थुनामा रहेका बालकृष्ण खाँण घर फर्किए



बालकृष्ण खाँण

काठमाडौँ । पूर्व गृहमन्त्री बालकृष्ण खाँणलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले साधारण तारेखमा छाडेको छ । नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका खाँणलाई ३० लाख रुपैयाँ धरौटीमा छाड्न अदालतले शुक्रवार आदेश दिएको थियो । तर, प्रहरीले अनुसन्धानका लागि सम्पत्ति शुद्धीकरण विभाग र आयोगसमक्ष पनि सिफारिस गरेकाले उनी छुटेका थिएनन् ।

शुक्रवार अबेर उनलाई तारेखमा छाड्ने निर्णय भएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता नरहरि घिमिरेले बताए । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले पनि खाँणलाई १५ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको छ । उनले त्यसअनुसारको बैङ्क ग्यारेन्टी जम्मा गरिसकेका छन् ।

नक्कली भुटानी शरणार्थी प्रकरणका आरोपी पूर्व गृहमन्त्री बालकृष्ण खाँणले जिल्ला अदालत, काठमाडौँमा पुगेर धरौटी बापतको रकम अनुसारको बैङ्क ग्यारेन्टी पेस गरेका छन् । बिहीबार उच्च अदालत पाटनले ३० लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएपछि खाँण शुक्रवार धरौटी रकम जम्मा गर्न जिल्ला अदालत, काठमाडौँ पुगेका थिए । लगत्तै प्रहरीले उनलाई सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग र अख्तियार दुरुपयोग अनुसन्धान आयोग हाजिर गराएको थियो ।

नेपाली युवालाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाइदिने भन्दै एउटा गिरोहले लाखौँ रुपैयाँ उठाएर ठगी गरेको थियो । भुटानी शरणार्थी समस्याबारे अध्ययन गर्न बनेको पूर्व सहसचिव बालकृष्ण पन्थी नेतृत्वको कार्यदलको प्रतिवेदनमा किर्ते गरेर खाँण गृहमन्त्री भएका बेला नेपाली युवालाई अमेरिका पठाउने प्रयास भएको अनुसन्धानबाट खुलेको थियो ।

प्रतिक्रिया दिनुहोस्