नेप्सेमा भारी अङ्कको गिरावट 



काठमाडौँ । साताको अन्तिम कारोबार दिन सेयर बजार नेप्से परिसूचक ओरालो लागेको छ । आज बिहीबार नेप्से परिसूचक २०.१६ अङ्कले ओरालो लागेको हो ।नेप्से आज ओरालो लागेसँगै १८७४.६० विन्दुमा झरेको छ। त्यसै गरी, सेन्सेटिभ इण्डेक्स २.९५ अङ्कले  घटेको छ भने फ्लोट इण्डेक्स १.४५ अङ्क र सेन्सेटिभ फ्लोट इण्डेक्स १.०६ अङ्क घटेको छ।

नेप्से घटे पनि बिहीबार  कारोबार रकम भने बढेको छ। अघिल्लो कारोबार दिन १ अर्बको सेयर खरिदबिक्री भएको बजारमा यस दिन २९२ स्टकको ६२ हजार ४६ पटकको कारोबारमा १ अर्ब ७० करोड १ लाख रुपैयाँ बराबरको ७५ लाख ५८ हजार कित्ता सेयर खरिदबिक्री भएको छ।

बिहीबार तीन स्टकको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। बिहीबार भगवती हाइड्रोपावर, मिड सोलु हाइड्रोपावर र हाथवे इन्भेष्टमेन्टको शेयर १० प्रतिशत बढेर कारोबार भएको हो। भगवती र मिड सोलु यसै दिनदेखि कारोबारमा आएका कम्पनी हुन्। एनआईबिएल ग्रोथ फण्ड, सानिमा ग्रोथ फण्ड र सयपत्री हाइड्रोपावरको मूल्य ९ प्रतिशतभन्दा बढी बढेको छ। कारोबारमा आएको सिटि होटलको मूल्य सर्वाधिक ९.०९ प्रतिशत घटेको छ।

कारोबार रकमका आधारमा बिहीबार  लक्ष्मी सनराइज बैङ्कको संस्थापक सेयर शीर्ष स्थानमा रहेको छ। सो बैङ्कको यस दिन १६ करोड ३८ लाख रुपैयाँ बराबरको संस्थापक सेयर कारोबार भएको छ। त्यस्तै, यस दिन नेपाल इन्भेष्टमेन्ट मेगा बैङ्कको ५ करोडभन्दा बढीको सेयर खरिदबिक्री भएको छ।

१३ उपसमूहमध्ये यस दिन १ उपसमूहको परिसूचक बढेको छ भने १२ उपसमूहको परिसूचक घटेको छ। बिहीबार म्युचुअल फण्ड उपसमूहको परिसूचक १.१६ प्रतिशत बढेको हो। बिहीबार होटल तथा पर्यटन उपसमूहको परिसूचक सर्वाधिक ३ प्रतिशत घटेको छ। त्यस्तै, यस दिन विकास बैंक, वित्त, जलविद्युत, जीवन बीमा र निर्जीवन बीमा उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेको छ।

प्रतिक्रिया दिनुहोस्