मुख्यमन्त्रीको विश्वासको मतविरुद्ध रिट लिएर एमाले नेताहरु सर्वोच्चमा



काठमाडौँ । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले संविधान मिचेर विश्वासको मत लिएको दाबी गर्दै नेकपा एमाले रिट लिएर सर्वोच्च अदालत पुगेको छ । एमाले कोशी प्रदेश संसदीय दलका नेता हिक्मतकुमार कार्की बुधवार सर्वोच्च अदालत पुगेका हुन् । विश्वासको मत लिदा संविधानको उल्लङ्घन भएको दाबीसहित रिट लिएर एमाले सर्वोच्च पुगेको हो ।

सोमबार मुख्यमन्त्री उद्धव थापाले प्रदेशसभाको अध्यक्षता गरिरहेका इस्राइल मन्सुरीको पनि मत लिएर विश्वासको मत पाएका थिए । जबरजस्ती विश्वासको मत पाएको घोषणा गरेकाले प्रदेश सभा नियमावली र संविधानको व्यवस्थालाई विपरीत भएको दाबी रिटमा गरिएको छ ।

भदौ ४ गते दिउँसो १ बजे प्रदेशसभा बैठक बोलाएर उपसभामुख सृजना दनुवार स्वास्थ्यको कारण देखाउँदै सोही दिन काठमाडौँ गएपछि प्रदेशसभा बैठक अध्यक्ष मण्डलका सदस्य का‌ग्रेसका प्रदेशसभा सदस्य इस्राइल मन्सुरीले सञ्चालन गरेका थिए । मुख्यमन्त्रीको विश्वासको मतसम्बन्धी प्रस्तावमा मत विभाजनपछि दिएको मत सच्याउने समयमा मन्सुरीले सभाध्यक्षको आसनमा माओवादी प्रदेशसभा सदस्य गीता तिम्सिनालाई बोलाएर मतदान गर्न गएका थिए ।मन्सुरीसमेतको मतको आधारमा मुख्यमन्त्री थापाले ४७ मत प्राप्त गरी प्रदेशसभामा विश्वसको मत पाएका थिए ।

प्रतिक्रिया दिनुहोस्