कोशीमा काँग्रेस र एमालेलाई मिलेर सरकार बनाउन राप्रपाको सुझाव 



काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले कोशी प्रदेश सरकार गठनका लागि कुनै पनि दललाई सहयोग नगर्ने बताएका छन् । मंगलबार विराटनगर विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै उनले काँग्रेस र एमाले मिलेर सरकार बनाउनुपर्ने बताएका छन् ।

उनले भने, अहिले हामीलाई सत्ता प्राथमिकताको विषय छैन । हामीले काँग्रेस र एमालेलाई बहुमत बनाएर सरकार चलाउन सुझाव दिएका छौँ । लो बहुमतले भोलिका दिनमा बाधा अड्चन आउन दिनेछैन । विधेयक पारित गर्दा पनि सहज हुन्छ ।’

९३ सदस्यीय कोशी प्रदेशसभामा ठुलो दल एमालेको ४०, नेपाली काँग्रेसको २९, नेकपा माओवादी केन्द्रको १३, राप्रपाको ६, एकीकृत समाजवादीको ४ र जनता समाजवादी पार्टीको एक सांसद छन् । माओवादीबाट निर्वाचित प्रदेशसभा सदस्य बाबुराम गौतम सभामुख छन् ।

केन्द्रमा बनेको सत्तारुढ गठबन्धन र विपक्षमा रहेको एमालेले सहज रूपमा बहुमत जुटाउन नसक्दा कोशीमा राजनीतिक अस्थिरता कायम छ । प्रदेश प्रमुख परशुराम खापुङले बहुमतको सरकार गठनका लागि दिएको समय मंगलबार साँझ ५ बजे सकिँदै छ । तर सत्तारुढ गठबन्धनले बहुमत जुटाउन सकेको छैन । अध्यक्ष लिङ्देनले संविधानको धारा १६८ (२) अनुसार सरकार बनाउन आफूहरूको समर्थन नहुने  बताएका हुन् ।

 उनले भने, अहिले सरकार गठनका लागि संविधानको धारा १६८ को उपधारा २ मा घटनाक्रम चलिरहेको, छ । यो श्रृखला सोही धाराको उपधारा ५ सम्म पुग्ला । त्यहाँसम्म पुग्दा दलहरूले आफैँ समाधान निकाल्लान् । त्यससम्म पनि समाधान ननिस्किँदा र हामी नै निर्णायक देखियौँ भने पार्टीको बैठक बसेर निर्णय गर्नेछौँ’  ।

संवैधानिक व्यवस्था अनुसार धारा १६८ (२) अनुसार बहुमतको सरकार बन्न नसकेमा १६८ (३) अनुसार प्रदेशसभाको सबैभन्दा ठुलो दलको संसदीय दलको नेता मुख्यमन्त्री बन्नेछन् । उसले पनि विश्वासको मत लिन नसकेमा १६८ (५)अनुसारको सरकार बन्नेछ ।

प्रतिक्रिया दिनुहोस्