सत्यसँग सिङ नजुधाउन सरकारलाई ओलीको ठाडो चेतावनी



काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले  सरकारलाई ठाडो चेतावनी दिएका छन् ।  उनले सरकारलाई सत्यसँग सिङ नजुधाउन चेतावनी दिएका हुन् ।  काठमाडौँको भृकुटीमण्डपमा सोमबारबाट सुरु भएको पार्टीको बागमती प्रदेश अधिवेशनलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले सरकार अहिले सत्यसँग सिङ जुधाउन व्यस्त रहेको भन्दै सरकारको सिङ बेरसबेर भाँचिने बताएका हुन् । उनले सरकार आफै मुलुकको अवस्था बिगार्न लागिरहेको पनि बताए ।

ओलीले भने, ‘अवस्थालाई बिगार्न सरकार आफै लागेको छ । शिक्षकहरू सडकमा छन् । सरकारलाई ढुक्क लागेको होला स्थायी र करार भनेर विभाजन गरेँ, केहीलाई फिर्ता गरेँ । केहीलाई सडकमा पठाएँ भनेर ।’

उनले सरकारको ध्यानाकर्षण गराउँदै शक्ति विभाजन गर्न सके पनि सत्य विभाजन गर्न नसक्ने बताए । उनले भने,  ‘शक्ति विभाजित गर्न सकिएला तर सत्य विभाजित हुँदैन । सत्य एउटै हुन्छ । म सरकारको ध्यानाकर्षण गराउन चाहन्छु सत्यसँग सिङ नजुधाउनु बेरसवेर भाँचिन्छ । फुक्लिन्छ । शिक्षकहरूसँग दम्भ नदेखाउनुस् ।’ उनले शिक्षकसँगको वार्ता शिक्षा मन्त्रालयमा वार्ता नगरेर गृह मन्त्रालयमा वार्ता गरेको भन्दै एक थरीसँग वार्ता गरे पनि अर्को थरीलाई बेवास्ता गरिरहेको बताए ।

उनले एक जना युवा सडकमा १२५ घण्टादेखि सत्याग्रहमा रहे पनि सरकारले बेवास्ता गरेको बताए । उनले १७ दिनसम्म संसद् बन्द गरेकोमा पनि आक्रोश पोखे । उनले प्रधानमन्त्री प्रचण्ड बाहिर जाने भएपछि संसद्मा तालाबन्दी गर्न निर्देशन दिएको पनि बताए । जनताका आवाज सांसदहरूले बोल्छन् भन्ने पिरले सरकारले संसद् बन्द गरेको पनि बताए ।

प्रतिक्रिया दिनुहोस्