‘पोखरा अन्तर्राष्ट्रिय विमानस्थल नियमित सञ्चालनका लागि सम्बन्धित सबै पक्षको जागरूकता आवश्यक ‘



काठमाडौँ । राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल नियमित सञ्चालनका लागि सबैको जागरूकताको आवश्यकता रहेको बताएका छन् । बुधवार पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो अन्तर्राष्ट्रिय चार्टड उडान अवतरण गरिसकेपछि आयोजित एक कार्यक्रममा बोल्दै विमानस्थल नियमित सञ्चालनको लागि सम्बन्धित सबै पक्षले जागरूकता देखाउनु पर्ने बताएका हुन् ।

उडान नियमित रूपमा गर्न सके मात्रै पर्यटन प्रवर्द्धन हुने उनको भनाइ छ । उनले आजको खुसीयालीलाई नियमित रूपमा कायम राख्न पोखरा महानगर, पर्यटन व्यवसायी, केन्द्रीय सरकार, प्रदेश सरकार र मित्र राष्ट्रहरूले साझा प्रयत्न गर्न आवश्यक  रहेको बताए ।

उनले पर्यटनसँग सम्बन्धित संस्था र कर्मचारीहरूले कान ढालेर बसेमा विमानस्थल सञ्चालन हुन नसक्ने बताए । उनले भने, ‘अब धेरै तयारी गरेर यो उडानलाई नियमित गर्नु छ । आज उद्घाटन भएको ६ महिनापछि एउटा अन्तर्राष्ट्रिय उडान आउने चार्टड गरेर अर्को ६ महिनामा अर्को चार्टड उडान आउने भयो भने केही अर्थ हुँदैन । आजको खुसीयाली धेरै टिक्दैन । यो खुसीयालीलाई सधैँ कायम राख्नका लागि सबै पक्षले पोखरा महानगर, पर्यटन व्यवसायी, केन्द्रीय सरकार, प्रदेश सरकार र मित्र राष्ट्रहरूले सबैले पर्यटन क्षेत्रसँग सम्बन्धित अधिकारीहरूले सबैले साझा प्रयत्न गरौँ । कान ढालेर बसेर हुँदैन ।’

उनले भारतसँग जमिनको खुला सिमाना भएजस्तै आकाशमा पनि खुला सिमाना बनाउने तर्फ सबैको ध्यान जान आवश्यक रहेको बताए । उनले भने, ‘हामीले चीनबाट, बाहिरबाट विमान ल्याइदिनुस् भनेर मात्रै हुँदैन । पहिलो कुरा जसरी भारतसँग हाम्रो खुला सिमाना छ । खुला सिमानामा आवतजावत गरेका छौँ । आकाश पनि त्यत्तिकै खुला र निर्बाध ढङ्गले आवतजावत भइदियो भने अरू विमानहरू आउने रुटहरू खुला हुन्छ । त्यसतिर हाम्रो ध्यान जानुपर्छ । कुनै पनि देशका कुनै पनि कम्पनीका एयरलाइन्सहरू घाटामा उडिरहँदैनन् । उसलाई नाफा हुनुपर्छ । त्यसका लागि हामीले पर्यटन पूर्वाधार निर्माण गर्नुपर्छ ।’  नेपाल चीन जोड्ने कोरला नाकामा चिनियाँ पक्षले सबै पूर्वाधार निर्माण गरिसके पनि नेपालले भने अहिलेसम्म कुनै चासो नदेखाएको तिमिल्सिनाले बताए ।

प्रतिक्रिया दिनुहोस्