क्रिकेटर सन्दीप लामिछाने बलात्कार मुद्दामा दोषी ठहर



काठमाडौँ। क्रिकेटर सन्दीप लामिछाने बलात्कार मुद्दामा दोषी ठहर भएका छन्। जिल्ला अदालत काठमाडौँका न्यायाधीश शिशिर ढकालको इजलासले उनलाई दोषी ठहर गरेको हो। अदालतले दोषी ठहर गरे पनि सजाय निर्धारण भने पुस २५ गते हुनेछ। ३ वर्षभन्दा बढी कैद सजाय हुने मुद्दामा कसुर निर्धारणका लागि छुट्टै सुनुवाइ गर्नुपर्ने व्यवस्था छ। त्यसका लागि पुस २५ गते सुनुवाइ हुने छ। सुनुवाइ न्यायाधीश ढकालको इजलासमै हुने छ।

बलात्कार आरोपमा २०७९ असोज २० गते प्रहरीले त्रिभुवन विमानस्थलबाट सन्दीपलाई नियन्त्रणमा लिएको थियो। २०७९ भदौ ५ गते सन्दीपले किशोरीलाई बोलाएर होटेलमा लगी करणी गरेको उजुरीमा उल्लेख थियो।

उच्च अदालत पाटनका न्यायाधीश ध्रुवराज नन्द र रमेश ढकालको संयुक्त इजलासको आदेशमा सन्दीप २० लाख रुपैयाँ धरौटी बुझाइ गत पुस २९ गते छुटेका थिए। उनको मुद्दा जिल्ला अदालत काठमाडौँमा भने विचाराधीन थियो।

प्रतिक्रिया दिनुहोस्