बाइडनलाई धम्की दिँदै आएका एक व्यक्तिको गोली हानी हत्या



काठमाडौँ । अमेरिकी राष्ट्रपति जो बाइडनलाई फेसबुकमार्फत् धम्की दिँदै आएका एक व्यक्तिलाई गोली हानी हत्या गरिएको छ ।  एफबीआईको टोलीले उनलाई गोली हानेर मारेको हो ।

बाइडेन युटाह राज्यको भ्रमणमा जानुभन्दा केही घण्टा अगाडि अमेरिकाको गुप्तचर निकाय एफबीआईको टोलीले क्रेग रोबर्टसन नामका व्यक्तिलाई युटाहस्थित उनकै घरमा गोली हत्या गरेको हो ।

एफबीआईका अनुसार साल्ट लेक सिटीको दक्षिणमा पर्ने प्रोवो भन्ने स्थानमा रोबर्टसनकै घरमा उनीमाथि गोली प्रहार भएको थियो ।

एफबीआईको टोली उनलाई पक्रन गएको बेला गोली चलेको बीबीसीले जनाएको छ । यस घटनाबार थप विवरणहरु सार्वजनिक भएको छैन ।

ती व्यक्तिले फेसबुक वालमा बाइडन र बन्दुकका फोटाहरू राख्दै मार्ने धम्कीसहितका दर्जनौँ स्ट्याटस राखेको आरोप छ ।

प्रतिक्रिया दिनुहोस्