दार्चुला बस दुर्घटना परी घाइते भएका १६ जनाकै परिचय खुल्यो



काठमाडौँ । दार्चुलामा भएको बस दुर्घटनामा घाइते भएका १६ जनाकै परिचय खुलेको छ । जसमा बैतडीको पाटन नगरपालिका १ का १७ वर्षीय लक्ष्मण महरा, अपिहिमाल गाउँपालिका ३ का १७ वर्षीय भरत धामी, दशरथचन्द नगरपालिका ४ का २४ वर्षीय प्रशान्त पौडेल, व्यास गाउँपालिका ४ का ५४ वर्षीय परमानन्द भट्ट, महाकाली नगरपालिका ५ का ६० वर्षीय पशुपति टमटा, महाकाली ५ कै १९ वर्षीय निरुता ओड, महाकाली १ का लालसिंह कार्की, दार्चुलामा कार्यरत एपिएफ जवान मेलौली ६ का ३९ वर्षीय तारादत्त ओझा, सवारीचालक कञ्चनपुरको कृष्णपुर नगरपालिका २८ वर्षीय महेश भट्ट, मार्मा ६ का ४० वर्षीय नरेन्द्र धामी, दुहुँ ३ का ३५ वर्षीय हर्कसिंह कार्की, महाकाली १ का ३९ वर्षीय जगत कार्की र कञ्चनपुर शुक्लफाँटा १ का २३ वर्षीय भुवन ठगुन्ना रहेको जिल्ला अस्पताल दार्चुलाले जनाएको छ ।

उक्त गाडी बैतडीको दोगडाकेदार गाउँपालिका ४ पीपलकोट बसालीका जनक ठगुन्नाको रहेको बुझिएको छ । दुर्घटनामा परि गम्भीर घाइतेमध्ये दुहुँ गाउँपालिका ५ का ५३ वर्षीय दिलीपबहादुर बमको अवस्था गम्भीर रहेकोले थप उपचारका लागि धनगढी रिफर गरिएको र उनीँगै सामान्य घाइते भएका बमकै २३ वर्षीय बुहारी कमला बम र ४ वर्षीय नाति हिमान्सु बमलाई पनि धनगढी पठाइएको जिल्ला अस्पताल दार्चुलाका सूचना अधिकारी डम्बर भट्टले बताए । थप अहिले एकजना घाइते थपिएको र १३ जना घाइतेको जिल्ला अस्पताल दार्चुलामा उपचार भइरहेको उनले बताए। अझै एक र दुई जनालाई बाहिर रिफर गर्नुपर्ने हुन सक्ने सूचना अधिकारी भट्टले जानकारी दिए ।

एकै घरका ४ वर्षीय बालकसहित तीन जना घाइते भएपछि परिवारजन चिन्तित छन् । घाइतेहरूको रिपोर्ट आउन अझै बाँकी रहेको अस्पतालले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्