थाई एयरवेजले बैङ्कक–काठमाडौँ उडान पुनः सुरु गर्ने



काठमाडौँ । कोरोना महामारीका कारण बन्द हुन पुगेको थाई एयरवेजले बैङ्कक–काठमाडौँ उडान पुनः सुरु गर्ने भएको छ । सन् १९६८ डिसेम्बर ४ मा नेपालमा पहिलो पटक जेट इन्जिन जहाजमार्फत उडान भरेको थाई एयरवेजले कोरोना महामारीका कारण बैङ्कक–काठमाडौँ नियमित उडान बन्द गरेको थियो । नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार थाई एयरवेजले कात्तिक १५ देखि नेपालमा पुनः उडान सुरु गर्न लागेको हो ।

काठमाडौँमा उडानका लागि आवश्यक प्रक्रिया पूरा गरिसकेको र थाई एयरवेज पुनः नेपाल भित्रिएसँगै हाल नेपालमा उडान गर्दै आएको थाई स्माइल एयरको उडान बन्द गरिने भएको छ ।

थाई एयरवेज र थाई स्माइल एकआपसमा गाभिएका कारण थाई एयरवेज भित्रिएपछि थाई स्माइलको नेपाल उडान बन्द गरिन लागिएको हो । थाई एयरवेजले अन्तिम पटक सन् २०२० को मार्च २१ मा नेपालमा उडान भरेको थियो ।

प्रतिक्रिया दिनुहोस्