प्रधानमन्त्री कप २०२४ : पुलिस ४ खेलमा ४ जित निकाल्दै शीर्षस्थानमा



काठमाडौँ । नेपाल एपिएफ क्लबले प्रधानमन्त्री कप २०२४ मा लगातार दोस्रो हार बेहोरेको छ । एपिएफ नेपाल पुलिस क्लबसँग ५८ रनले पराजित भएको हो । भैरहवास्थित सिद्धार्थनगर रंगशालामा पुलिसले प्रस्तुत गरेको १ सय ४६ रनको लक्ष्य पछ्याउने क्रममा एपिएफ ३४ ओभरमा ८७ रनमै अलआउट भयो । बायाँ हाते स्पिनर ललित नारायण राजवंशीले ८ ओभरमा मात्र ८ रन खर्चेर ५ विकेट लिएका हुन् ।

एपिएफका लागि सन्दीप जोरा ६७ बलमा २५ रन जोड्दै नटआउट रहे । उनले २ चौका प्रहार गरे । निकै खराब सुरुवात गरेको एपिएफ एक समय ४०-७ को स्थितिमा थियो । अमर र सन्दीपले आठौँ विकेटका लागि ४३ रनको साझेदारी गर्दै खेलमा फर्काउने प्रयास गरेका थिए । तर अमर ललितकै बलमा स्लिपमा क्याच आउट भएपछि पुलिस जिततर्फ अग्रसर भयो । अमरले ५४ बलमा ३ चौकासहित २३ रन जोडे ।

एपिएफ यस हारसँगै ४ खेलमा ४ अंकसाथ पाँचौँ स्थानमा छ । पुलिस भने ४ खेलमा ४ जित दर्ता गर्दै ८ अङ्कका साथ शीर्षस्थानमा उक्लियो । बागमती पनि ८ अंकसाथ रनरेटका आधारमा दोस्रो स्थानमा छ ।

प्रदीप ऐरीलाई सातौँ ओभरमा गुमाएपछि सुरु भएको विकेट पतन रोक्न नसक्दा एपिएफ हारको सामना गर्न पुग्यो । प्रदीप ४ रन जोड्दै ललित राजवंशीको बलमा कुशल भुर्तेलबाट स्लिपमा समातिए । पुरण विक १ रन जोड्दै रनआउट हुँदा प्रज्वल शाही १३ रन जोड्दै ललितकै बलमा क्याच आउट भए ।

त्यसपछि लोकेश बम र रोहित पौडेल कुनै रन नथपी पेभेलियन फर्कंदा एपिएफ २५-५ को स्थितिमा पुग्यो । सुमित महर्जन २ र भुवन कार्की ४ रन जोडेर आउट भए । मौसम ढकाललाई ललितले दोस्रो बलमा बोल्ड गरे । अन्त्यमा रमेश कुर्मी रनआउट भएपछि पुलिसको जित पक्का भएको थियो ।

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको पुलिसले १ सय ४५ रन जोडेको थियो । खराब मौसमका कारण ४९ ओभरमा घटाइएको खेलमा पुलिस ४१ ओभरमा अलआउट भयो । पुलिसका लागि ओपनर दिलिप नाथले सर्वाधिक ४४ रन जोडे ।

पहिलो ओभरमा सुनिल धमलालाई शून्यमा गुमाएको पुलिसले दोस्रो विकेटका लागि राम्रो साझेदारी पायो । दिलीप र अर्जुन साउदले ७६ रनको साझेदारी गरेका थिए । दिलिप ६३ बलमा ५ चौका र १ छक्का प्रहार गर्दै रोहितको सिकार बने । त्यसपछि भने एपिएफले लगातार विकेट लियो ।

अर्जुन साउदले ३१, शङ्कर रानाले २२ र दीपेन्द्र सिंह ऐरीले १५ रन जोड्नुबाहेक अन्य खेलाडीले दोहोरो अङ्कमा रन जोड्न सकेनन् । कुशल भुर्तेल र करण केसी डक आउट हुँदा अमित श्रेष्ठ ८, रशिद खान ५ र ललित राजवंशी ४ रनमा आउट भए ।

एपिएफका भुवन कार्कीले ३ विकेट लिँदा अमर राउटेला र रमेश कुर्मीले २-२ विकेट लिए । पुरण विक, रोहित पौडेल र मौसम ढकालले १-१ विकेट लिए ।

प्रतिक्रिया दिनुहोस्