प्रधानमन्त्री प्रचण्डको आग्रहलाई सिके राउतद्वारा अस्वीकार



काठमाडौँ । राष्ट्रिय सभा सदस्यका लागि हुन गइरहेको निर्वाचनमा जनमत पार्टीको तर्फबाट दिइएको उम्मेदवारी फिर्ता लिन माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सो पार्टीका अध्यक्ष डा। सिके राउतलाई आग्रह गरेका थिए । तर अध्यक्ष राउतले प्रचण्डले गरेको आग्रहलाई अस्वीकार गरेका छन् ।

राष्ट्रिय सभा सदस्यका लागि जनमत पार्टीबाट अध्यक्ष राउतले सत्ता गठबन्धनको निर्णय विपरीत मधेस प्रदेश र लुम्बिनी प्रदेशमा उम्मेदवारी दिन लगाएका छन् । सो उम्मेदवारी फिर्ता लिनका लागि गरिएको आग्रह अध्यक्ष राउतले अस्वीकार गरेका जनाइएको छ ।

उम्मेदवारी फिर्ता लिने म्याद पुस २७ गते थियो । सोही दिन प्रधानमन्त्री प्रचण्डले अध्यक्ष राउतलाई फोन गरेर उम्मेदवारी फिर्ता लिनका लागि आग्रह गरेका जनाइएको छ ।यसबारे आज बसेको सत्ता गठबन्धनको बैठकमा प्रधानमन्त्री प्रचण्डले जानकारी दिएका थिए ।

जनमत पार्टीले लुम्बिनी प्रदेशमा बोलगोविन्द चौधरी र मधेस प्रदेशबाट रामशंकर महासेठलाई उम्मेदवार बनाएको छ । मधेस प्रदेशमा जनमत पार्टीको मत भार ४२४ रहेको छ भने लुम्बिनी प्रदेशमा १४४ रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्