एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक आजदेखि सुरु



काठमाडौँ । नेकपा ९एकीकृत समाजवादी०को केन्द्रीय कमिटी तीन दिने बैठक आजबाट सुरु हुने भएको छ । बिहान ११ बजेदेखि सुरु हुने बैठक तीनसम्मका लागि तय गरिएको छ । बैठकमा पार्टीको विधान संशोधन र आगामी महाधिवेशन मुख्य एजेन्डा रहेको छ । यसअघि सचिवालय बैठकमा नेताहरू ७० वर्षे हद हटाउने गरी विधान संशोधन गर्न सहमति भएका थिए ।

एकीकृत समाजवादीले विधान संशोधन गर्न आगामी माघ १४ र १५ गते काठमाडौँमा राष्ट्रिय सम्मेलन गर्न लागेको छ । बैठकमा देशभर पार्टी सङ्गठनको अवस्था, पार्टीको आन्तरिक विवाद, समसामयिक परिस्थितिबारे पनि छलफल गरिने छ । बैठकबाट प्रदेश, क्षेत्र र भूगोलको सन्तुलन मिलाएर आवश्यक स्थानमा नेताहरूको जिम्मेवारी पनि तोकिनेछ ।

यसका साथै राष्ट्रिय सभा सदस्य निर्वाचनको उम्मेदवार छनोटबारे पनि छलफल हुने समाजवादीले जनाएको छ । राष्ट्रिय सभा सदस्यको निर्वाचन आगामी माघ ११ गतेका लागि तोकिएको छ ।

प्रतिक्रिया दिनुहोस्