दर्शक कुट्ने भलिबल खेलाडीलाई ६ महिना राष्ट्रिय र अन्तर्राष्ट्रिय दुवै प्रतियोगितामा प्रतिबन्ध



काठमाडौँ । नेपाल भलिबल सङ्घले खेलका क्रममा दर्शक कुट्ने त्रिभुवन आर्मी क्लबका ३ जना खेलाडीलाई प्रतिबन्ध लगाएको छ । दर्शकमाथि हातपात तथा खेलका क्रममा अनुशासनहीन गतिविधि गरेको भन्दै सङ्घले क्लबका स्पाइकर धनबहादुर भट्टलाई ६ महिना तथा राजेन्द्र विष्ट र धनपती कुँवरलाई ३ महिनाको प्रतिबन्ध लगाएको हो।

भट्टलाई ६ महिना तथा विष्ट र कुँवरलाई ३ महिना राष्ट्रिय र अन्तर्राष्ट्रिय दुवै प्रतियोगितामा प्रतिबन्ध लगाउने निर्णय गरेको छानबिन समितिका संयोजक रोशन श्रेष्ठले जानकारी दिए ।

छानबिनका लागि गठन गरिएको ५ सदस्यीय समितिको सुझावका आधारमा भलिबल सङ्घको कार्यसम्पादन समितिको बैठकले कामकारबाही निर्णय गरेको सङ्घका महासचिवसमेत रहेका श्रेष्ठले जानकारी दिए ।

सातौँ प्रधानमन्त्री कप एनभीए महिला तथा पुरुष भलिबल प्रतियोगिता अन्तर्गत गण्डकी प्रदेशसँगको खेलका क्रममा आर्मीका धनबहादुर भट्टलगायतका खेलाडीले दर्शक कुटेका थिए ।

प्रतिक्रिया दिनुहोस्