सन्दीप लामिछानेको मुद्दामा आज पनि सुनुवाइ भएन



काठमाडौँ । क्रिकेटर सन्दीप लामिछानेको मुद्दामा काठमाडौँ जिल्ला अदालतमा आइतबारका लागि पेसी तोके पनि सुनुवाइ भएन । न्यायाधीश प्रकाशप्रसाद पण्डितको इजलासमा पेसी तोकिएको मुद्दा हेर्न नभ्याइनेमा राखिएको छ ।

नाबालिग बलात्कारको आरोपमा सन्दीपविरुद्ध गत वर्ष कार्तिक १४ गते अदालतमा मुद्दा दायर भएको हो । उक्त मुद्दाको अन्तिम सुनुवाइका लागि आइतबार पेसी तोकिए पनि ‘हेर्न नभ्याइने’ मा राखिएको छ ।

न्यायाधीश पण्डितको इजलासमा पाँचौँ नम्बरमा सन्दीपविरुद्धको मुद्दा सुनुवाइको पेसी थियो । चार वटा मुद्दा सुनुवाइ भए पनि पाँचौँदेखि तलका सबै मुद्दा ‘हेर्न नभ्याइने’ सूचीमा परेका छन् । एसिया कपका लागि सन्दीपलाई पाकिस्तान पठाइने नपठाइने विषयमा नेपाल क्रिकेट सङ्घ (क्यान)ले औपचारिक धारणा अहिले सम्म दिएको छैन ।पेसीकै कारण सन्दीप टोलीसँग पाकिस्तान गएनन् । नेपालले पाकिस्तानविरुद्ध भदौ १३ गते पहिलो खेल खेल्दै छ ।

प्रतिक्रिया दिनुहोस्