चीन भ्रमणमा हिल्सा सडक प्राथमिकतामा 



काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आगामी महिना हुने आफ्नो चीन भ्रमणमा सुर्खेत-हिल्सा सडक निर्माणलाई प्राथमिकता दिने बताएका छन् । कर्णाली प्रदेश स्थापना दिवसको अवसरमा वीरेन्द्रनगरमा आयोजित कार्यक्रममा बोल्दै प्रचण्डले आफ्नो चीन भ्रमण उपलब्धिमूलक हुने बताएका हुन् ।

उनले भने, ‘हिल्सा-सुर्खेत सडक निर्माणबारे मेरो अब हुन लागेको चीन भ्रमणमा प्राथमिकतामा पनि छ । मलाई विश्वास छ, यसपटक हामी यसमा ठुलो फड्को हान्ने छौँ । अहिले यति नै भने ।’ भेरी, कर्णाली करिडोर लगायतका ठुला सडक परियोजना सङ्घीय सरकारको प्राथमिकतामा रहेको प्रधानमन्त्रीको भनाइ रहेको छ । उनले भने,  ‘प्रदेशको मेरुदण्डका रूपमा रहेका कर्णाली, भेरी कोरिडोर, कर्णाली राजमार्ग, राप्ती लोक मार्ग लगायतका महत्त्वपूर्ण सडक निर्माणमा मेरो ध्यान गएको छ ।’

उनले भने,  ‘बेरोजगारी र अभावले हजारौँ युवा मुग्लान पसिरहेको अनुभूति पनि छ । उपचार नपाउँदा गर्भवतीको अकालमा ज्यान जाने गरेको भयावह स्थिति पनि अनुभूति गरेको छु । कर्णालीको अभाव, गरिबी र भूगोलमा म बसेको छु । कर्णालीको विकास केन्द्रको प्राथमिकतामा छ, मेरो प्राथमिकतामा छ ।’ कार्यक्रममा नेकपा एमाले कर्णाली प्रदेश संसदीय दलका नेता यामलाल कँडेलले भेरी करिडोर र कर्णाली करिडोरलाई प्राथमिकता दिन प्रधानमन्त्री प्रचण्डले आग्रह गरे ।

प्रतिक्रिया दिनुहोस्