एमालेका कार्यक्रममा ओलीको मात्रै फोटो राख्न पाइने



काठमाडौँ । नेकपा एमालेले पार्टी र भ्रातृ सङ्गठनका कार्यक्रममा आफ्ना जीवित नेतामध्ये अध्यक्ष केपी शर्मा ओलीको मात्रै तस्बिर राख्न पाइने गरी सर्कुलर गर्ने तयारी गरेको छ । पछिल्लो पार्टी सचिवालय बैठकमार्फत एमालेले यस्तो निर्णय गरेको हो ।

अध्यक्ष ओलीले पार्टीको केन्द्रीय उद्योग तथा वाणिज्य विभागले आयोजना गरेको कार्यक्रममा सार्वजनिक कार्यक्रम व्यवस्थापन सम्बन्धी सचिवालयको निर्णय सुनाएका थिए । उनले निर्णय सुनाए पनि एमालेले औपचारिक रूपमा सर्कुलर पठाउन बाँकी छ । पार्टी उपमहासचिव विष्णु रिमालका अनुसार बिहीबार साँझ उक्त सर्कुलर जारी गरिने छ ।

एमालेले फोटो राख्ने क्रममा पहिलो तस्बिर र पुष्पलालको, दोस्रो मदन भण्डारीको, तेस्रो मनमोहन अधिकारीको राख्ने गर्छ । अब त्यसको चौथो क्रममा ओलीको राखिने पार्टी निर्णय छ ।

रिमालले फेसबुकमा लेखेका छन्

– कार्यक्रमको गरिमा र मर्यादालाई बढाउन पार्टी र जनसङ्गठनहरूले आयोजना गर्ने सार्वजनिक कार्यक्रममा पार्टी अध्यक्ष बाहेक अन्य फोटो प्रयोग नगर्ने,

– मञ्चको प्रयोग वक्ताले मात्र गर्ने,

– अतिथि र वक्ताहरूलाई दर्शक दीर्घामा नै मर्यादित ढङ्गले आसनको व्यवस्था मिलाउने,

– कार्यक्रममा तथा कार्यक्रम सुरु भएपछि आसन ग्रहणको उद्घोषण गरिरहेन परम्परा अन्त्य गर्ने,

– कार्यक्रममा ब्याज, माला र खादाको अनावश्यक प्रयोग नगर्ने र कार्यक्रमलाई भड्किलो नबनाउने ।

उनीभन्दा अघि ओलीले फेसबुकमार्फत कार्यक्रम व्यवस्थापनबारे विभिन्न निर्णय गरेको खुलाएका छन् । ‘फेसबुक ट्विटरमा मलाई प्राप्त म्यासेजहरूमा धेरै जना साथीहरूले कार्यक्रमहरूमा धेरैलाई आसन ग्रहण गराएर समय बर्बाद गर्नुभएन भन्ने सुझाव दिने गर्नु भएको थियो,’ उनले लेखेका छन्, ‘तिनै सुझावलाई मध्यनजर गरेर हाम्रो पार्टीले अस्तिको सचिवालय बैठकबाट यस सम्बन्धी निर्णय गरेको छ । यसै गरी अब अनुहारै छोपिने गरी खादा–माला र कोट भन्दा ठुला व्याज लगाउने प्रचलन पनि बन्द गर्नु पर्छ ।’

प्रतिक्रिया दिनुहोस्