मन्दिर निर्माणमा अनियमितता गर्नेबिरुद्ध भ्रष्टाचार मुद्दा दायर



जनकपुरधाम : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मन्दिर निर्माणमा अनियमितता गर्ने तीन जनाबिरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । विदेह–मिथिला क्षेत्र पर्यटन प्रवर्द्धन समितिमार्फत भएको निर्माण कार्यमा अनियमितता गरेको आरोपमा उपभोक्ता समितिका पदाधिकारीसहित तीन जनाबिरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको हो ।  

सर्लाहीको चक्रघट्टा–२ स्थित राम जानकी मन्दिर र ब्रम्हस्थान मन्दिरको पर्खाल निर्माण नै नगरी रकम भ्रष्टाचार गरेको अख्तिारले जनाएको छ ।

अख्तियारले राम जानकी मन्दिर पर्खाल निर्माण उपभोक्ता समितिका अध्यक्ष ओमप्रकाश यादव, ब्रम्हस्थान पर्खाल निर्माण उपभोक्ता समितिका अध्यक्ष अजय कुमार यादव र पर्यटन कार्यालयका ओभरसियर अनिरुद्र मण्डल विरुद्ध मुद्दा दायर गरेको हो । 

अख्तियारले पर्खाल निर्माण नै नगरी बिल भर्पाईको आधारमा रकम हिनामिना गरेको भन्दै उपभोक्ता समिति अध्यक्ष ओमप्रकाश विरुद्ध १ लाख ३५ हजार २ सय २९ रुपैयाँ, अजय विरुद्ध १ लाख ३१ हजार ३ सय ६५ रुपैयाँ र ओभरसियर मण्डल विरुद्ध २ लाख ६६ हजार ५ सय ९५ रुपैयाँ बिगो मागदावी गर्दै मुद्दा दायर गरेको हो । 

२०६७–६८ मा विदेह–मिथिला क्षेत्र पर्यटन प्रवर्द्धन समितिका अध्यक्ष दीपेन्द्रकुमार यादवले अर्थ मन्त्रालयबाट प्रकाशित रातो किताबमा उल्लेखित बजेटलाई बेवास्ता गर्दै आफू अनुकूलको उपभोक्ता समिति गठन गरेको र निर्माण कार्य नै गरी नक्कली बिल भौचर बनाइ ठुलो रकम भ्रष्टाचार गरेको उजुरी परेको थियो । 

उजुरीका बारेमा अनुसन्धान गर्दा लागत इस्टिमेट, बिल भरपाई, प्राविधिक मूल्याङ्कन तथा कार्य सम्पन्न प्रतिवेदन अनुसार कामै नगरी पर्यटन कार्यालय जनकपुरबाट रकम भुक्तानी लिएर हिनामिना गरेको अख्तियारले जनाएको छ ।

समितिले धनुषा, महोत्तरी, सर्लाही र सिन्धुली जिल्लामा पर्यटन प्रवर्द्धनका साथै धार्मिक स्थल संरक्षणको समेत काम गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्