१० दिनपछि सर्लाहीको मलंगवामा लगाइएको कर्फ्यु हट्यो



काठमाडौँ । धार्मिक द्वन्द्वका कारण सर्लाहीको सदरमुकाम मलंगवामा केही दिनदेखि लगाइएको कर्फ्यु आइतबारदेखि पूर्णरुपमा हटेको छ ।भगवान् गणेशको मूर्ति विसर्जनको क्रममा मलंगवा नगरमा दुई समुदायबिच झडप भएको थियो । स्थिति बिग्रेपछि जिल्ला प्रशासन कार्यालय मलंगवाले कर्फ्यु लगाएको थियो ।

असोज ४ गते राति भएको घटनापछि तनावग्रस्त बनेको मलंगवामा क्रमिक रूपमा स्थिति सुधार भएपछि कर्फ्यु हटाइएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । सदरमुकाम मलंगवामा दुई समुदायबिचको तनावको स्थिति सहज बनेको भन्दै जिल्ला सुरक्षा समितिले पूर्ण रूपमा कर्फ्यु खुल्ला गर्ने निर्णय आइतबार गरेको हो ।

स्थिति केही सामान्य बनेपछि गत बिहीबार बिहानदेखि बेलुकासम्म कर्फ्यु खुल्ला गरिए पनि राति कर्फ्युले निरन्तरता पाएकोमा आइतबारबाट पूर्णरुपमा खुल्ला गरिएको  हो ।

प्रतिक्रिया दिनुहोस्