उद्योगमा बिजुली जोडिदिएसँगै दैनिक ८ देखि ११ घण्टासम्म लोडसेडिङ



काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले औद्योगिक क्षेत्रमा दैनिक ८ देखि ११ घण्टासम्म अघोषित रूपमा लोडसेडिङ गर्न सुरु गरेको छ । डेडिकेटेड र ट्रंक लाइन विवादमा २३ वटा ठुला उद्योगमा काटिएको लाइन जोडिदिएपछि तत्कालै प्राधिकरणले लोडसेडिङ गर्न सुरु गरेको हो ।

हरेक दिन पिक समय अर्थात् बिहान ५ बजेदेखि ११ बजेसम्म र बेलुका पनि ५ बजेदेखि १० बजेसम्मको समयमा लोडसेडिङ गरिरहेको उद्योगहरूले बताएका छन् । लाइन काट्नुअघि चाहिँ दैनिक चार घण्टाका दरले लोडसेडिङ भइरहेको थियो । तर, २४ वटा उद्योगहरूमा लाइन काटेपछि विद्युत् उपभोग घटेका कारण प्राधिकरणले औद्योगिक क्षेत्रमा पनि लोडसेडिङ हटाएको थियो ।

लाइन काटिएका उद्योगहरूमा पुनः लाइन जोडिदिएलगत्तै लामो समय लोडसेडिङ सुरु भएको हो । गत वर्ष अधिकतम ७–८ घण्टा लोडसेडिङ हुने गरेकोमा यो वर्ष सुरुवातमै त्यसभन्दा बढी विद्युत् कटौती हुन थालेको हो । उद्योगीहरू पनि लोडसेडिङ बढेर जाने हो कि भन्ने डरमा रहेका छन् ।

मुलुकको आन्तरिक उत्पादनले अहिलेको माग नधान्ने तर प्राधिकरणले भारतबाट आयात गरेर विद्युत् आपूर्ति गर्न नचाहेकाले लोडसेडिङ भइरहेको हो ।अहिले पिक समयमा १७ सय ११ मेगावाट विद्युतको माग रहेको प्राधिकरणले जनाएको छ । तर, त्यसअनुसारको आपूर्ति भने मुलुकभित्र छैन ।

निजी क्षेत्रले ५३६ मेगावाट विद्युत् उत्पादन गरिरहेको छ । प्राधिकरणले २ सय ७२ र प्राधिकरणअन्तर्गतका कम्पनीबाट १ सय ४४ मेगावाट मात्रै विद्युत् उत्पादन हुन्छ । प्राधिकरणले भारतबाट ३२४ मेगावाट विद्युत् आयात गर्छ । यस हिसाबले अहिले प्राधिकरणले १२ सय ७७ मेगावाट मात्रै विद्युत् आपूर्ति गर्ने गरेको छ । ३ सय ३४ मेगावाट विद्युत् कम भएकाले प्राधिकरणले उद्योगहरूमा लोडसेडिङ गरिरहेको हो ।

प्रतिक्रिया दिनुहोस्