गौर हत्याकाण्ड पीडितहरू काठमाडौँ केन्द्रित आन्दोलन गर्ने 



काठमाडौँ । गौर हत्याकाण्ड पीडित सङ्घर्ष समितिले आन्दोलनलाई काठमाडौँ  केन्द्रित बनाउने चेतावनी दिएका छन् ।  बुधवार बसेको सङ्घर्ष समितिको बैठकले काठमाडौँ केन्द्रित आन्दोलन गर्ने चेतावनी दिएको हो ।

बुधवार साँझ सङ्घर्ष समितिकी संयोजक रुपसागर देवी उपाध्यायले विज्ञप्ति जारी गर्दै राज्य उदासीन रहेको भन्दै आन्दोलनलाई काठमाडौँ केन्द्रित बनाउन बाध्य हुने चेतावनी दिएकी हुन् ।

‘‘सरकारको भूमिकामा सुधार नआए हाम्रो रौतहटमा जारी धर्ना कार्यक्रमलाई सङ्घीय राजधानी काठमाडौँमा केन्द्रित गर्न बाध्य हुने विषय पनि यसै पत्रमार्फत जानकारी गराउन चाहन्छौँ,’ विज्ञप्तिमा उल्लेख छ ।

रौतहटमा जारी आन्दोलनलाई मधेशका थप जिल्लाहरूमा उठान गर्ने निर्णय समेत बैठकले गरेको छ । सङ्घर्ष समितिलाई सहयोग गरिरहेको प्रभु साह नेतृत्वको आम जनता पार्टीले आज पीडितले मधेश प्रदेशको आठ वटै जिल्लाको जिल्ला प्रशासन कार्यालयमा ज्ञापन पत्र बुझाउँदै छन् ।

१७ वर्षअघि तत्कालीन मधेशी जनअधिकार फोरम र नेकपा माओवादीले गौरको राइसमिलमा राखेको छुट्टाछुट्टै कार्यक्रममा झडप हुँदा २८ जना माओवादी कार्यकर्ता मारिएका थिए । जसमा दर्जनौँ व्यक्ति घाइते समेत भएका थिए ।

प्रतिक्रिया दिनुहोस्