमा प्रदेशको नाम राख्न सरकारलाई निर्देशन दिएका छन् ।

शहरी विकास मन्त्रालयबाट वार्षिक रूपमा सम्पादन हुने कार्यक्रम समावेश गरिएको पुस्तिकामा लुम्बिनी प्रदेशको नाम समावेश नभएपछि नेकपा एमालेले नियमापत्ति गरेकोमा सभामुखले निर्देशन दिएका हुन् । शहरी विकासमन्त्री सीता गुरुङले यदि त्रुटि भएको रहेछ भने सच्याउने बताइन् । सभामुखले सरकारको प्रतिबद्धता आइसकेकाले छलफल अघि बढाउने बताए ।

एमाले सांसद छविलाल विश्वकर्माले प्रदेशसभाले राखिसकेको नाम बजेट पुस्तिकामा नराख्नु संविधान विपरीत हुने बताएका छन् । काँग्रेस प्रमुख सचेतक रमेश लेखकले प्रदेशको नाम छुटाउनु सरकारको गल्ती भएको बताए ।

दलका प्रतिनिधिहरूसँग छलफल गरेपछि पुनः सुरु भएको संसद् बैठकमा सभामुख घिमिरेले मन्त्रालयगत कार्यक्रम समावेश पुस्तिकामा प्रदेश सभाबाट पारित प्रदेशको नाम छुटेको भए तत्काल सच्याउन निर्देशन दिए ।

प्रतिक्रिया दिनुहोस्