आर्सनलको नाटकीय जितमा राइस नायक



आर्सनल

काठमाडौँ । इंग्लिस प्रिमियर लिग अन्तर्गत मंगलबार राती भएको खेलमा पहिलो स्थानमा रहेको आर्सनलले नाटकीय जित निकालेको छ । अन्तिम समयमा गोल गर्दै आर्सनलले रोमाञ्चक खेलमा लुटन टाउनमाथि ४-३ को जित हात पारेको हो ।

आर्सनल जितमा डेक्लन राइस नायक भने । उनले इन्जुरी समयको सातौं मिनेटमा गोल गर्दै आर्सनलको जित पक्का गरे । यस सिजन रेलिगेसनमा पर्ने आँकलन गरिएको लुटनविरुद्ध आर्सनलले लगातार अग्रता बनाउँदै गुमाउन पुग्यो । तर अन्तिम समयमा राइस नायक बन्न पुगे ।

खेलमा सुरुवाती अग्रता आर्सनलले २०औं मिनेटमा लिएको थियो । बूकायो साकाको पासमा गाब्रिएल मार्टीनेलीले गोल गर्दै खेलमा अग्रता दिलाएका थिए। तर पाँच मिनेट पछि नै लुटनले बराबरी गर्यो ।

अल्फि डौटीको कर्नरमा गाब्रिएलओसोले हेडर गोल गर्दै खेल बराबरीमा ल्याए । पहिलो हाफको अन्त्यतिर आर्सनलले खेलमा पुनः अग्रता लियो । बेन ह्वाइटको क्रसमा गाब्रिएल जिससले हेडर गोल गर्दै खेललाई २-१ को स्थितिमा पुर्याए ।

दोस्रो हाफको चार मिनेटमै लुटन पुनः बराबरी गर्न सफल भयो । डौटीकै कर्नरमा इलाइजाह अडेबायोले हेडर गोल गर्दै खेललाई २-२ को स्थितिमा पुर्याए ।लुटनले ५७औं मिनेटमा खेलमा अग्रता लियो । एन्ड्रोस् टाउनस्एन्डको पासमा रस बार्कलिले गोल गर्दै खेलमा घरेलु टोलीलाई अग्रता दिलाए ।

तर फेरि पनि खेल बराबरीमा आउन धेरै समय लागेन । ६०औं मिनेटमा जिससको पासमा काई हाभर्टजले गोल गर्दै खेललाई ३-३ को स्थितिमा पुर्याए ।त्यसपछि खेलमा गोल आउन चाहिँ अन्तिम समय कुर्नुपर्यो । मार्टिन ओडेगार्डको क्रसमा राइसले हेडर मार्फत गोल गर्दै खेलमा आर्सनललाई जित दिलाए ।

जितपछि आर्सनलको १५ खेलमा ३६ अंक भएको छ । दोस्रो स्थानमा रहेको लिभरपुलको १४ खेलमा ३१ अंक छ भने म्यानचेस्टर सिटीको १५ खेलमा ३० अंक छ ।

लिगको अर्को खेलमा वल्भ्सले बर्नलीलाई १-० ले पराजित गर्यो । दक्षिण कोरियाली फरवार्ड ह्वाङ हि चानले गरेको गोल नै खेलमा निर्णायक बन्यो ।प्रिमियर लिगमा आज राती ६ खेल हुँदैछन् । एजेन्सी

प्रतिक्रिया दिनुहोस्