हङकङमाथि बहराइनको जित



काठमाडौँ । आइसिसी टि२० विश्वकप एसिया क्षेत्र फाइनल छनोटमा  बहराइनले हङकङलाई २० रनले पराजित गरेको छ । यो हारसँगै हङकङको सेमिफाइनल सम्भावना कठिन बनेको छ । जितको लागि १ सय ४७ रनको विजयी लक्ष्य पछ्याएको हङकङ १९.१ ओभरमा १ सय २६ रनमा अल आउट भएको हो । हङकङका अंशुमन रथले सर्वाधिक २८ रन बनाए भने अन्य चल्न सकेनन् । हङकङको पहिलो ओभरको चौथो बलमा मजिद अब्बासीको बलमा ओपनर निजाकत खान ४ रनमा बोल्ड आउट भए । मजिद अब्बासीको बलमा उच्च लयमा रहेका मार्टिन कोट्जी २ रनमा क्याच आउट भएका थिए ।

स्पिनर अली दाउदले बाबर हायतलाई ६ रनमा बोल्ड आउट गरेपछि हङकङ १३–३ को अवस्थामा पुगेको थियो । चौथो विकेटका लागि अंशुमन रथ र एजिज खानले चौथो विकेटका लागि ५० रनको साझेदारी गरेका थिए । तीव्र गतिका बलर जावेद अनवारले ल्वो फुलटस बलमा एजिजलाई १९ रनमा एलबीडब्लू आउट गरे ।

नस्रुला राना ६ बलमा १ चौका र २ छक्कासहित १६ रनमा आउट भएका थिए । हङकङलाई २४ बलमा जितको लागि ३७ रन चाहिँएको थियो । सुरुवाती चार बलमा तीन रन बटुलेको थियो ।पाँचौँ बलमा जिशान अली २१ रनमा रन आउट भए । उनले ११ बलमा ३ चौका प्रहार गरे । लगत्तै अर्को बलमा रिजवानले यासिम मुर्तजालाई ९ रनमा बोल्ड गरेपछि जितको सम्भावना सकिएको थियो ।

बहराइनका रिजवान बटले ४ ओभरमा २६ रन खर्चेर २ विकेट लिए । अब्दुल मजिदले ३।१ ओभरमा ७ रन खर्चेर ३ विकेट लिए । अली दाउदले ४ ओभरमा २३ रन खर्चेर २ विकेट लिए ।त्यसअघि माथिल्लो मुलपानी क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको बहराइनले १९.३ ओभरमा १ सय ४६ रनमा अल आउट भएको थियो । बहराइनको जितमा इमरान अली बटले ४३ बलमा ५ चौका र ३ छक्कासहित सर्वाधिक ६२ रनको योगदान दिएका थिए ।

इमरान जावेद १५, हैदर अली १४ र मोहम्मद रिजवान १३ रनमा आउट भए । अन्य दोहोरो अंकमा रन जोड्न सकेनन् । हङकङले २० वाइड र एक लेग वाई गरि २१ रन अतिरिक्त दिएको थियो ।हङकङका तीव्र गतिका बलर नस्रुला रानाले ३।३ ओभरमा २१ रन खर्चेर ३ विकेट लिए । एहसान खानले ४ ओभरमा १ मेडनसहित १७ रन खर्चेर २ विकेट लिए । मोहम्मद अजिज खानले ४ ओभरमा १ मेडनसहित ३८ रन खर्चेर २ विकेट लिए । यासिम मुर्तजाले ४ ओभरमा ३१ रन खर्चेर २ विकेट लिए ।

प्रतिक्रिया दिनुहोस्