आमूल परिवर्तन गर्ने अभियानमा छौँ : प्रधानमन्त्री प्रचण्ड



काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संविधान कार्यान्वयनमार्फत जनताको जीवनस्तरमा आमूल परिवर्तन गर्ने रूपान्तरणकारी अभियानमा आफूहरू रहेको बताएका छन् ।

नवौँ संविधान दिवसको अवसरमा आज शुभकामना सन्देश प्रचण्डले सो बताएका हुन् । सरकारले सुशासन, समृद्धि र सामाजिक न्यायको मार्गलाई फराकिलो बनाउँदै सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई जनताको वास्तविक राज्य व्यवस्थामा परिणत गर्ने अभियान थालेको पनि उनले बताएका छन् ।

उनले भनेका छन्, ‘संविधान कार्यान्वयन आवश्यक पर्ने कानुन निर्माणदेखि भएका कानुनको परिपालनामार्फत जनतामा राजनीतिक परिवर्तनको प्रत्याभूति गराउने, प्राप्त राजनीतिक उपलब्धिलाई संस्थागत गर्दै लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरण तथा सुशासन, समृद्धि र सामाजिक न्यायमा आधारित राष्ट्र निर्माणको महाअभियानको थालनी गर्नु सरकारको प्राथमिकता हो ।’

संविधान दिवसको अवसरमा स्वदेश तथा विदेशमा रहेका सबै नेपालीहरूलाई शुभकामना व्यक्त गर्दै प्रधानमन्त्री प्रचण्डले शहीदहरूले देखाएको सत्य र न्यायको मार्गमा हिँड्न तथा उनीहरूले देखेको समृद्ध नेपालको सपनालाई साकार पार्न संविधान दिवसको अवसरमा प्रेरणा मिलोस् भन्ने कामना पनि गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्