ब्याजदर परिवर्तनको प्रभाव सेयर बजारमा 



काठमाडौँ । साताको पहिलो कारोबार दिन नेप्से परिसूचक  ओरालो लागेको छ ।  गत साता करिब ४ प्रतिशत बढेर बन्द भएको नेप्से, यस दिन २ प्रतिशत ओरालो लागेर बन्द भएको हो। आइतबार बजारमा बैङ्कहरूले प्रकाशित गरेको नयाँ ब्याजदरको प्रभाव परेको हो। आइतबार बैङ्कहरूले असोज महिनाका लागि नयाँ ब्याजदर प्रकाशित गरेका छन्। नयाँ ब्याजदर अनुसार ८ बैङ्कहरूले ब्याजदर बढाएका छन् भने ८ बैङ्कहरूले घटाएका छन्। ४ बैङ्कहरूले गत महिनाकै ब्याजदरलाई निरन्तरता दिएका छन्। बैङ्कहरूको ब्याजदर औसतमा भने घटेको छ।

बैङ्कहरूले ब्याजदर बढाएर ११ प्रतिशतभन्दा माथि पुराएका छन्। यसैको प्रभाव आइतबार बजारमा परेको हो। आइतबार नेप्से परिसूचक ४२.१४ अङ्क घटेर १९६४.९१ विन्दुमा झरेको छ। त्यसै गरी, आइतबार सेन्सेटिभ इण्डेक्स ८.१२ अङ्क घटेको छ भने फ्लोट इण्डेक्स २.९१ अङ्क र सेन्सेटिभ फ्लोट इण्डेक्स २.७४ अङ्क घटेको छ।

नेप्से घटे पनि आइतबार कारोबार रकम भने बढेको छ। अघिल्लो कारोबार दिन डेढ अर्बको शेयर खरिदबिक्री भएको बजारमा आइतबार २७८ स्टकको ७२ हजार ४७७ पटकको कारोबारमा २ अर्ब २ करोड ८४ लाख ६५ हजार रुपैयाँ बराबरको ५६ लाख ५९ हजार कित्ता सेयर खरिदबिक्री भएको छ।

आइतबार शुभम पावर कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। आइतबार सो कम्पनीको सेयर मूल्य ८९ रुपैयाँ ६० पैसा बढेर ९८५ रुपैयाँ ६० पैसामा अन्तिम कारोबार भएको छ। त्यस्तै, आइतबार थ्रीस्टार हाइड्रोपावरको सेयर मूल्य करिब ८ प्रतिशत बढेको छ। यस दिन मोलुङ्ग हाइड्रोपावरको सेयर मूल्य सर्वाधिक ९.२१ प्रतिशत घटेको छ।

कारोबार रकमका आधारमा आइतबार एनआईसी एशिया शीर्ष स्थानमा रहेको छ। बैङ्कको यस दिन २७ करोड ५४ लाख ७३ हजार रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको छ। त्यस्तै, आइतबार रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको २४ करोड ५२ लाख ९३ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ।

यस दिन १३ वटै उपसमूहको परिसूचक घटेको छ। आइतबार व्यापार उपसमूहको परिसूचक सर्वाधिक ३.३३ प्रतिशत घटेको छ। त्यस्तै, आइतबार वित्त र होटल तथा पर्यटन उपसमूहको परिसूचक ३ प्रतिशतभन्दा बढी घटेको छ भने विकास बैङ्क, जलविद्युत, जीवन बिमा र निर्जीवन बिमा उपसमूहको परिसूचक साढे २ प्रतिशतभन्दा बढी घटेको छ।

प्रतिक्रिया दिनुहोस्