बासी भात दिएको निहुँमा आमाको हत्या



काठमाडौँ । बासी भात खान दिएको निहुँमा सौतेनी आमाको हत्या गरेको आरोपमा एक जना पक्राउ परेका छन् । धनुषाबाट प्रहरीले  सौतेनी आमाको हत्या गरेको आरोपमा एक जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्ने भारत बिहारको बेतिया नरकटियागञ्ज थाना केयुनियाका २० वर्षीया प्रेम भगत रहेका छन् । उनी धनुषाको गणेशमान चारनाथ नगरपालिका-४ शिवनगर पथराईका अशोक जैसवालको घरमा डेरा गरी परिवारसहित बस्दै आएका छन् ।

प्रेमले कान्छी आमा ३९ वर्षीय मीरा देवी भगतको टाउकोमा काठको मुङ्ग्रो बजारेर हत्या गरेका प्रहरीले जनाएको छ । प्रहरीका अनुसार शनिबार दिउँसो बासी भात खाने विषयमा विवाद भएको थियो । आवेशमा प्रेमले काठको मुङ्ग्रो पछाडिबाटै सौतेनी आमाको टाउकोमा प्रहार गरेका थिए ।

मीरादेवीको घटनास्थलमै मृत्यु भएपछि उनले घटनालाई ढाकछोप गर्न शवलाई जलाइदिएको प्रहरीको अनुसन्धानबाट खुलेको छ । पक्राउ परेका  प्रेमले आफ्ना बुवासँगै बसेर राजमिस्त्रीको काम गर्दै आएका थिए ।

‘बासी भात खान्न बरु होटलमा खान्छु’ भनेपछि आमाले बुवाको नाम लिएर तथानाम गाली गरेपछि धक्का दिँदा आमा लडेको र उठेर काठको चिरपटले हान्न खोजेपछि आफूले खोसेर पीठ्यूमा हान्न खोजे पनि टाउकामा लागेको प्रहरीसमक्ष बयानमा स्वीकार गरेका छन् ।
पक्राउ गरेका युवक र जल्न बाँकी कपडासहितका प्रहरीले आज पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ ।

प्रतिक्रिया दिनुहोस्