उग्रतारा मेलामा रतेडी र देहीजाँत



उग्रतारा मेला

डडेलधुरा । सुदूरपश्चिम प्रदेशकै प्रसिद्ध धार्मिक शक्तिपीठ उग्रतारा भगवती मन्दिरमा मेला ‘देहीजाँत’ सुरु भएको छ । कात्तिक शुक्ल पूर्णिमाका दिन पूजाआजा गरी सोमबार रातिबाट रतेडी र मङ्गलवारबाट देहीजाँत लाग्ने  गर्छ । बिहान उग्रतारा भगवतीको विधिवत पूजाआजा सम्पन्न भएपछि दिउँसो मेला लाग्ने गर्छ । अमरगढीका चार वटा गाउँबाट डोलीसहित देउरो र पूजापोखल मन्दिर पु¥याएपछि बिहान ४ बजेबाट पूजाआजा गरिने छ ।

अमरगढीको जिलोडा, खनमडा, दुमडा र छचोडालगायत चारगाउँ ध्वजा, शङ्क, घण्टा, बिगुल, भोकर, चाँदी, पित्तल, सुनका आभूषणसहितको कलश र डोलीलाई दमाह, नरुसिङ्गा बाजागाजाका साथ देउरो मन्दिरमा ल्याइने गरिन्छ । बिहानको समयमा पूजाआजापछि देउताका धामीले काँप्दै भाकाबैजाली दिन्छन् । भाकल गरे अनुसार भक्तजनले विभिन्न पूजाआजाका सामग्री, सुन, चाँदी चढाउने  प्रचलन रहेको छ ।  मध्याह्न १२ बजे मन्दिरबाट गाँज निकाली फाँटमा नचाउँदै चार ठाउँमा ढोग्ने प्रचलन रहेको छ ।

पछिल्लो दिन बेलुकी पूजा गरी चार वटै गाउँबाट ल्याइएको डोलीसहितका देउरा गाउँमै लगेर भ्रमणमा राखिए जात्रा सम्पन्न गरिन्छ । देहीजाँतका रूपमा चिनिने उग्रतारा मेलामा छिमेकी देश भारतबाट समेत श्रद्धालु पुग्ने गर्छन् ।

डडेलधुरा सदरमुकाम बागबजारबाट चार किलोमिटर टाढा रहेको उग्रतारा मन्दिरमा लाग्ने मेलामा हजारौँ दर्शनार्थी पूजाआराधना गर्न आउने गर्छन् । किंवदन्ती अनुसार २५ सय वर्ष पहिले अमरगढी नगरपालिकाको लटाउली बस्ने साँकी जातीका स्थानीयले हलो जोत्दा शिलामा हलोको फाली अड्केर रगत बगेको थियो ।

सो रगत देखिएपछि देवी उत्पन्न भएर दर्शन दिएको र सोही  दिनदेखि महागौरी दुर्गा र कालीको स्वरूपमा उग्रतारा भगवतीको पूजा गरिँदै आएको जनविश्वास रहेको छ । उग्रतारा माताको दर्शन गरेमा दैवीप्रकोप नहुने, सुख प्राप्ति, मनोकामना पूरा हुने जनविश्वास रही आएको छ ।

प्रतिक्रिया दिनुहोस्