काठमाडौँ उपत्यकामा मनाइयो गाईजात्रा



काठमाडौँ । काठमाडौँ उपत्यकामा गाईजात्रा मनाइएको छ । यस वर्ष जनैपूर्णिमा र गाईजात्रा बिहीबार एकैदिनदेखि सुरु भएकाले आजपनि केही स्थानमा गाईजात्रा मनाइँदैछ ।

काठमाडौंमा हरेक वर्ष गाईजात्रा विशेष हुने गर्छ । नेवार समुदायमा गाईजात्रामा एक वर्षभित्र दिवंगत आफन्तको सम्झनामा गाईलाई बजार परिक्रमा गराइन्छ । मानिसलाई गाईका रूपमा सिँगारी आ(आफ्नो इलाकामा परिक्रमा गराइने र उनीहरूलाई दूध,फलफूल,रोटी,चिउरा, दहीका साथै अन्न र द्रव्य दान गर्ने परम्परा पनि छ ।

विशेषगरी नेवार समुदायको बस्ती रहेका ठाउँमा गाईजात्रा पर्व भव्यरुपमा मनाउने गरिएको छ । प्रत्येक वर्ष भाद्रकृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठ दिन विभिन्न कार्यक्रम गरी गाईजात्रा पर्व मनाउने गरिन्छ ।

गाईजात्रा निकाल्ने परम्परा विशेषगरी नेवार समुदायमा मल्लकालदेखि चल्दै आएको छ । प्रताप मल्लले पुत्र शोकबाट विह्वल भएकी रानीलाई अरुका घरमा पनि मानिस मर्छन् भन्ने देखाउन गाईजात्राको परम्परा सुरु गरेको इतिहास छ ।

यही धार्मिक विश्वासका आधारमा आज पनि वसन्तपुर दरबार क्षेत्र भएर गाईजात्रा प्रदर्शन भइरहेको छ । गाईजात्राबाट पनि रानीको मन शान्त हुन नसकेकाले राजा प्रताप मल्लले विभिन्न प्रकारका प्रहसन तथा व्यङ्ग्यात्मक कार्यक्रमसमेत गराउने आदेश दिएअनुरूप हास्यव्यङ्ग्यको प्रचलन चलेको हो भन्ने जन श्रुती पाइन्छ । मल्लकालदेखि सुरु भएको गाईजात्रा अहिले काठमाडौँ उपत्यकाको मौलिक पर्वका रुपमा स्थापित भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्